मुकेश हत्या प्रकरण : जाहेरीबाट नेताको नाम हटाउन प्रहरीको दबाब, वीरगन्जमा दैनिक प्रदर्शन

मुकेश हत्या प्रकरण : जाहेरीबाट नेताको नाम हटाउन प्रहरीको दबाब, वीरगन्जमा दैनिक प्रदर्शन

वीरगन्ज :  ‘धन सम्पति चाहिँदैन, खाली मलाई इन्साफ दिलाइदिनुहोस्’, पति गुमाएको शोकमा डुबेकी सुनिता चौरसीया आफूलाई भेट्न आउनेका सामु डाँको छाडेर रुदै भन्छिन्, ‘मेरो खसमलाई योजना बनाएर मारे, मलाई अरु केही चाहिँदैन न्याय दिलाइदिनुस्।’

गत बिहीबार आफ्नै पार्टीको दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका गाउँकमिटी सचिव मुकेश चौरसीयाको शव ६ दिनदेखि नारायणी अस्पतालमा छ। 

मुकेशको हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमानेको भन्दै परिवारजन र आफन्तले शव बुझन मानेका छैनन्। 

मुकेशको हत्या कसरी ? 

गत बिहीबार पर्साको विन्दवासीनी गाउँपालिका ५ प्रसौनीभाठामा नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो। 

मुकेश, कमिटीको सचिवमा निर्वाचित भएका थिए। तर कार्यक्रममा पार्टीकै एक पक्षलाई नबोलाइएका कारण असन्तुष्ट उक्त पक्षले कार्यक्रमस्थलमा पुगेर बिथोल्ने प्रयास गर्यो। त्यही विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप भयो। झडपमा हिर्काइएको बासले मुकेशको टाउँको फुट्यो । 

घाइते मुकेशलाई तत्कालै उद्धार गरेर वीरगन्जस्थित एसएल न्यूरो अस्पतालमा पुर्याइयो। तर, उनको उपचारकै क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भयो। 

शोकमा मृतक मुकेश चौरसीयाकी पत्नी सुनिता (पहिलो साडी लगाएकी)  उनकी छोरीकुर्ता लगाएकी) र अन्य परिवारजन । तस्बिर : क्रान्ति शाह

मुद्दा किन दर्ता भएन ? 

मृत्यु भएकै दिन शुक्रबार मृतक मुकेशका भाइ महेश चौरसीया, घटनामा संलग्न ११ जनाविरुद्ध कार्वाहीको माग गर्दै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे। तर, प्रहरीले जाहेरी लिन मानेन। 

महेशका अनुसार, घटनामा संलग्न नै नरहेको भन्दै प्रहरीले संविधानसभाका पूर्वसदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताको नाम हटाएर अर्को जाहेरी लिएर आए मात्रै दर्ता गर्ने भन्दै फर्काएको हो।

‘राजकुमार गुप्ताकै योजनामा मेरो दाइको हत्या भएको हो। घटनाका मुख्य योजनाकार राजकुमार गुप्ता नै हुन्। घटनाका  दिन गुप्ताले नै आफ्नो घरमा योजना बनाएर मेरो दाइलाई मार्न मान्छेहरु पठाएका थिए’, महेशले भने, ‘पहिले पनि राजकुमार गुप्ताले मेरो दाइलाई तह लगाउनै पर्छ भनेर धम्क्याउँदै आएका थिए। उनको नाम हटाएर जाहेरी दिनुको मतलब नै छैन।’ 

नाम हटाए जाहेरी दर्ता हुन्छ : एसपी पन्त 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने घटनामा संलग्न नै नदेखिएका व्याक्तिको नाम हटाएर जाहेरी दिन पीडित पक्षलाई आग्रह गरिएको बताएकी छन्। 

‘शंका लागेकै आधारमा जाहेरीमा नाम नराख्नु भनेर भनेका हौँ। अहिलेसम्म प्राप्त घटनाको सिनमा जो देखिएको छैन उसकै नाम राखेर जाहेरी लिएर मृतकका परिवारजन आउनु भएको थियो’, उनले भनिन्, ‘त्यसैले त्यो नाम हटाएर अर्को जाहेरी लिएर आउनु भनेका हौं।’ 

घटना भएकै दिन साँझ प्रहरीले संविधानसभा सदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। तर, साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पुरयाइएका गुप्ता सहितका ५ जनालाई राति ९ बजे छोडिएको थियो। 

प्रहरीको हिरासतमा हनिफ मियाँ , देवा सहनी र शोकदीन गद्धीसहित तीनजना छन्। बिहीबारको घटनामा घाइते भएका नेता गुप्ता पक्षका उत्तम तिवारी र चिन्टु तिवारी भने फरार छन्।
झडपमा घाइते भएका दुवै जना उपचारका लागि नेशनल मेकिडल कलेजमा पुगेका थिए। तर मुकेशको  अवस्था गम्भीर रहेको खबर पाएपछि मेडिकल कलेजमा उपचाररत ती दुवै जना फरार भएका थिए। उनीहरु अझै पक्राउ परेका छैनन्। 

पीडित पक्षले भने उनीहरुलाई मेकिडल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका नेकपाका नेता बसरुद्धिन अन्सारीले नै  भगाएको आरोप लगाएका छन्। प्रबन्धक अन्सारी भने यो स्वीकार्न तयार छैनन्। उनीहरु आईसीयूमा भर्ना हुन पैसा तिर्नुपर्छ भनेपछि जानकारी नदिइ हिँडेको उनको भनाइ छ।

‘बिहीबार साँझ उपचारका लागि मेडिकल कलेजमा आएका दुवैजनाको प्राथमिक उपचार भयो। आईसीयू भर्नाका लागि काउण्टरमा पैसा जम्मा गर्न भनिएको थियो’, उनले भने, ‘पैसा तिर्नुपर्छ भनेपछि बिना जानकारी उनीहरु बाहिरिएको थाहा भयो। कहाँ गए थाहा भएन।’ 

नेता गुप्तालाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई छुटाउन भन्दै अन्सारी पनि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका  थिए। 

न्याय माग्दै वीरगन्जमा दैनिक प्रदर्शन 

प्रहरीले जाहेरी नै नलिएपछि नेकताका नेता कार्यकर्ताले प्रहरीको विरोध गर्दै दैनिक प्रदर्शन गर्दै आएका छन्। मृतक मुकेश तत्कालीन नेकपा माओवादीका नेता हाल नेकपाका नेता एंव पूर्वमन्त्री मातृका यादव निकट हुन्। 

मुकेशको हत्याको मुख्य योजनाकार भनेर मृतकका परिवारजनले आरोप लगाएका संविधानसभाका पूर्वसदस्य गुप्ता भने तत्कालीन एमाले र हालका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली निकट नेता हुन्। 

वीरगन्जमा विगत ६ दिनदेखि भइरहेको प्रदर्शनमा सहभागी नेकपाका नेता कार्यकर्तामध्ये अधिकांश तत्कालीन माओवादीका नेता कार्यकर्ता छन्। प्रदर्शनमा केही भने तत्कालीन एमालेका नेता कार्यकर्ता पनि छन्। 

धर्ना र विरोध प्रदर्शनमा नेकपा पर्साका इन्चार्ज रामचन्द्र साह, प्रदेश २ का सह-इन्चार्ज नागेन्द्र चौधरी, पर्सा सचिव विजय महतो, वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीका साथै जिल्ला र प्रदेश कमिटी सदस्य, भातृसंगठनका केन्द्रीय सदस्य लगायत सहभागी हुँदै आएका छन्। 

प्रहरी कार्यालय अगाडिको धर्नामा नेकपाका नेता पूर्वमन्त्रीद्वय मातृका यादव र सुरेन्द्र पाण्डेले पनि वीरगन्ज आएर सहभागीता जनाइसकेका छन्। 

कात्तिक ९ गते नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विज्ञप्ति सार्वजनिक गर्दै हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्। 

हत्या जस्तो  जघन्य अपराधमा पनि प्रहरीले जाहेरीसमेत दर्ता गर्न नमान्नु आश्चर्यको विषय भएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कात्तिक ८ गते विज्ञप्ति निकालेर मुकेशको हत्या घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा मुकेश हत्याको छानबिन गरेर त्यसमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। 

प्रदर्शनकारीले पर्सा प्रहरी प्रमुख पन्तको पुत्लासमेत जलाएका छन्। पर्सा प्रहरी प्रमुख पन्तले राजनीतिक पूर्वाग्रह राखेर जाहेरी दर्ता नगरेको नेकपाका वीरगन्ज नगर कमिटी अध्यक्ष रहवर अन्सारीको आरोप छ।

‘गृहमन्त्री र डीआइजीबाट समेत जाहेरी दर्ता गर्न आदेश आइसकेको छ तर पनि एसपीलाई कुन शक्तिबाट दबाब छ र उनले जाहेरी नै लिन मानेकी छैनन्’, उनले भने, ‘यो विषयले हामी पनि आश्चर्यमा परेका छौँ।’ 

प्रहरीले जाहेरी दर्ता गर्दैमा जाहेरीमा नाम भएका सबै अपराधी सावित नहुने भन्दै रहवरले प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाउनु पर्ने बताएका छन्। 

नेकपाका नेता छोटेलाल यादव भन्छन्, ‘अहिले प्रहरी हिरासतमा रहेका ३ मध्ये २ जना राजकुमार गुप्ताकै घरबाट पक्राउ परेका हुन्। यही तथ्यले नै घटनाका मुख्य योजनाकार गुप्ता नै थिए भन्ने देखिन्छ।’ 

नेकपा पर्साका युवा नेता मनोज चौधरी प्रहरीले जाहेरी दर्ता नगरेसम्म आन्दोलन जारी रहने बताए। ‘यो हाम्रो सांकेतिक आन्दोलन मात्र हो’, उनले भने, ‘अब पनि जोहरी  दर्ता भएन भने यो आन्दोनलाई पार्टीले देशव्यापी बनाउँछ।’ 

  

जाहेरी दर्ताको माग गर्दै बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गर्दै नेपाका नेता कार्यकर्ता। तस्बिर : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.