राउटेलाई उधारो आश्वासन
दैलेख : प्रदेश सरकारले दिने भनेको थप भत्ता नपाएपछि राउटेले असन्तुष्टि व्यक्त गरेका छन्। गत कात्तिक ८ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटेलाई थप दुई हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका थिए।
सुर्खेतको चिङहाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमै पुगेर उनले मासिक दुई हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता जनाएका थिए। सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओलीसँगै पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका थिए।
तर, हालसम्म दिने भनिएको भत्ता नआएको राउटेको गुनासो छ। हाल संघीय सरकारले प्रतिराउटे मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ। प्रदेश सरकारले घोषणा गरेको रकम नपाएको भन्दै राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘मुख्यमन्त्रीले भनेपछि अब पाँच हजार भत्ता आउँछ होला भनेर ढुक्क थियौं, तर आएन।’ प्रदेशले दिने भत्ता नआए पनि राउटेले संघीय सरकारमार्फत पाउने तीन हजार रुपैयाँ भत्ता भने बुझेका छन्।
हाल सुर्खेतको मटेलाखोला किनारको तामाखानीमा रहेको राउटे बस्तीमा पुगेर गुराँस गाउँपालिकाले भत्ता वितरण गरेको हो। राउटे समुदायका सदस्यहरूलाई कात्तिक महिनाको प्रतिव्यक्ति तीन हजारका दरले भत्ता वितरण गरिएको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले बताए। फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिलाई गुराँस गाउँपालिकाले स्थायी ठेगाना भएको परिचयपत्र वितरण गरेर गाउँपालिकामार्फत भत्ता दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !