शिव मन्दिरमा फोहोर फालेको नाममा झडप : दुई दर्जन घाइते
जनकपुरधाम : धनुषाको रुपैठामा आइतबारसमेत झडप भएको छ । झडपमा दुई दर्जन युवा घाइते भएका छन् । धनुषाको नगराइन नगरपालिका ७ नवटोलीमा शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको हो ।
जनकपुरधाम उप–महानगरपालिका देवपुरा–रुपैठामा दुई समुदायबीच भएको झडपको एक दिन नबित्दै फेरि झडप भएको छ ।
नगराईन ७ को दुधहा पोखरीको डीलमा श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा मुस्लिम पक्षधरले फोहोर फालेको विषयमा विवाद भएको स्थानीयबासीको भनाइ छ । यद्यपि मुस्लिम समुदायले दुई महिला बीचको विवादलाई साम्प्रदायिकता रंग दिइएको आरोप लगाए ।
पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम पक्षधरले अडानपछि विवादको सिर्जना भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
बिबाद हुँदा दुई पक्षका गरेर दुई दर्जन बढी घाइते भएका हुन् । प्रहरीका अनुसार झडपमा एउटा पक्षका विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, मकेश यादव, निभा ठाकुर छन् । त्यसैगरी अर्को पक्षबाट जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, संजय साफी, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ घाइते भएको प्रहरीले जनाएको छ ।