हङकङ आगलागीका मृतक ११ पुगे
![हङकङ आगलागीका मृतक ११ पुगे](https://annapurnapost.prixacdn.net/media/albums/hongkong-fire_20201118012120_DxlQN0bL64.jpg)
हङकङ : हङकङमा एक नेपाली रेस्टुरेन्टमा आइतबार साँझ आगलागी हुँदा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ। प्रहरीले घटनामा घाइते भएकाहरूलाई तत्काल उद्धार गरे पनि १० वर्र्षीय बालकसहित सात जनाको मृत्यु भएको थियो। गम्भीर घाइतेमध्ये चार जनाको मंगलबार मृत्यु भएको हो।
नेपालीकोे बाक्लोे बसोबास रहेको याउमातेईस्थित क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्ने जिरेखुर्सानी रेस्टुरेन्टमा स्थानीय समयअनुसार राति ८ बजे आगो लागेको थियो। त्यस बेला बागलुङ घर भई हङकङलाई कर्मथलो बनाएका राज कँडेलका छोराको जन्मदिन मनाउने क्रम चलिरहेको थियो।
क्लबका रूपमा दर्ता भएको उक्त रेस्टुरेन्ट अनधिकृत रूपमा (भट्टी पसल) सञ्चालन भएको पाइएको छ।
सानो ठाउँ, आपत्कालीन द्वार, आगलागी सूचक ढोका, आगलागी सहायता सामग्रीसमेत नभएकाले धूवाँबाट निसास्सिएर हताहती भएको जनाइएको छ। सानो ढोकाबाट हतारमा निस्कन गाह्रो भएको र कतिपय व्यक्ति झ्यालबाट भाग्दा गम्भीर घाइते भएको स्थानीय बताउँछन्।
हङकङ प्रहरीले उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ। हङकङमा दशककै सबैभन्दा भयानक आगलागी र हताहती भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनास्थलको निरीक्षण गर्दै मृतकप्रति संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले घाइतेको उपचार र दुर्घटनाको कारण यथाशक्य पत्ता लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
नेपालीको महान् पर्व तिहार (भाइटीका)को अघिल्लो दिन भएको उक्त घटनाले हङकङेली नेपाली स्तब्ध बनेका छन्। कतिपय हङकङेली नेपालीले सोमबारको भाइटीका, पार्टीलगायत रद्द गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)