कोरोना कहरमा वन अपराध, वन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै पोखरा

कोरोना कहरमा वन अपराध, वन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै पोखरा

पोखरा : असोज ६ गते साँझ पोखरा ३१ शिसुवाबाट वनपोखरी तर्फजाँदै गरेको अवस्थमा २८ वर्षीय एक युवक अवैध चितुवाको छाला, खपेटा र आखेटोपहारसहित पक्राउ परे । कास्की जिल्ला भित्र वन्यजन्तुको आखेटोपहार अबैध ओसापसार तथा कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचको क्रममा धादिङ गल्छी गाउँपालिकाका २८ वर्षीय सन्तोष लामिछाने पक्राउ परेका थिए ।  

लामिछानेले बोकेको झोलामा चितुवाको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी ३ केजी ७ सय ५० ग्राम फेलापारेपछि थप अनुसन्धानकालागि कास्की प्रहरीले डिभिजन वन कार्यालय कास्कीमा पठाएको थियो । अहिले यसको अनुसन्धान भइरहेको डिभिजन वन कार्याल कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताएका छन् ।

उनि अवैध तस्कर गर्ने गिरोहले प्रयोग गरेको भरिया भएको अनुसन्धानबाट पत्तालागेको छ । दुई जना फरार छन् । उनिहरुको पनि कास्की प्रहरीले खोजी गरिरहेको छ । आफुलाई प्रयोग गर्ने मुख्य मान्छे कोहो भन्ने भरिया पनि जानकारी हुँदैन । तस्करहरुको गिरोहा त्यती चलाखीका साथ अवैध वन्यजन्तुको कारोवार गर्ने गर्दछन् । भरियालाई तोकेको ठाउँ सम्म पुर्‍याउन १ लाख दिने भनिएको थियो । तोकिएको ठाउँमा पुग्नु अघि नै उनी प्रहरीको नियन्त्रणमा पुगे । अहिले उनी पूर्पक्षका लागि थुनामा छन् । 

यस्तै गरि भदौ २८ गते मृगको शिकार भएको सूचनाको आधारमा पोखराको शिसुवाबाट मृग सहित र आसोज ४ गते पोखरा १५ पेन्सन क्याम्पमा स्यालका छालासहित पक्राउ परेका मानिसहरुको मुद्धा अदालतमा पुगेको डिभिजनल वन कार्यालय कास्कीले बताएको छ । कास्की जिल्लामा वन्यजन्तु चोरीशिकारीका ६ वटा मुद्धा दर्ता भएका छन् । २० वटामा अनुसन्धान अधिकृत तोकीएको सूचना अधिकारी पराजुलीले जानकारी दिए ।  

कास्की जिल्लामा अवैध काठ ओसारपोसारका ७ वटा, वन क्षेत्र अतिक्रमणका ७ वटा, विना इजाजत रुख कटान ४ वटा मुद्धा परेको छ । डिभिजन वन कार्यालय प्रदेश अन्तर्गत आएपछि अहिले वनका मुद्धा अदालत जान्छ । अहिले ६ वटा यस्ता केश अदालतमा पुगेको छ । अरु अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी पराजुलीले बताए । 

कोरोना कहरमा गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लामा मात्र होइन गण्डकी प्रदेशका अरु जिल्लामा पनि वन अपराध केही बढेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए । नबलपुरमा वन अतिक्रमण गरी टहरो बनाउने, खेतीबाली गर्ने विभिन्न स्थानका ४ वटा घर छाप्रो भत्काइएको उनले बताए । 

अतिक्रमण गर्नेलाई नियन्त्रणमा लिइ मुद्धा दायर भएको पनि उनले सुनाए । नबलपुरमा अतिक्रमणका प्रयास हुन नदिन वन रक्षक र हतियारधारी टिम समेत परिचालन भएकोले अतिक्रमणको प्रयास नै विफल हुने गरि नियन्त्रणको काम भएको नबलपुरका डिभिजनल वन अधिकृत मोहोन काफ्लेले बताए । लकडाउन र कोरोना संक्रमणका बीचमा मुभमेन्ट कम भएको मौका छोपी अतिक्रमणका प्रयास हुने प्रति कार्यालय सचेत रहेको पनि उनले बताए । 

जिल्लाहरुमा सडक निर्माण गर्ने लगायतको विकास निर्माण काम गर्ने वहानामा रुख हानी नोक्सानी र वन अतिक्रमण, वन पैदावर तथा ढुङ्गा गिट्टी वालुवा चोरी निकासी, वन्यजन्तु चोरी शिकारी भएको पाइएको छ । वन डढेलो लगाउने, अन्य समयमा भन्दा तुलनात्मक रुपमा वन पैदावर काठ दाउरा चोरी निकासी बढेको सूचना अधिकारी परियारले बताए ।  

हिमालपारीका जिल्ला मुस्ताङमा ५ वटा मानव वन्यजन्तु द्धोन्दका घटना घटेको पाइएको छ । अको हिमालपारीका जिल्ला मनाङमा जडीबुटीको चोरी लगायतका वन अपराधका केही घटना भएको पाइएको छ ।  पर्वत जिल्लामा ४ वटा वन अपराधको मुद्धा परेको छ । वन अपराधमा वन फडानी, चारी, अवैध ओसारपोसारका घटना भएको हो । स्याङ्जा जिल्ला र तनहुँ जिल्लामा वन चोरी कटानी बन्यजन्तु तथा जडीबुटीहरुको अबैध संकलन तथा ओसारपसार वृद्धि भएको पाइएको छ । तर जिल्ला बाहिर निकासी हुने वन पैदावर चोरी शिकारीका अपधार भने घटेको सूचना अधिकारी परियारले बताए । 

म्याग्दीमा वन चोरी काटानी, वन्यजन्तु तथा जडिबुटीहरुको अवैध संकलन तथा ओसारपसार भएको पाइएको छ । बागलुङ जिल्लामा वन अपराध केही बढेको छ । यसरी गण्डकी प्रदेशको ११ जिल्लामा गत वर्ष र कोरोना कहरका बिचमा भएका वन अपराधका कटनाको तुलनात्मक अध्ययन गर्दा गत वर्ष भन्दा धेरै जसो जिल्लामा वन अपराधका घटना केही बढेको पाइएकोले सजकता अपनाएर नियन्त्रणका प्रयास पनि भइरहेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शिव परियारले बताए । यस्ता वन अपराधका घटना नियन्त्रणका प्रयासहरु थप कडाइका साथ हुनेगरी कार्यक्रम बनाइने पनि उनले सुनाए । 

गण्डकी प्रदेशमा दुई वटा संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र रहेका छन् । कोरोना कहरको बिचमा मनास्लु संरक्षण क्षेत्रमा एउटा घोरलको सिकार भएको पाइएको छ । सिद्धबासको फिदिम भन्ने स्थानमा घोरल सिकार गरेका पाइएपछि सिकारमा संलग्न ४ जनालाई आवश्यक कारवाहीकालागि प्रक्रिया अघि बढेको मनास्लु संरक्षण क्षेत्रका प्रमुख नरेन्द्र लामाले जानकारी दिए । 

यसै गरि अन्नपूर्ण संरक्षण क्षेत्रमा कोरोना कहरको बिचमा ५ मुद्धा दर्ता भएका छन् । अरु अनुसन्धानको क्रममा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख अमृत अधिकारी शर्माले बताए । संरक्षण क्षेत्रको ल्वाङघलेलमा अवैध रुपमा जडीबुटी सतुवा ओसारपोसार गरेको , भुजुङ्खोलामा अवैध रुपमा वन्यजन्तु घोरल चोरीसिकार गरेको, बिरेठाँटीमा विधुतीय यन्त्र प्रयोग गरेर माछामारेको, अवैधरुपमा नियालोको टुसा ओसापसार गरेको, अवैध रुपमा कटीङपीस ढुङ्गा संकलन र बिक्री गरेको पाइएको सम्पर्क कार्यालयका प्रमुख शर्माले जानकारी दिए । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा ठुलो समस्या सार्वजनिक जमीनमा जग्गा अतिक्रमण गरि होटल बनाउने क्रम बढेको छ । कोरोना अघि नै मर्दी क्षेत्रको पदयात्रामा मात्रै ३७ वटा होटल निर्माण भएको बताइएको छ । यो मुद्धा अदालतमा पुगेको लामो समय भए पनि टुगोलागेको छैन ।

यस्तै गरी यही बिचमा  अन्नपूर्ण संरक्षण क्षेत्रको लोमान्थाङमा बिद्युतिय तारमा परेर एउटा रातो फ्याउरो मरेको पाइएको छ । मुस्ताङ र मनाङमा एक एक वटा नाउर आँखा पाक्ने रोग लागेर मरेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत तथा सूचना अधिकारी ऋषि बरालले जानकारी दिए । दशैं, तिहारमा पनि वन अपराधका घटना बढ्ने भन्दै डिभिजन वन कार्यालय कास्कीले नागरिकलाई सचेत हुन अनुरोध गरेको छ । 

दशैंमा जिल्ला बाहिर रहेका दाजुभाइ, दिदीबहीनी गाउँफर्कने र वन्यजन्तु चोरीशिकारका घट्ना, वन अतिक्रमणका घट्ना बढ्न सक्ने प्रति सचेत हुन डिभिजन वन कार्यालय कास्कीले आम नागरिकलाई अनुरोध गरेको हो । अवैध गतिविधि वन्यजन्तु मारेको , बिक्री गर्न हिडेको, वन फडानी भएको कसैले थाहा पाए खवर गर्न डिभिजन वन कार्याल कास्कीका प्रमुख केदार बरालले सामाजिक संजालमा भिडियो सन्देश दिदै अनुरोध गरेका छन् ।  

कास्की जिल्लामा सबै धन्दा धेरै वन्यजन्तुतको उद्धार भएको छ । लकडाउनकै समयमा चैत ११ देखि ३५ धेरै वन्यजन्तुको उद्धार भएका छन् । यसरी उद्धार गरिएकोमा चितुवा, घोरल, वन बिरालो, रतुवा मृग लगायतका जंगली जनावर रहेका छन् । पोखरामा लकडाउनकै समयमा कालीनाग, सेती नाग, धामन लगायत १६ प्रजातिका करिव ३ सय सर्पको उद्धार गरिएको स्नेक कन्जरभेसन सोसाइटी नेपालका सदस्य ऋषि बरालले बताएका छन् । 

अवैध वन्यजन्तु ओसारपसारको ट्रान्जिट पोइन्ट बन्दै पोखरा 

गण्डकी प्रदेशको राजधानी शहर पोखरा वन्यजन्तु चोरी सिकारको ट्रान्जिट पोइन्टको रुपमा विकास हुँदै गएको अनुसन्धान कर्ताले बताएका छन् । बिभिन्न जिल्लामा अवैध रुपमा चोरी शिकार गरेका वन्यजन्तुको अंग पोखरामा जम्मा गरि भारत र चीन पठाइने कार्य हुँदै आएको पाइएको हो ।  

वन्यजन्तुको लामो समय देखि अध्ययन अनुसन्धान गर्दै आएका युवा राजु आचार्य र यादव घिमिरेले लेखेको लाटोकोसेरो कि बाठोकोसेरो पुस्तकमा लाटोकोसेरोको अवैध व्यापारको ट्रान्जिट पोइन्ट कास्कीको पोखरा पनि रहेको पाइएको हो । यसरी हुने अवैध व्यापारका घटनाको जम्मा १० प्रतिशतमात्र समाइने र ९० प्रतिशत भूमीगत बाटो हुँदै छुटेर भारत र चीनमा तस्करी हुने गरेको लामो समय  देखि वन्यजन्तुको अनुसन्धान र अध्ययन गर्दै आएका आचार्यले बताए । अन्तर्राष्ट्रिय स्तरमै वन्यजन्तुको अवैध तस्करी समाइने र भूमीगत रुपमा तस्करी हुने प्रतिशत यस्तै रहेको विज्ञहरुले बताएका छन् । 

अवैध रुपमा संकलन गरि जम्मा भएका वन्यजन्तु पोखराबाट काठमाडौं, तातोपानी नाका हुँदै चीन पुग्ने गर्ने अनुसन्धानमा संलग्नहरु बताउँछन् । पोखरामा जम्मा भएका वन्यजन्तु पाल्पा, बुटवल हुँदै सुनौली नाकाबाट भारत पुग्ने गर्दछ । अर्को रुट भनेको पोखरा, चितवन, बुटवल सुनौली नाकाबाट भारत पुग्ने गरेको पाइएको छ । लाटोकोसेरोकी बाठो कोसेरो शिर्षक पुस्तकका लेखकद्वयको लामो अनुसन्धानबाट लाटोकोसेरो यही मार्ग हुँदै तस्करी गरेको पाइएको हो । 

लाटोकोसेरो भने जिउँदै तस्करी हुने पनि उनिहरुको अध्ययनमा छ । पछिल्लो केही वर्षयता त्यसरी गरिने ओसारपसारमा बरामद र पक्राउका घट्ना भने कम हुन थालेको बताइएको छ । यिनै बाटो प्रयोग गरि अन्य वन्यजन्तुको व्यापार हुन सक्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।  पोखराबाट मुस्ताङ्को कोरोला नाका र मनाङ, गोर्खाका चीनीयाँ नाकाबाट पनि वन्यजन्तु, जडीबुटीको अवैधरुपमा निकासी हुनसक्ने भन्दै यसतर्फ पनि सचेत हुनु पर्ने विज्ञहरुले औंल्याएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.