हाम्रो मौलिकता के हो त ?
मौलिकता तथा आत्मनिर्भरता नै हाम्रो स्वतन्त्र पहिचानका लागि आवश्यक शर्तहरू हुन्
ईशापूर्व १५०० भन्दा पहिल्यै प्रार्दुभाव गरिएको वेदमा विश्वास गर्ने पूर्वीय सनातन तथा सन् २०२० को हाराहारी तथा त्यसपछि केही महामानवबाट प्रतिपादित पाश्चात्य अब्राहमिक (क्रिस्चियन, जुडाइजम तथा इस्लाम) धर्ममा मुख्यतया बहुलवाद तथा अन्य धर्म मान्ने मतावलम्बीका बारेमा शब्दमा मात्र नभई व्यवहारमै भिन्नता पाइन्छ। सनातन धर्ममा नास्तिक तथा अब्राहमिक धर्ममा सैतान तथा पगानजस्ता शब्दहरूको अत्यन्तै प्रयोग भएको पाइन्छ। यो आलेखमा यी पदावलीको शाब्दिक अर्थ यिनीहरूको बहुलवादप्रतिको अवधारणा र विशेषगरी सनातन धर्मको मौलिकता तथा यसमा व्यक्त भएका दर्शनहरूको वैज्ञानिक आधार तथा औचित्यताबारेमा चर्चा गरिनेछ।
वेदमा विश्वास गर्ने मतावलम्बीलाई सामान्यतया आस्तिक भन्ने गरेको पाइन्छ। वेदमा विश्वास नगर्ने मतावलम्बीहरू नास्तिक मानिन्छन्। नास्तिक भनेको अधर्मी तथा पापी नभई विधर्मी मात्र हो। चार्वाक, जैन तथा बौद्ध दर्शनहरू अवैदिक दर्शन हुन्। यिनीहरूलाई नास्तिक अर्थात् आत्मा तथा पुनर्जन्ममा विश्वास नगर्ने दर्शनका कोटीमा राखिन्छ। सनातन धर्ममा यिनीहरूलाई आदरणीय दर्शन तथा पन्थका रूपमा सम्मान गरेको पाइन्छ। यो आस्तिक विश्वासको मुख्य आधार षड्दर्शन रहेको छ। यी षड्दर्शनलाई दुइटा दर्शनको जोडी बनाई व्याख्या गर्ने गरिएको छ। न्याय तथा वैशेषिक दर्शनको जोडीलाई अनुभव तथा तर्कमा आधारित भएको विश्वास गरिन्छ। न्याय दर्शन महर्षि गौतमबाट प्रतिपादन गरिएको हो। यसलाई तर्क विज्ञान भनिन्छ। मस्तिष्कको उपयोगबाट कुनै विचार तथा प्रमाण स्थापित गर्नुलाई न्याय भनिन्छ। त्यसैगरी महर्षि कणादद्वारा प्रतिपादित दर्शनलाई वैशेषिक दर्शन भनिन्छ। यो दर्शन अनुभव तथा प्रयोगका माध्यमबाट प्रतिपादित भएको हुन्छ। यसलाई अणु विज्ञान भनिन्छ। आधुनिक भौतिकशास्त्रको आधार यही वैशेषिक दर्शनलाई मान्ने गरिन्छ। यो जोडीले तर्क तथा विज्ञानलाई ज्ञानको आधार मानेको छ।
कुनै पनि विचार सत्यता तथा तथ्यता प्रमाणित गर्नका लागि गरिने संशय अर्थात् द्वैतवादलाई सांख्य दर्शन भनिन्छ। यसका प्रणेता महर्षि कपिलमुनि रहेका छन्। यसलाई द्वैत विभेद विज्ञान भनिन्छ। शरीरको तन्दुरुस्ती तथा शुद्धताबाट मनलाई एकाग्र गरी द्विविधारहित सच्चिदानन्दमय अवस्थामा पुग्न मद्दत गर्नु नै योग दर्शनको मुख्य शिक्षा रहेको छ। महर्षि पतञ्जलीबाट प्रतिपादन गरिएको योगसूत्रमा समाधिपाद, साधनपाद, विभूतिपाद र कैवल्यपाद गरी चारवटा खण्ड रहेका छन्। सांख्य योगको दर्शन जोडीले शरीर र मनको सन्तुलनका माध्यमबाट शाश्वत विचार ग्रहण गर्न सकिन्छ भन्नेमा जोड दिन्छ। यसलाई शास्त्रीय योग विज्ञान भनिन्छ।
त्यसैगरी महर्षि जैमिनीबाट प्रतिपादित पूर्वमीमांसा दर्शनले मोक्ष प्राप्तिका लागि के गर्न हुने र के नहुनेजस्ता विधिविधानका बारेमा चर्चा गरेको छ। यसलाई वैदिक टीका विज्ञान भनिन्छ। महर्षि वाद्रायनबाट प्रतिपादित उत्तर मीमांसा अर्थात् वेदान्तले भक्तिका माध्यमबाट मोक्ष प्राप्तिका बारेमा चर्चा गरेको छ। यसलाई पछिल्लो वेद विज्ञान भनिन्छ। यो दर्शनको जोडीले विधिपूर्वक आराधना तथा भक्ति गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्नेमा जोड दिन्छ।
यी माथि व्याख्या गरिएका षड्दर्शनमा विश्वास नगर्ने मताम्बलीहरूलाई नास्तिक भनिन्छ। यसको अर्थ पापी वा अधर्मी भने हुँदै होइन। शारीरिक सुखसुविधा तथा भौतिकवादमा विश्वास गर्ने चार्वाक दर्शन, आत्मा तथा परमात्मा विश्वास नगर्ने जैन दर्शन तथा चार आर्य सत्यमा मात्र विश्वास गरी आत्मामा अविश्वास गर्ने बुद्ध दर्शनमा विश्वास गर्ने मतावलम्बीलाई अवैदिक अथवा नास्तिक भन्ने गरिएको हो। यी सबै दर्शनलाई सनातन धर्मले एकदमै सम्मान गर्ने गरेको छ। सनातन धर्मावलम्बीहरूको संसारका सम्पूर्ण मानव कुटुम्ब हुन् भन्ने मान्यता ‘वसुधैव कुटुम्बकम्’ ले सबैप्रति सम्मान गरेको प्रमाणित हुन्छ।
सनातन वैदिक विश्वासले परमात्मा एक हुन्छन् र परमात्माको प्राप्ति नै मनुष्यको प्रमुख कर्तव्य मानेको छ। त्यसैले परमात्मासम्म पुग्ने मार्ग अलग–अलग भए पनि गन्तव्य त्यही एक परमात्मा नै हो भन्नेमा विश्वास गर्छ। त्यसैले सनातन धर्मले नास्तिक दर्शन अथवा अब्राहमिक दर्शनहरू त्यही परमात्मासम्म पुग्ने अलग–अलग पन्थ मानेको छ। यी पन्थ न त शत्रुवत् छन् न त प्रतिक्रियावादी। यही नै बहुलवादका उत्कृष्ट नमुना हुन्।
पहिचानको राजनीतिक भाष्य जेसुकै भए पनि धर्मले हामीलाई पथ प्रदर्शन गर्छ। इतिहासले अनुभवका आधारमा आत्मविश्वासी बन्न तथा विगतका अनुभवबाट वर्तमान तथा भविष्यमा तय गर्नुपर्ने विषयमा पाठ सिकाउँछ भने भाषाले भाइबन्धुलाई एकता सूत्रमा जोड्न मद्दत गर्छ।
सनातन धर्ममा विश्वास गर्ने मतावलम्बी हिन्दुहरूले यसलाई धर्म भन्न पनि मन पराउँदैनन्। उनीहरूले सनातन हिन्दु धर्मलाई जीवन पद्धति भन्ने गरेका छन्। अरू पन्थ तथा धर्महरूमा मित्रवत् व्यवहार गर्नेर प्राणीहरूमा समेत श्रद्धा तथा सम्मान गर्ने हुँदा यो सनातन दर्शनलाई प्रजातान्त्रिक तथा बहुलवादी दर्शन मानिन्छ।
१५०० देखि १००० ईशापूर्वको समाजलाई पूर्व वैदिक समाज भन्ने गरिएको छ। सप्त सिन्धव (हालको सिन्धु उपत्यका (पाकिस्तान) क्षेत्रमा उत्पत्ति भएको विश्वास गरिने यो समाजमा जौ तथा गहुँ मुख्य अन्नबाली थिए भने गाई मुख्य सम्पत्ति। यसै समयमा ऋग्वेदको सिर्जना भएको मानिन्छ। १००० देखि ६०० ईशापूर्वको समाजलाई उत्तर वैदिक समाज भन्ने गरिएको छ। गंगा नदीको किनारको समतल भूमिमा (हालको भारत) उत्पत्ति भएको विश्वास गरिने यो समाजमा भने धान मुख्य अन्नबाली थियो भने जमिन मुख्य सम्पत्ति। यसै समयमा अन्य वेदहरूको सिर्जना भएको मानिन्छ।
वेद र दैनन्दिन जीवनका बीचमा के सम्बन्ध छ भन्नेबारेमा यहाँ चर्चा गरिनेछ। मन्त्रहरू समावेश भएको पवित्र ग्रन्थलाई ऋग्वेद भनिन्छ भने आयुर्वेद यसको उपवेद हो। मानिसहरूको कर्म मात्र नभई वाणी पनि शुद्ध हुनुपर्छ भन्ने सनातन धर्मको विश्वास रहिआएको छ। मन्त्रहरूले शब्द तथा वाणी शुद्ध उच्चारण गर्न वा बोल्न सहयोग गर्छन्। शब्द तथा त्यसको सही उच्चारणले कर्मलाई पनि परिष्कृत बनाउन मद्दत गर्छ भन्ने मान्यता रहिआएको छ। ऋग्वेदको उपवेद रहेको आयुर्वेद औषधि विज्ञानसम्बन्धी दस्ताबेज रहेको छ। यसमा खानपान तथा उपचार पद्धतिका बारेमा चर्चा गरिएको छ। यही आयुर्वेद नै हाम्रा ऋषिमुनिहरूको स्वस्थ तथा दीर्घ जीवनका कारण रहिआएको छ। यसबारेमा अन्य थप चर्चा पछि गरिनेछ।
संगीतको ग्रन्थ मानिने सामवेद रागहरूको उत्पत्तिको स्रोत मानिन्छ। कला तथा संगीतका बारेमा थप विवरण भएको गन्धर्व वेदलाई सामवेदको उपवेद मानिन्छ। संगीतका सात अलंकारहरू (सा, रे, ग, म, प, ध, नि तथा सा) ले शरीरका सात कुण्डलिनी चक्रहरू (मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा तथा सहस्रार) लाई सक्रिय बनाई इदा, सुषुम्ना तथा पिंगला नाडीका माध्यमबाट तलबाट माथि ऊर्जा प्रवाह गर्छन्। छन्दमय मन्त्र वाचन तथा संगीतले यिनै चक्रलाई सक्रिय बनाई ऊर्जा उत्पादन तथा प्रवाहमा मद्दत पुर्याउँछन्। ऊर्जा उत्पादन तथा प्रवाहले केवल शक्ति सन्तुलनको सिद्धान्तलाई प्रमाणीत गर्छ। यसले सिर्जनशीलतालाई पनि मद्दत गर्छ। यही नै साहित्य तथा कला हो।
पद्य तथा गद्य गरी दुई भागमा विभक्त दान तथा बलिका बारेमा उल्लिखित ग्रन्थ यजुर्वेदको उपवेद शील्प तथा अर्थ वेद हो। अर्थ तथा शिल्पका बारेमा यहाँ चर्चा गरिएन। अर्थका लागि शिल्प चाहिन्छ भने भने शिल्पविना अर्थोपार्जन सम्भव पनि हुँदैन। यही नै व्यावसायिक शिक्षा तथा अर्थशास्त्रको उद्देश्य पनि हो। दानका बारेमा लिने र दिने दुवैमा पात्रताको अति आवश्यकता औंल्याइएको हुँदा बन्धुत्व तथा भाइचाराका बारेमा पनि यो वेदले दिशानिर्देश गरेको मानिन्छ। परोपकारी संस्था तथा तिनीहरूबाट गरिने सामाजिक तथा मानव सेवा यसैबाट उत्प्रेरित भएका हुन्। एक मानवले अर्को मानवलाई सहयोग गर्ने परम्पराको उत्प्रेरणा यसैबाट भएको हो।
जादुगरीका बारेमा वर्णन गरिएको अथर्ववेदको उपवेद धनुर्वेद हो। धनुर्वेदमा हातहतियार तथा युद्धकौशलका बारेमा व्याख्या गरिएको छ। अहिलेको प्रतिस्पर्धी तथा युद्धोन्मुख राष्ट्रहरूको आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका बारेमा यसले त्यतिबेलै संकेत गरेको पाइन्छ। यसरी मन, वचन तथा कर्म शुद्ध गरी शरीरलाई तन्दुरुस्त राख्न र रोगव्याधीबाट बच्न उचित खानपान तथा औषधिमूलोको व्यवस्था ऋग्वेद तथा आयुर्वेदले गरेका छन्। संगीतका माध्यमबाट ऊर्जा प्रवाह गराई सिर्जनशील मस्तिष्क विकासका बारेमा सामवेद र गन्धर्ववेदले निर्देश गरेका छन्।
व्यावसायिक शिक्षा (शिल्पकला) तथा अर्थशास्त्रका माधयमबाट जीविकोपार्जनका बारेमा बताउने यजुर्वेद र अर्थ तथा शिल्पवेद रहेका छन्। ईश्वर तथा परमात्मा प्राप्तिको मार्ग तथा लक्ष मात्र नभई जीविकोपार्जनका लागि आवश्यक पर्ने सम्पूर्ण अवयवका बारेमा वर्णन गरिएकाले सनातन हिन्दु धर्मलाई धर्म मात्र नभनी जीवन दर्शन भनिएको हो। यिनै वेदहरूको बृहत् अध्ययन तथा मननबाट आचार्य चाणक्यले अर्थशास्त्र तथा कूटनीतिका आधारभूत सिद्धान्त प्रतिपादन गरे। यी दुवै नीति आज पनि पथ प्रदर्शक रहेका छन्।
शक्तिको होडबाजीमा साम्राज्य विस्तारका लागि धर्म र संस्कृतिमाथि अतिक्रमण तथा विस्थापन एकदमै आवश्यक हतियार भएको छ। भारत वर्ष विशाल, सुसंस्कृत तथा विकसित भएकाले ग्रिक, मुगल तथा अंग्रेजहरूको नजर यसमाथि पर्न गएको हो भन्ने विश्वास गरिन्छ। यसको सामरिक महŒव मात्र उपनिवेशको कारण नहुन पनि सक्छ। भारत वर्षको जस्तै अवस्था रहेको हाम्रो देश सामरिक महŒवका दृष्टिले भने भारतभन्दा संवेदनशील रहेको यहाँको निरन्तरको राजनीतिक अस्थरताले समेत पुष्टि गर्छ। हामी नेपाली राजनीतिक तथा भौगोलिक अतिक्रमणबाट अछुतो रहे पनि हाम्रो धर्म तथा संस्कृति बचाउन कति सफल रह्यौं, यो जगजाहेरै छ। हाम्रो विशाल देशको आकार अहिलेको अवस्थामा हुनु पनि हाम्रो जीवन्त इतिहास हो। हाम्रो वैदिक परम्पराको सुरुआतका बारेमा केही अपुष्ट तथ्यगत जानकारी प्राप्त भए पनि यसका महान् पवित्र ग्रन्थहरूका बारेमा त्यस्तो तिथि, मिति तथा रचनाकारसहितको तथ्यगत जानकारी भने भेटिँदैन। यसो भए पनि यी ग्रन्थमा उल्लिखित सन्देशलाई पाश्चात्य तथा पूर्वीय पाँचौं कलमका (घरभित्रकै विभीषण) अनुयायीले खण्डन गर्ने मात्र नभई यिनलाई अनुसरण गर्न सुरु गरेको पाइन्छ। पहिचानको राजनीतिक भाष्य जेसुकै भए पनि यसको वास्तविक अर्थ धर्म, इतिहास तथा भाषा नै हो। धर्मले हामीलाई पथ प्रदर्शन गर्छ। इतिहासले अनुभवका आधारमा हामीलाई आत्मविश्वासी बन्न तथा विगतका अनुभवबाट वर्तमान तथा भविष्यमा तय गर्नुपर्ने विषयमा पाठ सिकाउँछ भने भाषाले भाइबन्धुलाई एकता सूत्रमा जोड्न मद्दत गर्छ।
कोरोना कहरका बीच हामीले आत्मनिर्भरता तथा मौलिकतामा जोड दिनुपर्नेमा कुनै दुईमत देखिँदैन। अर्कातिर छिमेकी शक्तिराष्ट्रहरूको होडबाजीबीच र टाढाको शक्तिराष्ट्रको समेत गहन अभिरुचिका सन्दर्भमा मौलिकता तथा आत्मनिर्भरता नै हाम्रो स्वतन्त्र पहिचानका लागि आवश्यक शर्तहरू हुन्। चार वेदहरूमा उल्लेख गरिएका आयुर्वेद औषधि विज्ञान, सिर्जनात्मक कला तथा संगीत, जीविकोपार्जनका लागि शिल्पकला तथा अर्थशास्त्रसम्बन्धी शिक्षा र सुरक्षाका लागि धनुर्वेदको युद्धकौशल नै हाम्रा मौलिकता हुन्। यी हाम्रा धर्म, इतिहास र भाषासमेत हुन्। यिनिहरूलाई यही सतम (संस्कृतबाट जन्मेका) समूहका अन्य भाषामा सरल अनुवाद गरी यी भाषाका नागरिकमा जबर्जस्ती थोपरिएको गलत व्याख्या निराकरण गर्नु राज्य तथा नागरिक समाजको कर्तव्यसमेत हो। हाम्रो मौलिकतामाथिको पहिलो सिकार शिक्षा प्रणाली र संस्कृति भएको छ भने अर्को सिकार हाम्रो आफ्नै उपचार पद्धति आयुर्वेदसमेत भएको छ। कोरोना कहरमा शतप्रतिशत बिरामीको सुपथ मूल्यमा सफल उपचार गरेको आयुर्वेद पद्धतिका बारेमा विदेशी अन्य पद्धतिको र तिनका प्रतिनिधिको विमति त प्रायोजित नै देखिन्छ तर सरकारको उदासीनताले आत्मनिर्भरता र मौलिकता ओठेभक्ति मात्र हो कि भन्नेमा संशय पैदा गरेको छ।