पर्सामा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
वीरगन्ज : पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । महोत्तरी जिल्लाको सरपलो स्थायी घर भइ पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब ५८ वर्षीय रामसिकल साहको सोमबार मृत्यु भएको हो ।
काठमाडौंको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचाररत साहको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको उनका ज्वाँइ सन्तोष साहले जानकारी दिए । जगरनाथपुर गाँउपालिकाको स्वास्थ्य शाखा संयोजक परबेन्द्र साहका अनुसार १ महिना पहिले जनकपुरमा छोरी सुत्केरी भएपछि भेटन गएका साहको स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको आएको थियो ।
कोरोना पुष्टि भएपछि जनकपुरकै कोभिड अस्पतालमा उनलाइ भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि आफन्तले उनलाइ ३ हप्ता पहिले काठमाडौं लिएर गएका थिए । काठमाडौंको विभिन्न अस्पताल डुलाउँदा पनि कसैले भर्ना लिन नमानेपछि उनलाइ बुढानिलकण्ठस्थित करुणा अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ पुन उनको पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । उपचारकै क्रममा असोज ७ गते फेरि उनको स्वाब परीक्षण गर्दा भने रिपोर्ट पोजिटिभ आएको थियो ।
करुणा अस्पतालकै भेन्टिलेटेरमा राखेर उपचार भइरहेका बेला सोमबार बिहान साढे ८ बजे मृत्यु भएको स्वास्थ्य शाखा संयोजक परबेन्द्रले जानकारी दिए । पर्सामा कोरोनाले स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमाद ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस !