संक्रमित सेनाका आमामा पनि कोरोना पुष्टि
बागलुङ : छुट्टीमा आएको बेला कोरोना संक्रमण पुष्टि भएका बागलुङका एक सैनिकका आमामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा मंगलबार संक्रमित सैनिकका ५४ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। बागलुङ नगरपालिका–१२ अमलाचौर घर भएका उनीहरु हाल बागलुङ नगरपालिका ३ गुठीमा बस्दै आएका छन्।
संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेको र दम, रुघाखोकी लगायतको समस्याका कारण श्वास प्रश्वासमा समेत कठिनाई भएको पाइएपछि ती महिलालाई केही दिन अघि नै धौलागिरी अस्पतालमा उपचारका लागि लगिएको थियो। संक्रमण सर्न सक्ने आशंकामा आइसोलेसनमा राखेर चिकित्सकको परामर्शमा त्यही क्रममा स्वाब लिइएको थियो।
लमजुङमा नेपाली सेनाको ब्यारेकामा कार्यरत रहेका पुरुष गत साउन ३० गते छुट्टीमा घर आएका थिए। रुघाखोकी र ज्वरो बढ्दै गए पछि भाद्र ३ गते धौलागिरी अस्पताल लगिएकोमा ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि बागलुङ बजारमा कन्ट्याक्ट ट्रेसिङमा एक महिला व्यवसायीबाट एकै परिवारका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। मंगलबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८४ जना पुगेको छ। जसमा २ सय ६० जना निको भइसकेका छन् भने २३ जना आइसोलेसनमा छन्।
प्रतिक्रिया दिनुहोस !