वीरगन्जमा थप एक संक्रमितको मृत्यु
वीरगन्ज : वीरगन्जमा सोमबार थप एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका ३० लालपर्साका ५४ वर्षीय संक्रमित पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा सोमबार दिउँसो ती पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित ती पुरुषलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममै उनीमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले वीरगन्ज हेल्थकेय अस्थायी कोभिड अस्पतालमा रिफर गरेको थियो ।
कोभिड अस्पतालको आइसीयुमा भर्ना गरिएका उनको ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । निमोनियाले समेत ग्रसीत ती पुरुषको आइसियुमा उपचारकै क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।
यसअघि आइतबार पनि वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पुरुषको मृत्यु भएको थियो । प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका सर्लाहीको चकरघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको थियो ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५५ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५९ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !