वीरगन्ज कोभिड- अस्पतालमा थप तीन संक्रमितको मृत्यु
वीरगन्ज : वीरगन्जको कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार बाराका २ जना संक्रमितको मृत्यु भएको छ। पर्साका एक जनाको भने मृत्युपछि कोरोना पुष्टि भएको छ।
वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार बाराको विश्रामपुर गाउँपालिका-५ का ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका- ४ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो।
विश्रामपुरका ७२ वर्षीय पुरुषको कोभिड अस्पतालमा मंगलबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई परिवारले सोमबार वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा ल्याएर भर्ना गरेका थिए।
उनमा ज्वरोका साथै श्वासप्रश्वासको पनि समस्या रहेको र उपचारका क्रममा मङगलबार बिहान ६ बजे मृत्यु भएको चौरसीयाले जानकारी दिए।
यस्तै गण्डक कोभिड अस्पतालमै बाराको महागढीमाई नगरपालिका ४ का ५९ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गतेदेखि गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती संक्रमित पुरुषमा पनि निमोनियाको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको चौरसीयाले जानकारी दिए।
यसअघि वीरगन्जको गण्डक कोभिड अस्पतालमै गत आइतबार राति उपचारका क्रममा मृत्यु भएका पर्साको जीराभवानी गाउँपालिका-४ सुपौलीका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।
आइतबार मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।
वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। साउन यतामा मात्रै ३६ जनाको मृत्यु भएको हो।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४० मध्ये १ युवकको पहिचान खुलेको छैन। वीरगन्जमा पर्साका ३१, बाराका ७ र रौतहटका २ जनाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !