बिस्फोटक पदार्थ बरामद
मलंगवा : भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले सर्लाहीको बलराबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको छ। नेपाल—भारत सीमा नजिकै बलराबाट ट्याक्टरमा भारतबाट ल्याउँदै गरेको बिस्फोट पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएका छन्।
दसैंतिहार र छठ पर्वलाई लक्षित गरी ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बिस्फोटक पदार्थ बरामद गरेको हो। ज.१ त २१७९ नम्बरको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको १० क्विन्टल ८८ किलो बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बरामद गरिएको बिस्फोट पदार्थमा अठइसा, झिरझिरे, राधाचक्र र नागिनलगायतपटका रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन्। आइतबार बिहान अन्दाजी पौने ११ बजेको समयमा बलरा नगरपालिका वडा नं. ८ स्थित सडकमा रोकिराखेको ट्याक्टर जाँच गर्दा बिस्फोटक पदार्थ भेटिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन्।
प्लास्टिकको त्रिपालले ट्याक्टरको टेलर छोपी राखेको अवस्थामा बिस्फोटक पदार्थ बरामद गरिएको हो। २० ओटा कार्टुन र ४ ओटा बोरामा प्याक गरेर बिस्फोटक पदार्थ ट्याक्टरमा लोड गरिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ।