आमा–बुवालाई जोगाऔं

आमा–बुवालाई जोगाऔं

काठमाडौं : मान्यजनबाट आशीर्वाद लिने-दिने चाडका रूपमा मनाइन्छ दसैं। सोही मान्यताका कारण कोरोना संक्रमण जोखिमबीच आमाबुवाको आशीर्वाद लिन धमाधम गाउँ जाने क्रम चलिरहेको छ। गाउँमा आमाबुवा पनि छोराछोरीको पर्खाइमा छन्। सहरमै पनि छिन्नभिन्न परिवार एक ठाउँ हुन दसैं कुरिरहेका छन्। 

चाडपर्व÷संस्कृति भावनासँग जोडिएको कुरा हो। त्यसैले अधिकांश नेपाली संक्रमणको जोखिम मोलेरै पनि आशीर्वाद लिने तयारीमा देखिन्छन्। तर, आशीर्वाद लिन जाँदा कतै आमा–बुवालाई कोरोना भाइरसको ‘उपहार’ त लैजाँदै हुनुहुन्न ? सोचौं सबैले। जनस्वास्थ्यविद्का अनुसार वृद्धवृद्धामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ। त्यही भएर संस्कृतिविद् सत्यमोहन जोशी यसपटक टाढैबाट आशीर्वाद लिएर-दिएर चित्त बुझाउनुपर्ने बताउँछन्। 

‘दसैं हाम्रो महŒवपूर्ण चाड हो। सबै जना भेला हुने, एकीकृत हुने गर्छौं’, संस्कृतिविद् जोशी भन्छन्, ‘तर यसपटक हामीले जोखिमलाई ध्यान दिएर चाड मनाउनुपर्छ। आशीर्वाद फोनबाटै पनि लिन सकिन्छ।’ 

इतिहासकार तथा संस्कृतिविद् ज्ञानमणि नेपाल यसपटकको दसैँ पुरानै तरिकाले मनाउन नहुने धारणा व्यक्त गर्छन्। ‘अन्य धेरै चाड रोकिएका छन्’, संस्कृतिविद् नेपाल भन्छन्, ‘दसैंलाई पनि हामीले नयाँ तरिकाले मनाउन सकिन्छ।’ बुवाआमालाई कोरोनाबाट जोगाउन परिवारबाट टाढा भएकाले प्रविधिको सहायताले आशीर्वाद लिनुपर्ने उनी बताउँछन्।

 ‘मेरा पनि छोरा नाति-नातिनी गरेर ६० जना दसैंमा टीका थाप्न आउने गर्थे’, उनी भन्छन्, ‘यस वर्ष सबैलाई नआउन आग्रह गरेको छु। सुरक्षित घरमै बसेका केहीलाई मात्र लगाइदिने सल्लाह भएको छ। यस वर्ष सबैले सचेत भएर टाढैबाट आशीर्वाद लिनु उचित हुन्छ।’ संसारकै समस्या भएकाले हामीले पनि समयअनुसार चल्नुपर्ने उनको भनाइ छ।

जनस्वास्थ्यविद्ले यसपटक दसैँमा परिवारका अग्रज व्यक्तिको आशीर्वाद लिन गाउँ नजान अनुरोध गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुन बुवाआमालाई जोगाउने कि जोखिममा पार्ने युवाको हातमा रहेको बताउँछन्। ‘दसैँमा संक्रमण फैलने बढी जोखिम छ’, डा. पुन भन्छन्, ‘गाउँमा बुवाआमा भएका ठाउँमा सहरबाट गएका छोराछोरीले कोरोना लैजाने बढी सम्भावना छ। त्यसैले बुवाआमालाई जोगाउने छोराछोरीकै हातमा छ।’ कामकाजी छोराछोरी पनि घर फर्किएपछि दूरीमा बस्नुपर्ने उनको सुझाव छ। 

‘बुवाआमाको ख्याल गर्ने हो भने दसैँमा त भरसक गाउँ नजानु राम्रो हो’, उनी भन्छन्, ‘अवस्था हेरेर बुवाआमालाई रिझाएर फोनबाटै आशीर्वाद लिनु उचित हुन्छ। दसैँबाहेक सहरमै बस्नेले पनि बाहिर निस्केर घर फर्किंदा बुवाआमाबाट जोगिएर बस्नु नै उचित हो।’ 

दसैँमा सहरबाट जाने युवाका कारण पहाडी गाउँमै संक्रमणको जोखिम हुने सम्भावना डा. अनुप बास्तोला देख्छन्। ‘दसैंमा गाउँ–गाउँमा कोरोना फैलने सम्भावना देखिन्छ,’ डा. बाँस्तोला भन्छन्, ‘घर जानेको हुलले गाउँमा सुरक्षित बसेका वृद्धवृद्धालाई जोखिम हुनेवाला छ।’ चाडवर्पमा सचेत नभए छोराछोरीले नै आफ्ना बुवाआमा सबैलाई जोखिममा पार्ने उनी बताउँछन्। चाडपर्वमा धेरै चहलपहल गरेर परिवारमा संक्रमण नफैलाउन उनी सुझाव दिन्छन्।

धेरैले सचेतता अपनाउँदै सामाजिक सञ्जालमै लेखेर पनि दसँैमा यस वर्ष भेला नहुन आफन्तलाई सामूहिक अनुरोध गरेका छन्। साहित्यकार तथा लेखक नयनराज पाण्डेले अप्ठ्यारो परिस्थिति भएकाले आमालाई सुरक्षित राख्न यो दसैँमा घरमा आफन्तलाई स्वागत गर्न असमर्थ रहेको बताए। ‘हरेक दसैँमा आमासित टीका थाप्न र आशीर्वाद लिन थुप्रै आफन्त घरमा आउनुहुन्थ्यो’, लेखक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘तर अहिलेको परिस्थितिमा आमालाई सुरक्षित राख्नु छ। त्यसैले यो दसैँमा आफन्तलाई स्वागत गर्न असमर्थ छौँ।’ सबैको स्वास्थ्य सुरक्षाको कुरा भएकाले समझदारी अपनाउन लेखक पाण्डेले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.