फस्टाउँदै किवी खेती

फस्टाउँदै किवी खेती

बेनी : जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको पाँच वर्ष भयो। कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब दश वर्षसम्म बारीमा खेती भएको थिएन। 

‘किवी लगाएपछि जंगली जनावरले पनि दुख दिएका छैनन’, तिलिजाले भनिन्, ‘कोदो–मकै लगाउँदा भन्दा आम्दानी पनि राम्रो भएको छ।’ कोदो लगाउँदा वर्षमा दुई-दुई क्विन्टल उत्पादन हुन्थ्यो। किवीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन्। 

गत वर्ष प्रतिकिलो  २५० रुपैयाँका दरले ५०० किलोग्राम किवी बेचेको तिलिजाले बताइन्। यसपाली पनि गत वर्षको भन्दा बढी किवी फलेको उनको भनाइ छ। 

चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किवीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्राम भन्दा बढी उत्पादन गरे। मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किवीबाट ७५ हजार कमाइ भएको पुर्जा बताउँछन्।

‘अरुले प्रतिकिलो तीन सय रुपैयाँभन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौं’, पुर्जाले भने, ‘अन्नबालीको भन्दा किवीबाट धेरै बढी आम्दानी भयो।’

अनुकुल भुगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यवसायिक किवी खेतितर्फ आकर्षित भएका छन्। म्याग्दीको राम्चे, बरंजा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालीजा क्षेत्रमा केही वर्षयता किवी खेति बिस्तार भएको छ। ३२ वर्षअघि जापानबाट आएका स्वमसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किवी भित्र्याएका थिए। 

स्वादीलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थ्यकर मानिने किवीको बजारमा माग र खपत बढेको छ। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेका अनुसार समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ। 

‘भिटामिन सि लगायत पौष्टिक तत्व पाइने किवी चिनी रोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ’, उनले भने, ‘राम्रो भयो भने एकै रोपनीमा चार लाखसम्म आम्दानी गर्न सकिन्छ।’ पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ। अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ। किवी चिनमा विकास भएको फलफूल हो। न्युजील्याडले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ।  सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ। निजी नर्सरीबाट तीन सय रुपैयाँ प्रति बिरुवा बिक्री हुन्छ। 

कृषि ज्ञान केन्द्रले गत वर्ष मोडेल फार्म कार्यक्रम मार्फत एक वटा किवीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो। यो वर्ष चार वटा किवी फार्म स्थापनाका लागि आवेदन परेको छ। सजिलो र कलमी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए। 
प्रति ८ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म किवीका बिरुवा लगाउन सकिन्छ। फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतिको मुख्य चुनौति हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.