पहिरोको जोखिममा चौरखानी
बेनी : म्याग्दीको रघुगंगा-८ चौरखानीकी थममाया छन्त्यालको घरको पर्खाल चर्किएपछि कहाँ जाने भन्ने चिन्ताले पिरोलिएकी छन्। उनकी छिमेकी गमती छन्त्यालको आगन दुई चिरा परेको छ।
‘पहिरोले घर पनि बाङ्गो बनाएको छ,’ गमतीले भनिन् ‘जाने ठाउँ छैन। घरसँगै पहिरोमा बगिने होकी भन्ने चिन्ता छ।’
‘पाली पनि छुटेको छ, पर्खाल पनि चर्किएको छ,’ थममायाले भनिन् ‘के गर्ने, कहाँ जाने अलमलमा छौँ।’ थममाया र गमती मात्र नभएर चौरखानीको पुरै गाउँ पहिरोको जोखिममा परेको छ। फेदीदेखि शिरसम्म भित्र भित्र बगेको पहिरोले जमिन छियाछिया बनाएको स्थानीय रामप्रसाद छन्त्यालले बताए।
_20200920092254.jpg)
५२ घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ। आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौं लगायतका ठाउँमा गएर बसेका छन्। गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्किसकेका छन्।
गाउँपालिकाको पाँच लाख र स्थानीयको ९ लाख लगानीमा दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन भत्किएको हो। नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडा अध्यक्ष गमान छन्त्यालले बताए।
थमबहादुर छन्त्याल, उद्दिमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, रैमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्कमान छन्त्याल, नरमान छन्त्याल, दलप्रसाद बिक र पूर्णमान छन्त्यालको घरको पर्खाल चर्किएर ढल्किएको छ। भिङखानी भूमे युवा क्लबको खेलमैदान भत्किएको छ।
दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ। पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले बताए।
२०६४ सालदेखि नै उक्त क्षेत्रमा पहिरो गएको हो। बीचमा केही वर्ष रोकिएको पहिरो फेरि जान थालेको हो। धेरै वर्षा भएपछि खेतबारी र जंगल चिरा चिरा परेको छ।
_20200920092253.jpg)
बस्ती सार्न जग्गाको खोजी
भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि जग्गाको खोजी थालेको रघुगंगा गाउँपालिकाले जनाएको छ। थप क्षति हुन नदिन बस्ति स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए।
पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि संघीय सरकारले एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ। अन्यत्र जग्गा नभएकाको लागि निजी जग्गा नपाए संघीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ।
_20200920092253.jpg)
पुल बगाएपछि आवत जावतमा समस्या
रघुगंगा नदीमा आएको बाढीले कुइनेमंगलेको विभिन्न ठाउँमा रहेका चार वटा झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ। बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको स्थानीय रेशबहादुर विश्वकर्माले बताए।
दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोट स्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको छ। एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग भत्किएको छ।
बगाएको सबै पुल रघुगंगा नदी माथिका हुन्। सबै पुलको दायाँ तर्फको भागमा कटान गरेर बगाएको छ। कुइनेमंगले म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो। बाढीले बगाएको ठाउँमा नयाँ पुल निर्माणका लागि निवेदन संकलन गरेर प्रदेश सरकारलाई सिफारिस गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए।
_20200920092254.jpg)
प्रतिक्रिया दिनुहोस !