वीरगन्जमा ५८० स्वाब परीक्षण गर्दा १८ जनामा संक्रमण
वीरगन्ज : वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा १८ जनामा मात्र कोरोना संक्रमण भेटिएको छ। शुक्रबार राति पर्सा र बाराका ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा १८ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
संक्रमण पुष्टि भएकामध्ये पर्साका ६ जना मात्रै छन्। बाँकी १२ जना भने बाराका हुन्। पर्सामा शुक्रबार राति थपिएका ६ संक्रमितमध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर ५ , १३ र १४ मा घर भएका नबिल बैंक वीरगन्ज शाखाका ३ जना कर्मचारी र पर्सागढी नगरपालिकाको विभिन्न वडाका ३ जना रहेका डाक्टर चौरसीयाले जानकारी दिए ।
६ जना थपिएसँग पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ७७ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यसैगरी बारा जिल्लामा शुक्रबार राति नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका ३ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो। जितपुर स्थित नेपाली सेनाको ब्यारेकका ३ जना पुरुष सैनिक र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !