वीरगन्जमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द

वीरगन्जमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द

वीरगन्ज : असार–साउनमा कोरोनाको हटस्पट बनेको वीरगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरिएको छ । वीरगन्ज महानगरपालिकाले महानगरमा गत बुधबारदेखि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरेको हो । 

संघ सरकारले कोरोनाको परीक्षण र उपचारसम्बन्धित व्यक्ति आफैले शुल्क तिरेर गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य पनि बन्द गरिदिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते देशभरका सरकारी अस्पताल र प्रयोशगालालाई पठाएको पत्रमा आर्थिक रुपमा विपन्न, ज्येष्ठ नागरिक एक महिला, अपाङगता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निशुल्क गरिने उल्लेख छ ।

 यी बाहेक अन्यले परिक्षण र उपचारको खर्च सम्बन्धित व्याक्ति आफैले व्यवहोर्नु पर्ने सरकारको निर्णय छ । तर मन्त्रालयको पत्रमा संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन रोक्ने व्यवहोरा उल्लेख नै नभएपनि पर्सामा वीरगन्ज महानगरपालिकाले भने कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरिदिएको हो । 

संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाको हुन्छ । तर महानगरपालिकाले मन्त्रालयले वीरगन्जस्थित नारायणी अस्पताल र प्रयोगशालालाई पठाएकै पत्रको आधारमा बुधबारदेखि कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरेको हो।

यसअघि महानगरमा कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खट्दै आएका २१ जना स्वास्थ्यकर्मीलाइ महानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार देखि नै पहिले कार्यरत स्वास्थ्य संस्थामा पठाइ सकेको छ । 

सरकारले नै शुल्क  लाग्ने निर्णय गरेपछि महानगरमा कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन  दुवै कार्य बन्द गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख  अरुण कुमार महत्तोले बताए । 

मन्त्रालयबाट आएको निर्देशन सहितको पत्र बारे नारायणी अस्पतालले महानगरपालिकामा जानकारी गराएपछि महानगरमा बुधबारदेखि कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन  कार्य बन्द गरिएको उनले बताए । 

नारायणी अस्पतालले निशुल्क स्वाब परिक्षण नगर्ने जानकारी गराएपछि महानगरपालिकाले कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरिएको उनले बताए ।  महत्तोले भने, ' हामीले  स्वाब संकलन गरेर अस्पतालको प्रयोगशालामा पठाउँदा अस्पतालले प्रति स्वाबको २ हजार रुपैया बिल काट्नु पर्छ भन्यो, नत्र परीक्षण हुँदैन भन्ने जवाफ दियो, त्यसपछि महानगरपालिकाले  बाध्य भएर यो निर्णय गर्नु परेको हो । 

दुवै सेवा बन्द  भएपछि यसअघि कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा बोलाएर खटाइएका स्वास्थ्यकर्मीलाई महानगपालिकाले सम्बन्धित स्वास्थ्य चौकीमा फिर्ता पठाइएको जानकारी पनि उनले दिए । 

महानगरका नगर प्रमुख विजय सरावगीले पनि गत बुधबारदेखि कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको बताए । सरकारको निर्देशन सहित आएको पत्र बारे नारायणी अस्पतालले जानकारी गराएपछि यस विषयमा प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेर कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको सरावगीले बताए । 

सरावगीले भने,'यस विषयमा सिडिओसँग पनि छलफल गरयौं, उहाँले पनि बन्द गरिदिनुस् भन्नु भयो, त्यसपछि बन्द गरिएको हो ।' तर आर्थिक रुपमा विपन्न , ज्येष्ठ नागरिक , एक महिला , अपाङगता भएका व्याक्ति, सफाइकर्मीको हकमा भने कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द नगरिएको उनले प्रष्ट पारे । 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले भने कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द नै गर्न आफुले महानगरलाइ नभनेको दाबी गरे । उनले भने,' बन्द नै गर्नुपर्छ भनेर मैले भनेकै होइन , यहा अरुलाइ दोष देखाउन सजिलो हुन्छ , सरकारको पछिल्लो निर्णय बारे के गर्ने विषयमा नगरप्रमुखसँग छलफल मात्रै भएको हो ।'

मन्त्रालयले पठाएको पत्रमा परिक्षण र उपचार मात्रै अब निशुल्क नहुने उल्लेख रहेको तर संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनका विषयमा सरकारको कुनै निर्देशन नआएको पनि उनले बताए । 

उनले भने,' कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य , स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाले नै गर्नुपर्ने हुन्छ, त्यसैले महानगरले बन्द गर्न मिल्दैन ,यसका लागि महानगर आफैले व्यवस्था गर्नु पर्छ ।'

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले महानगरपालिकाले स्वास्थ्य कार्यालयसंग कुनै समन्वय नै नगरि अचानक कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन दुवै कार्य बन्द गरेको बताए । 

मन्त्रालयले परिक्षण र उपचारका विषयमा  अस्पताल र  प्रयोगशालालाइ मात्रै परिपत्र गरेको तर पालिकाहरुलाइ भने कुनै निर्देशन नदिएको उनले बताए । उनले भने ,‘मन्त्रालयले पठाएको पत्रमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन पनि रोक्नु भनेर कहि कतै उल्लेख गरिएको छैन, तर महानगरपालिकाले अचानक बुधबारदेखि दुवै कार्य बन्द गरिदिएको छ ।'

कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको जिम्मेवारी सम्बन्धित पालिकाले नै गर्नुपर्ने भन्दै उनले भने, 'तर महानगरले के कति कारणले बन्द गरेको हो स्वास्थ्य कार्यालयलाइ थाहा भएन ।' पर्सामा रहेका १४ पालिका मध्ये अन्य १३ पालिकामा भने कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइरहेको जानकारी पनि उनले दिए । संक्रमण फेरि तीब्र गतिमा फैलने जोखिम महानगरमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द हुँदा यसले संक्रमण झन फैलाउने जोखिम बढेको ठाकुरले बताए । 

नारायणी  अस्पतालका चिकित्सक उदय नारायण सिंहले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरिँदा महानगरमा फेरि असार साउनकै जस्तै संक्रमण तीब्र गतिमा फैलने जोखिम देखिएको बताए । 

उनले भने, 'अहिले भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी परीक्षण भएन भने अब फेरि समुदायस्तरमै संक्रमण फैलने जोखिम बढेको छ ।'

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, कार्त्तिक १८ गते सम्म वीगन्ज महानगरका मात्रै ६ हजार जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा २ हजार ६३ जनामा संक्रमण भेटिएको थियो । जसमध्ये अहिले होम आइसोलेसनमा ५३ जना मात्रै रहेको र अरु निको भएर संक्रमणमुक्त भइसकेको स्वास्थ्य शाखाका जहीर अन्सारीले जानकारी दिए ।      


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.