पहिचान नहुँदा तीन दिनदेखि बेवारिसे शव अस्पतालमा अलपत्र
कुश्मा : बेवारिसे अवस्थामा भेटिएको शव पहिचान नहुँदा विगत तीन दिनदेखि पर्वत अस्पतालमा अलपत्र बनेको छ।
पर्वतकै कुश्मा नगरपालिका-९ कटुवाचौपारी स्थित पाटेश्वरी मन्दिर नजिकै गत बुधवार दिउँसो भेटिएको एक पुरुषको शव आफन्तहरु सम्पर्कमा नआउँदा अस्पतालकै शबगृहमा अलपत्र बनेको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार अन्दाजी ५०/५५ वर्षिय पुरुषको शब पोष्टमार्टमका लागि शवगृहमा राखिएको तर पहिचान खुल्न नसकेको र कोहि आफन्त पनि सम्पर्कमा नआएकोले षोष्टमार्टम समेत हुन सकेको छैन। प्रहरीले सुचना जारी गरी सम्वन्धित घरपरिवार वा आफन्त प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरीले मृतकको हुलिया समेत सार्वजनिक गरेर सम्पर्कमा आउन आग्रह गरेको हो।
मृतकको साथमा कुनै कागजात, र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए। उक्त व्यक्तिको केहि दिन पहिलेनै मृत्यु भएको देखिन्छ। शव गन्ध आउने र छाला समेत सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
रातो सेतो, कोठे सर्ट, भित्र कालो टिसर्ट र कालो पाईन्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेपछि शब व्यवस्थापनमा समस्या परेको श्रेष्ठले बताए। तीन/चार दिनसम्म पनि कोहि सम्पर्कमा नआएकोले उक्त पुरुष अन्य कुनै जिल्लाबाट पर्वतमा मजदुरीका लागि आएको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !