सडक अलपत्र
बेनी : नेपाली कांग्रेसका नेता जिपछिरिङ लामा सञ्चालक रहेको लामा–समानान्तर जेभीले ठेक्का लिएको म्याग्दीको बेनी–दरवाङ सडक आयोजना अलपत्र परेको छ। सम्झौताको म्याद सकिँदा सडकको भौतिक प्रगति आधा मात्रै भएको छ।
लामा दोलखाका कांग्रेस नेता हुन्। अच्युत खरेल सञ्चालक रहेको समानान्तर र लामा निर्माण कम्पनीले २०७४ असोज ४ गते बेनीदेखि १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्रेसहित स्तरोन्नति गर्ने ठेक्का लिएको थियो। ११ मिटर फराकिलो र सात मिटर चौडाइमा कालोपत्रे गर्ने लक्ष्य छ। जिल्लाका कतिपय विकास आयोजनाले लकडाउनमा पनि निर्माणको कामलाई निरन्तरता दिएका थिए। रोकिएका धेरै आयोजनाका ठेकेदार काममा फर्किएका छन्। तर, बेनी–दरवाङ सडकका ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेको छ। हालसम्म २२ करोड ३५ लाख रुपैयाँ भुक्तानी लगेको ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको प्राविधिक बताउँछन्। २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको ठेक्का सम्झौताको गत असोज २३ गतेसम्मका लागि थपिएको थियो।
पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख नवराज पौडेलले म्याद थपसँगै ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए। ‘काममा फर्किन ठेकेदारलाई चार वटा पत्र पठाए पनि रेस्पोन्स पाएनौं’, उनले भने, ‘कार्यालय, ठेकेदार, जनप्रतिनिधि र प्रशासनबीच छलफल गरेर गति दिन पहल गरेका छौ।’ ठेकेदारलाई काममा लगाउन नसके धरौटी जफत गर्न, कालोसूचीमा राख्न र ठेक्का तोड्न कार्यालयलाई दबाब परेको छ।
मंगला, मालिका र धवलागिरि गाँउपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २०६३ मा ट्याक खुलेको बेनी–दरवाङ सडकलाई म्याग्दीको ‘लाइफ लाइन’ भनिन्छ। बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध हुने यो सडक हिउँदमा धुलाम्मे हुने सवारी चालक ओमप्रकाश विकले बताए। साँधुरो र ग्रेड नमिलेको सडकमा नाली छैन। बर्खामा खसेको पहिरोले हिलो जम्ने सडक हिउँदसँगै धुलाम्मे बनेको छ। जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने सवारी चालक जीवन थापाले बताए। ‘सजिलो हुने हो भने ३० मिनेटमा यात्रा गर्न सकिने हो,’ उनले भने ‘जीर्ण सडकका कारण बेनीदेखि दरवाङ पुग्न साढे २ घण्टा लाग्छ।’
डोजर चलाएर भत्काइएको पाखो त्यसै छोड्दा सडक आसपासका बस्तीमा पहिरोको जोखिम बढेको बेनी–६ डम्मराकी लक्ष्मी थापाले बताइन्। तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो।
प्रतिक्रिया दिनुहोस !