ज्येष्ठ नागरिकको सम्मान गरौं
![ज्येष्ठ नागरिकको सम्मान गरौं](https://annapurnapost.prixacdn.net/media/albums/jestha-nagarik1_20190325103503_siMdVBiLof.jpg)
विगत १० महिनादेखि कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व आक्रान्त बन्दै आएको छ। कोरोना भाइरस जसलाई हामी कोभिड– १९ भनेर चिन्छौं। विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्याउने यस भाइरसले विश्वमा ज्येष्ठ नागरिकलाई त अझ बढी नै प्रभावित पारेको छ। ज्येष्ठ नागरिक यस संक्रामक रोगबाट निकै आक्रान्त बनेका छन्।
आर्थिक स्रोत नभएका र पाल्ने सन्तान नहुनेका लागि त अझ यसले मार पारेको छ। लकडाउनसमेतको कारणले आफन्त नजिक आउन नसकी एकातिर सामाजिक दूरी बढ्न गएको छ भने अर्कोतर्फ ज्येष्ठ नागरिकमा आमसञ्चार प्रविधिको ज्ञानको कमीले एक्लिनुपरेको छ। यसर्थ उनीहरूमा मानसिक समस्या देखा पर्न थालेको पाइएको छ। अन्य समयमा भन्दा यसबेला विभिन्न किसिमका घरेलु हिंसा बढ्नुसँंगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको पाइएको छ। यस सन्दर्भमा संयुक्त राष्ट्रसंघलगायतले खेलेको भूमिका वर्तमान अवस्थामा सान्दर्भिक र महत्वपूर्ण छ।
अल्पविकसित र विकासोन्मुख देशमा मात्र नभई युरोपियन राष्ट्रहरूमा समेत ज्येष्ठ नागरिकमाथि विभेद गरिएको देखिन्छ। विश्वव्यापी महामारीका समयमा उनीहरूलाई प्राथमिकतामा राखिएन, उनीहरूलाई कोभिड– १९ को संक्रमण भएनभएको सम्बन्धमा र उनीहरूका अन्य रोग परीक्षण गरिएन। यसकै परिणामस्वरूप ठूलो संख्यामा केयर सेन्टर र केयर होममा रहेका ज्येष्ठ नागरिकको मृत्यु भयो। यसले उनीहरू दुःखी हुनुका साथै अनेक डर, त्रास र सम्भावित भयका कारण मानसिक समस्याबाट पीडित भएका छन्।
हरेक राष्ट्रको पहिलो प्राथमिकता आफ्ना नागरिकको सुरक्षा हुनुपर्नेमा त्यसो नगरी ज्येष्ठ नागरिकको समस्याप्रति कुनै चासो नै नलिने र उनीहरूलाई बेवास्ता गर्ने गरेको पाइन्छ। ज्येष्ठ नागरिकका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था हेल्प एज इन्टरनेसनलले कोभिड– १९ लाई लक्षित गरेर के–के सुविधा दिन सकिन्छ भनेर विभिन्न राष्ट्रलाई आह्वान गर्यो। यसमा अविकसितलगायत धेरै राष्ट्र सहभागी बने। एक सय ४६ राष्ट्रले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरे। कहाँसम्म भने कति राष्ट्रले त कोभिडलाई केन्द्रविन्दुमा राखेर सेवासुविधा दिने भनेर घोषणा मात्र गर्न पछि परेनन्।
नीति एकातिर र व्यवहार अर्कातिर रहेसम्म ज्येष्ठ नागरिकले रोग, भोक, अभाव र भेदभावका पीडाबाट छुटकारा पाउन कठिन हुने छ।
ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने विभिन्न संघसंस्थाले काम गर्न चाहे पनि विभिन्न समस्या र परिस्थितिजन्य जटिलताका कारण वास्तवमा संघसंस्थाले पनि अगाडि बढेर काम गर्ने माहोल भएन। यसरी वातावरण जटिल बन्दै गएपछि राष्ट्रसंघका महासचिवले कोरोना– १९ को १ मेमा सम्पन्न पोलिसी ब्रिफिङमा ज्येष्ठ नागरिकका सन्दर्भमा उल्लेख गर्नुभएको विषयमा बधाई दिन ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने हेल्पएज इन्टरनेसनललगायत विश्वभरका सयभन्दा बढी संगठनका प्रतिनिधि भेला भए। ज्येष्ठ नागरिक अहिले पनि असमानता, भेदभाव र वृद्ध भएका कारण उल्लिखित यी अधिकारबाट वञ्चित भइरहेका छन्। राष्ट्रसंघ प्रणालीमा ज्येष्ठ नागरिकको यी अधिकार सुनिश्चित गर्न आवश्यक छ भनेर दबाब दिनसमेत भ्याएका छन्। उनीहरूले ज्येष्ठ नागरिकलाई समावेश गर्ने कार्यलाई सुदृढ पार्न र नागरिक समाजसँग वार्तामा सहभागी हुनसमेत राष्ट्रसंघलाई आह्वान गरेका छन्।
राष्ट्रमहासंघका नवौं महासचिव एन्टोनियो गोटरेसले मे १ का दिन राष्ट्रसंघ पोलिसी ब्रिफिङमा कोभिड– १९ ले ज्येष्ठ नागरिकमा पारेको प्रभाव सम्बन्धमा उल्लेख गर्नुभएको छ। पोलिसी ब्रिफिङमा जारी नीतिमा आवश्यक स्वास्थ्य सेवा, अधिकार, लामो समयसम्म चाहिने हेरचाह सेवामा परेको प्रभावका विषयमा सिफारिस गरिएको छ। आपत्कालीन अवस्था, हिंसा तथा दुव्र्यवहार र सामाजिक दूरीका कारण एक्लिँदा ज्येष्ठ नागरिकलाई परेको असर र त्यसको निराकरणका लागि चाल्नुपर्ने आवश्यक कदमबारे उल्लेख गरिएको छ।
सामाजिक, आर्थिक र मानवीय सहयोगमा विशेषगरी ज्येष्ठ नागरिकलाई ध्यान दिन सिफारिस गरिएको छ। रोजगार र सामाजिक सुरक्षा, स्वास्थ्यमा पहुँच, हेरचाह र कानुनी सुरक्षामा ज्येष्ठ नागरिकका समस्या प्रस्ट्याइएको छ। महामारीजस्तो ठूलो समस्या समाधानमा ज्येष्ठ नागरिकको सहभागिता बढाई उनीहरूसँग रहेको ज्ञान, सीप, अनुभव र तथ्यांक उपयोगमा ल्याउन सकिने राष्ट्रसंघ पोलिसीमा उल्लेख गरिएको छ। अभाव, बेरोजगार, गरिबीजस्ता समस्या अबका दिनमा आउन सक्ने सम्भावनाको पनि भविष्यवाणी गरिएको छ।
कोभिड– १९ को महामारीले पारेको खाडल पुर्न उनीहरूको भूमिका महत्वपूर्ण हुन सक्छ। उनीहरूको ज्ञान, सीप र अनुभव यतिबेला निकै उपयोगी हुन सक्छन्। यसर्थ सन् २०३० सम्मको दिगो विकासको लक्ष्य हासिल गर्ने कुरा महामारीले उनीहरूलाई सँगै लैजान छुटाउनु हुँदैन। कोभिड– १९ ले ज्येष्ठ नागरिकलाई पारेको असरको समाधान गर्ने अर्को विकल्प दिगो विकास लक्ष्यमा उनीहरूलाई समावेश गर्नु पनि हो।
एकातिर ज्येष्ठ नागरिक आफ्नै शारीरिक पीडा तथा मानसिक तनावमा बाँचिरहेका छन्। त्यसमा झन् कोभिड– १९ को संक्रमणबाट आहत भएका छन्। बूढाबूढीको कमजोर बन्दै गएको शरीरलाई यसले अझ प्रभाव पार्ने हुँदा ज्येष्ठ नागरिकप्रति हामीले बढी नै सजग हुनुपर्ने देखिन्छ। यसरी राष्ट्रसंघले वर्तमान अवस्थामा रोग र उमेरका कारण भोग्नुपरेको दोहोरो मार बुझेर ज्येष्ठ नागरिकप्रति उच्च सम्मान गर्दै उनीहरूले जीवनभर आर्जन गरेको अनुभवजन्य ज्ञान र सीप वर्तमान तथा भावी पुस्ताका लागि उपयोग गर्नुपर्नेमा जोड दिइएको छ। समाजमा ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, उनीहरूको सुरक्षा एवम् हेरचाहका बारेमा राष्ट्रसंघले गहन तथा जिम्मेवारीपूर्ण ढंगले सोचेको देखिन्छ। नीतिनिर्माणमा मात्र नभएर त्यसलाई व्यवहारमा पनि उतार्न सके विश्व समुदायमा ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन जिउन पाउनेमा कुनै सन्देह हुने छैन। तर नीति एकातिर र व्यवहार अर्कातिर रहेसम्म ज्येष्ठ नागरिकले रोग, भोक, अभाव र भेदभावका पीडाबाट छुटकारा पाउन कठिन हुने छ।
—प्रधान ज्येष्ठ नागरिक महासंघका महासचिव हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)