पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत

पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत

बेनी : धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन्। गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको हो । मराङको राम्चेका चारजना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

'बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारैजनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्,'उनले भने, 'सरकारको पछिल्लो नियम अनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एक भन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छौं ।'

यसअघि प्रति मृतक एक लाख रुपैयाँका दरले राहत पाउने व्यवस्था थियो । वेपत्ताको हकमा जिवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दावी नगर्ने सर्तसहित मृतक सरह नै राहत उपलब्ध गराइएको छ । 

बिमको दुलेमा ज्यान गुमाएका बिष्णु शर्मा पौडेलका श्रीमान र इच्छा पौडेलका बुवा सोमनाथ पौडेल तथा गौदेवी नेपालीका श्रीमान र विशेष नेपालीका बुवा पूर्णबहादुर दर्जीलाई तीन/तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बिमको नौरुङको पहिरोमा बेपत्ता मराङकी एलिसा केसीका बुवा इन्द्रलाई दुई लाख उपलब्ध गराइएको छ । 

मराङको ठूलोगाउँका तुलबहादुर क्षेत्रीकी श्रीमतिहरु काली र लिला क्षेत्रीलाई दुई लाख, राम्चेकी रेश्मा सुनारका बुवा गोरे सुनारलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । राम्चेका मनबहादुर, कमला, सुरज र सुरक्षा श्रीपालीको रामसती श्रीपालीलाई पाँच लाख, खिमबहादुर जुग्जालीको दिलबहादुर जुग्जालीलाई दुई लाख र रिखकी हिराकुमारी जुग्जालीका श्रीमान, करिष्मा र कंचन जुग्जालीका बुवा धनबहादुरलाई चार लाख उपलब्ध गराइएको छ । 

यसैगरी गौशारा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको पाँच लाख भिमप्रसाद जुग्जालीलाई, कल्लेनीका प्रकाश केसीका भाई र जनिमा केसीका छोरा निकेस केसीलाई तीन लाख, सचिन पुनका बुवा पदम पुनलाई दुई लाख, दुखुकी गिता रोकाका छोरा नविनलाई दुई लाख हस्तान्तरण गरिएको थियो । 

नगदै वितरण गरिएको राहत रकम कार्यक्रम स्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीहरुलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीहरु सहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुई वटै स्थानीय तह र वडाका जनप्रतिनिधिहरुको रोहबरमा राहत वितरण गर्नुभएको थियो । पिडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यक बाहेकका काममा पैसा खर्च नगर्न अनुरोध गरे । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताए । 

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहत वाफत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे । 

धवलागिरिका अध्यक्ष पुनले मृतकका प्रति परिवार दश हजार रुपैयाँका दरले किरिया खर्च वापत गाउँपालिकाले उपलब्ध गराएको बताए । मालिकाका अध्यक्ष रोकाले किरिया खर्च वापत मृतकका परिवारलाई २५ हजारका दरले उपलब्ध गराइने बताए ।

उनीहरुले पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताए । असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा ८ जनाको मृत्यु र एकजना बेपत्ता र दुखुमा एकजना बेपत्ता भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.