लकडाउनमा अवैधरुपमा भारत लैजान लागिएको केराउ बरामद
![लकडाउनमा अवैधरुपमा भारत लैजान लागिएको केराउ बरामद](https://annapurnapost.prixacdn.net/media/albums/Baramad-Kerau_20200909072724_kGXfPuW3Yz.jpg)
राजविराज : विभिन्न नाकाबाट तस्करी हुँदै आएको केराउ (मटर) लकडाउनका बेला डुङ्गा (नाउ)मार्फत सप्तकोशी नदीबाट तस्करी हुँदै आएको छ। अवैधरुपमा भारतको कुनौलीतर्फ लैजान तयारी अवस्थामा रहेको ८२५ किलो हरियो केराउ हनुमानगर कंकालिनी नगरपालिका–८ कोशी खोलाको बगर (पलार) मा फेला परेको छ। कोशी नदीको काँसघारीमा लुकाएर राखिएको २२ किलोको ३३ बोरा केराउ बरामद गरिएको सप्तरी प्रहरीले पुष्टि गरेको छ।
गोप्य सूचनाका आधारमा कोशी नदी किनारमा खटिएको गस्ती टोलीले केराउ बरामद गरे पनि तस्करहरु भने कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए। डिएसपी तिलक भारतीका अनुसार बरामद केराउ तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित कुनौली–बेल्ही भन्सार कार्यालयमा बुधबार बुझाइएको छ।
यसअघि भदौ ९ गते बिहान हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदीको किनारबाट डुङ्गामा राखेर भारततर्फ लैजान लागिएको १७५ बोरा र साउन २३ गते ५० बोरा केराउ सशस्त्र प्रहरीले बरामद गरेको थियो।
लकडाउनका कारण अन्य नाका भएर तस्करी गर्न कठिनाइ भएपछि तस्करहरूले सप्तकोशी नदीबाट डुङ्गा (नाउ)मा केराउ तस्करी गर्न थालेका हुन्। विभिन्न स्थानबाट संकलित केराउ कोशी किनारमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रस्थित गोदामहरुमा दिनभरी भण्डारण हुने र रातको समयमा डुङ्गामार्फत तस्करहरुले भारत पुर्याउँदै आएका छन्।
सप्तरीको बजारमा प्रतिकिलो ६५–७० रुपैयाँ मूल्य रहेको केराउ भारतमा एक सय रुपैयाँभन्दा बढी रहेको व्यापारी बताउँछन्। नेपालमा सस्तो मूल्यमा पाइने केराउ भारतमा राम्रो भाउमा बिक्ने गरेकोले तस्करी हुने गरेको सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्तलाल साहले बताए। तेस्रो मुलुकबाट विरगञ्ज नाका हुँदै सप्तरीमा आयातित हुने केराउको तुलनामा भारतमा प्रतिकिलो ४०-५० रुपैयाँ बढी पर्ने गरेकोले अवैध निर्यात बढेको साहले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)