होटल तिहारअघि नखुल्ने
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीका होटल तिहार अघि नखुल्ने भएका छन्। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीका साथै वीरेठाटी र घान्द्रुकका होटल व्यवसायीले बढ्दो कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय लिएका हुन्।
तीनवटै ठाउँका होटल व्यवसायीको संयुक्त बैठकले कोरोना भित्रिन नदिन तिहारअघि नखोल्ने निर्णय गरेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए। घोडेपानीका होटल गत चैत ११ गतेदेखि नै बन्द छन्। देशका अन्य ठाउँमा होटल तथा रेस्टुरेन्ट खुला गरिए पनि घोरेपानी क्षेत्रमा अझै सञ्चालन गरेका छैनन्। पाहुनाको माध्यमबाट कोरोना भित्रिने जोखिम आँकलन गरेका छन्।
लकडाउन खुलेपछि केही दिनयता भ्रमणका लागि स्वदेशी पर्यटक घोडेपानी आउन थालेपछि स्थानीय त्रसित भएका छन्। घोडेपानी कास्कीको घान्द्रुक र वीरेठाटी भएर म्याग्दी भित्रिने नाकासमेत हो। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घरमा पर्यटक स्तरका होटल सञ्चालन भएका छन्।
प्रतिक्रिया दिनुहोस !