वीरगन्जमा थप १ संक्रमितको मृत्यु
वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी गाँउका ८० वर्षीय संक्रमित पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो।
वीरगन्जको गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा ३ दिनदेखि उपचाररत ती पुरुषको सोमबार अपरान्ह साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। जण्डिसका रोगीसमेत रहेका ती पुरुषमा ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि भदौ १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
त्यहीं उपचारका क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ १३ गते नै बेलुकी वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
साउन यतामा मात्रै ४७ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५१ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३७ जना , बाराका १० जना र रौतहटका ४ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस !