सांसदसहित म्याग्दीका १३ जनामा संक्रमण पुष्टि
बेनी : गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई बुधबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ।
धेरै जनसम्पर्क हुने जनप्रतिनिधि, व्यवसायी, कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजार बन्द गरिएको छ।
लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि नियन्त्रणका लागि बेनी नगरपालिका र मालिका गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका छन्।
पोखरास्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा बेनी बुधबार नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
बेनी नगरपालिका-७ का १८, ५४, २८ र ३० वर्षीया महिला, २३, ५४, २१, ५२, ८ का वर्षीय ३७ का एक, ५ का ३१ वर्षका एक र २ का ४४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि निर्देशनालयले जनाएको छ।
मंगला गाउँपालिका १ ठेगाना भएका ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ठेगाना नखुलेका संक्रमित दरवाङमा कार्यरत भएको मालिका गाउँपालिकाले जनाएको छ।
बेनी-८ ठेगाना भएका संक्रमित गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी हुन्। यस्तै बेनी-७ ठेगाना भएका संक्रमितमध्य एक जना नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुन्। केसी र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जनाएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ। करिब दुई हजार वटा स्वाबको नमुना परीक्षण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !