झडपमा नेकपाका नेताको मृत्यु
वीरगन्ज : पर्साको विन्दवासीनी गाउँपालिकामा बिहीबार नेकपाको दुई गुटबीच भएको झडपमा घाइते भएका एक नेताको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जको पानीटयाङकीस्थित एलएस न्युरो अस्पतालमा उपचाररत नेकपाका गाउँ कमिटी सचिव मुकेश चौरसीयाको शुक्रबार बिहान मृत्यु भएको हो ।
चौरसीयाको उपचारका क्रममा शुक्रबार बिहान ९ बजे तिर मृत्यु भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् । झडपमा घाइते नेकपाका कार्यकर्ताहरु चिन्टु तिवारी , उत्तम तिवारीसहित चारजनाको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विन्दवासीनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठामा बिहीबार आयोजित नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई गुटका नेता कार्यकर्ता बीच विवाद भइ झडप भएको थियो ।
झडपमा लठठी र भाठासहित आएका दुवै पक्षले एक अर्कामाथि आक्रमण गर्दा दुवैपक्षका गरी ८ जना घाइते भएका थिए । घाइतेमध्ये ३ जना बिहीबार राती नै उपचार गराइ घर फर्किएका थिए ।
अन्य ५ जना घाइते उपचाररत रहेको मध्ये गाँउ कमिटी सचिव चौरसीयाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मृतक चौरसीया , तत्कालीन नेकपा माओवादीका नेता मातृका यादव गुटका हुन् । बिहीबारको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै कार्यक्रमस्थलमै विवाद गरेपछि दुवै पक्षबीच लाठी हानाहान भएको थियो ।
झडपपछि घटनास्थलमा प्रहरी परिचालन गरी शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बेलुकी पूर्वसांसद एंव नेकपाका नेता राजकुमार गुप्तासहित ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । तर तीमध्ये गुप्तासहित ४ जनालाई भने प्रहरीले बिहीबार राति नै छाडिदिएको थियो ।
अन्य ३ जना हनिफ मिया , देवा सहनी र शोक्दीन गद्धीलाई भने प्रहरी हिरासतमै राखिएको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा संलग्न आशंकामा ३ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइन् ।
नेकपा पर्साका अध्यक्ष प्रभु हजराले भने दु:खदायी घटना भएको बताए । कार्यक्रमका बारेमा आफूलाई जानकारी नै नदिइएको भन्दै उनले भने,'विवाद भएको खबर सुनेर म त्यहाँ पुग्दा झडप भइसकेको रहेछ, जुन एकदमै गलत भएछ । उनले दुई ठूला पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि पार्टीमा भित्रिएकाले विवाद भएको बताए ।
प्रतिक्रिया दिनुहोस !