आयोजना प्रभावितलाई क्षतिपूर्ति

आयोजना प्रभावितलाई क्षतिपूर्ति

बेनी : निर्माणको अन्तिम चरणमा पुगेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको तारमुनि पर्ने घर–जग्गाको १० करोड रुपैयाँ क्षतिपूर्ति वितरण सुरु भएको छ । 

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दाना जोड्ने प्रसारण लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति बाँड्न लागेको हो । ३९ दशमलव ६ किलोमिटर दूरीको प्रसारण लाइनको मध्यभागबाट दायाँ र बायाँ १५÷१५ मिटरभित्र पर्ने निजी जग्गा र संरचनाका धनीलाई क्षतिपूर्ति वितरण गर्न सुरु गरेको आयोजनाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्बन्धित स्थानीय तह र वडाका जनप्रतिनिधिसहितको बैठकले क्षतिपूर्तिको दररेट निर्धारण गरेपछि वितरणको बाटो खुलेको जानकारी दिए । 

प्राविधिक समितिले तयार पारेको प्रतिवेदन तथा मूल्यांकनका आधारमा म्याग्दी खण्डमा पर्ने अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका घरजग्गाधनीलाई टावर प्याडमा निर्धारण भएको मुआब्जाको १० देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । 

म्याग्दी खण्डमा तारमुनि पर्ने ४९५ कित्ता जग्गा र १९ वटा संरचनाका धनीलाई १० करोड ५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । प्रसारण लाइनको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा संरचना निर्माण र रूखबिरुवा रोप्न नपाउने भएकाले क्षतिपूर्ति दिने व्यवस्था छ । 

लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गामा खेतीबाली लगाउन भने पाइन्छ । क्षतिपूर्ति लिनका लागि बैंकमा खाता खोलेर वडा कार्यालयको सिफारिससहितका कागजात लिएर बेनीस्थित कार्यालयमा सम्पर्क गर्न आयोजना प्रमुख चन्दनकुमार घोषले प्रभावितलाई आग्रह गरे ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा न. १, २, ३, ६, ७, रघुगंगा गाउँपालिकाको १, २ र ३ तथा पर्वतको कुश्मा नगरपालिकाको १, २, जलजला गाउँपालिकाको १, २, ३, ६, ७ र ८ नम्बर वडामा प्रसारण लाइन निर्माण भएको छ । 

कुल ११४ वटामध्ये ११२ वटा टावर बनिसकेको छ । टावर निर्माण भएका १०० घरधुरीलाई यसअघि ८ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । पर्वतमा ५५ र म्याग्दीमा ४० रोपनी निजी जग्गा अधिग्रहण भएको थियो । 
पर्वतमा ३ करोड ९७ लाख र म्याग्दीमा ४ करोड १७ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ । टावर निर्माण हुने जग्गालाई चार वर्गमा बाँडेर प्रतिरोपनी पाँच लाखदेखि १३ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । 

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेसन बनाउन लागिएको हो । 

प्रसारण लाइन र सबस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । 
२०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको बिबाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो । 

पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजीकरणमा गत पुस महिनादेखि सञ्चालन भएको थियो । खुर्कोट र दानाको सबस्टेसनमा उपकरण जडान भइसकेको छ । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत् आयोजनाको ५ मेगावाट विद्युत् खेर गएको छ । 
१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सबस्टेसनसँगै उत्पादन सुरु गर्ने तयारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.