सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप : डीएसपीसहित दर्जनौँ घाइते

सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप : डीएसपीसहित दर्जनौँ घाइते

मलंगवा : सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार दिउँसो प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा करिब ४ दर्जन भन्दा बढी घाइते भएका छन्।

असोज २१ गते रामनगर गाउँपालिका ७ सिसौटका कांग्रेस कार्यकर्ता महेन्द्र रामको हत्या गरिएको थियो। हत्या गरिएका रामको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जाहेरी दर्ता गरिनु पर्ने र हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै काँग्रेस कार्यकर्ताहरु प्रर्दशन गरेका थिए। प्रर्दशनका क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी प्रहरी नायव उपरीक्षकद्वय मदन कुँवर र ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाटसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यसैगरी ईलाका प्रहरी कार्यालय हरिपुरबाट आएका प्रहरी निरीक्षक बिक्रम साह लगायत २० प्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। 

सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० जना प्रहरी पनि घाइते भएको डीएसपी कुवँरले बताएका छन्। झडपमा प्रहरीतर्फ गम्भीर चोट भने कसैलाई नलागेको प्रहरीले जनाएका छन्। 

भीड उग्र बन्दै गएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई तितर बितर गर्नका लागि ३१ राउण्ड अश्रुग्यास प्रहार गरेको डीएसपी कुँवरले जानकारी दिए। 
प्रदर्शनको क्रममा कांग्रेसका २४ जना कार्यकर्ता घाइते भएको कांग्रेसका प्रदेशसभा सांसद वीरेन्द्र सिंहले जानकारी दिए। मृतककी श्रीमती र भाइलाईसमते प्रहरीले कुटपिट गरेको सिंहले बताए। 

प्रहरीको लाठी प्रहारबाट घाइते भएका मृतक महेन्द्रका भाइ जदुनन्दन राम। तस्बिर : सुनिल ठाकुर 

दुईजना महिलाको खुट्टा र एकजनाको हात भाँचिएको छ। शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले आफ्नो कार्यकर्तामाथि दमन गरेको कांग्रेसको आरोप रहेको छ। प्रहरीले दनम गर्ने क्रममा दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। मृतकका  भाइ र श्रीमती जाहेरी दर्ता गराउन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले कुटपिट समेत गरेको प्रदेश सभा सांसद सिंहको आरोप छ। 

घाइतेहरुको जिल्ला अस्पताल लगायत मलङ्गवाका विभिन्न अस्पतालमा उपचार भइरहेको सिंहले बताए। शान्तिपूर्ण प्रदर्शन गर्ने सहमति भएपनि अचानक आएर ढुङ्गमुढा गर्न थालेपछि प्रहरीले केही बल प्रयोग गरेको प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी क्वाटरको झ्यालको सिसा र प्रहरी भ्यानको सिसा समेत फुटेको छ। ‘वहाँहरुले केही जना आएर ज्ञापनपत्र दिन्छौं भन्नु भएको थियो’, उपरीक्षक राठौरले भने, ‘अचानक ३/४ सय महिलालाई झाडु लिएर अगाडि आए। पछाडिबाट पुरुषहरुले ढुङ्गा मुढा गर्न थाले। त्यसपछि प्रहरीले केही बल प्रयोग गरेको हो।’  

घटनामा संलग्न भएको आरोपमा हामीले ३ जनालाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ। अनावश्यक रुपमा निर्दोषको नाममा जाहेरी ल्याएपछि स्वीकार नगरिएको प्रहरीले जनाएका छन्।

महेन्द्रलाई १५/२० जनाको समूहमा आएका हतियारधारी समूहले आक्रमण गरेर घाइते बनाएका थिए। गम्भीर घाइते महेन्द्रको वीरगंजमा उपचारको क्रममा असोज २२ गते मृत्यु भएको थियो। मृतकको शव अहिले पनि वीरगंजमै छ। 

प्रदर्शन गर्न आएका कार्यकतालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सांसद डा. अमरेश कुमार सिंह। तस्बिर : सुनिल ठाकुर 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.