भारतीय नाकाबाट निरन्तर आवतजावत : फेरि वीरगन्ज ‘हटस्पट’ बन्ने चिकित्सकको चिन्ता

भारतीय नाकाबाट निरन्तर आवतजावत : फेरि वीरगन्ज ‘हटस्पट’ बन्ने चिकित्सकको चिन्ता

वीरगन्ज : कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिम कायम रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय नाका कात्तिक ३० सम्मका लागि सिल नै राखेको छ। तर भारतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार वीरगन्ज नाका भने अघोषित रुपममा खुला छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा अहिले पनि औसतमा दैनिक ५० हजार भन्दा बढी संक्रमित थपिनेक्रम जारी छ। भारतसँगै खुला सीमा जोडिएको वीरगन्ज नाका हँुदै अहिले चाडपर्वको समयमा दैनिक हजारौ मानिस ओहोरदोहोर गरिरहेका छन्। 

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि दुवै देशले आ–आफनो सीमा नाका चैत ११ देखि सिल गरेका थिए। भारतले आफनो तर्फको नाका कात्तिक ६ गतेदेखि एकतर्फी रुपमा खोलेको छ। तर नेपाल तर्फको नाका अझै सिल नै छ। नाका सिल भए पनि सीमा वारपार गर्नमा भने कुनै रोकटोक छैन।

अहिले तिहार र छठ पर्व नजिकिदै गएपछि वीरगन्जका स्थानीय दैनिक सयौंको संख्यामा सीमावर्ती बजार रक्सौल गइराखेका छन्। सीमा नाकामा चेकजाँच नहुँदा सयौँ भारतीयसमेत निर्वाध रुपमा नेपाल आइरहेका छन्। 

सीमा क्षेत्रमा २४ घण्टा सुरक्षा निगरानी भए पनि पैदल र मोटरसाइकलमा ओहोरदोहोर गर्ने दुवै देशका नागरिकमाथि सुरक्षाकर्मीले कुनै सोधपुछ गरेको देखिँदैन। भारतले नाका खोलेपछि केही दिन नेपाली पक्षले कडाईं गरे पनि अहिले सरकारको निर्णयमा मात्र सीमा नाका सिल भएको देखिन्छ। 

वीरगन्जबाट रक्सौल जाने सवारीबाहेक रिक्सा र टयाम्पुलाई भने सशस्त्र प्रहरीले वीरगन्ज भन्सारको ढाट र शंकराचार्य प्रवेशद्वारमा रोक्ने गरेको छ। त्यहाबाट मानिसहरु पैदल हिँडेर रक्सौल र वीरगन्ज पुग्ने गरेका छन्। 

सीमा नाकामा हेल्थ डेस्क स्थपना गरिएको भए पनि परीक्षणको काम भने भएको देखिँदैन। 

‘उताबाट यता आउनेहरुको कुनै लगत नै राखिएको छैन’, नाम नभन्ने शर्तमा एक कर्मचारीले भने, ‘केही दिनयता हामीले चेकजाँच पनि गर्न छोडेका छौँ।’

सीमा क्षेत्रमा लापरवाही हुँदा वीरगन्जमा पुनः संक्रमणको खतरा बढ्ने चिकित्सकको भनाइ छ।  नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंह भन्छन् ,‘सरकारले नाका सील नै छ  भन्छ, तर नाकामा बिना रोकटोक र स्वास्थ्य चेकजाँच बिना हजारौँ मान्छे दैनिक ओहोरदोहोर गरिराखेका छन्। यसले वीरगन्जमा फेरि संक्रमण बढ्ने देखिन्छ।’

पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङ भने सरकारको निर्णय अनुसार नाका कात्तिक ३० गतेसम्मका लागि सिल नै रहेको दाबी गर्छन्। 

स्वास्थ्य उपचार जस्ता जानै पर्ने बाध्यतात्मक अवस्थाबाहेक अन्य कसैलाई पनि नाकामा आउजाउ गर्न  नदिने सरकारको निर्णय कार्यान्वयन भइरहेको उनको भनाइ छ। 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्उनले पनि मालवाहक सवारीसाधनबाहेक मानिसको आउजाउ नाकामा रोकिएको बताउँछन्।

‘अहिले चाडपर्वमा नाकामा मानिसको चहल बढेको हुन सक्छ। तर  हामीले सीमा वारपार गर्न दिएका छैनौँ’, उनले भने, ‘त्यो भएको पाइए तत्काल रोकिने छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.