वीरगन्जमा कोरोनाका कारण थप २ जनाको मृत्यु
वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जका ५३ वर्षिय संक्रमित पुरुषको मङगलवार बिहान मृत्यु भएको हो।
वीरगन्जको गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा १८ दिनदेखि उपचाररत ती पुरुषको मङगलबार बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। मृगौला र मधुमेहका रोगी समेत रहेका ती पुरुषमा स्वास प्रश्वासमा समस्या देखिएपछि साउन ३० गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा साउन ३१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि उनलाई साउन ३१ गते नै वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मङगलबार बिहान मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए।
यस्तै वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा सोमबार राति मृत्यु भएका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन। सोमबार सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको सोमबार राति पौने ९ बजे मृत्यु भएको थियो।
मृत्युपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ। साउन यतामा मात्रै ४९ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५३ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ३९ जना , बाराका १० जना र रौतहटका ४ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस !