भोलिको शिक्षालय
संविधानमा निःशुल्क माध्यमिक शिक्षा उल्लेख गरेपछि सरकारी निकायले अभिभावकबाट शुल्क असुल्न मिल्ने हो र ?
वास्तविक ज्ञानलाई पूर्वीय दर्शनले प्रमा (वास्तविक ज्ञान) परिभाषित गर्छ भने यसको प्रामाणिकतालाई प्रमाण भनिन्छ। अनुभव तथा मननबाट प्रमालाई प्रमाणित गर्न सकिन्छ। पूर्वीय षड्दर्शनमा प्रमालाई प्रत्यक्ष (देखेर), अनुमान (घटनाको विश्लेशण गरेर), उपमान (तुलना गरेर), अर्थापत्ति (अर्थको उत्पत्ति गरेर), अभाव (अनुपस्थितिको विश्लेशण गरेर) र शब्द (नामाकरण गरेर) का माध्यमबाट प्रमाणित गर्न सकिन्छ। प्रमाको प्रवाहलाई निरन्तर गर्नका लागि प्रमाको विशिष्टीकरण, यसको प्रवाहका लागि स्रोतको व्यवस्थापन तथा यसको सुनिश्चित प्रवाहका लागि संस्थागत संरचनाको सुनिश्चितता गर्नुपर्छ। पहिलो कार्यका लागि आवश्यक ज्ञान, विज्ञान तथा मनोविज्ञानलाई केन्द्रमा राखेर साधारण शिक्षा तथा व्यावसायिक शिक्षामा विभक्त गर्ने गरिएको छ। दोस्रो कार्यका लागि शिक्षक, शैक्षिक सामग्री तथा शैक्षिक संस्था आवश्यक पर्छ। तेस्रो कार्यका लागि दीर्घकालीन नीति, सो नीतिअनुरूपको कानुनी संरचना तथा दिगो र सुनिश्चित स्रोत परिचालनको आवश्यकता पर्छ।
शिक्षा भनेको के हो ? यो बुद्धि विलासका लागि मात्र आवश्यक साधन हो कि सामाजिक सद्भाव तथा समाज सञ्चालनका लागि आवश्यक उपभोग्य सेवा तथा सामग्रीको उत्पादन र सोको आगामी पुस्ताका लागि समेत सामाजिक पुस्तान्तरण पनि हो ?
यो त भयो उपयोगिताका आधारमा शिक्षाको तात्विक तथा वस्तुगत विश्लेषण। विषयगत आधारमा शिक्षा के हो त ? यो पाठ्यपुस्तक तथा शिक्षक र विद्यार्थीबीचको ज्ञान, विज्ञान तथा मनोविज्ञानको दुईपक्षीय संवाद मात्र हो ? अझ यसभन्दा माथि उठेर शैक्षिक प्रतिष्ठानमा गरिने विश्लेषण, प्रयोग तथा मन्थन मात्र हो ? त्यसभन्दा पनि माथि उठेर समाजको वर्तमान तथा भविष्यको आवश्यकतालाई पनि योगदान दिन सक्ने बौद्धिक तथा मानवीय स्रोत पनि हो ? यो साधारण शिक्षा (साधारण तथा प्राविधिक) र व्यावसायिक (प्राविधिक तथा पेसागत) एकै किसिमको हो ? पञ्चायती सत्ताले विभक्त गरेको प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तथा उच्च शिक्षाको सबल पक्ष केके हुन् ? यो विभाजनलाई परिवर्तन गर्नुपर्ने प्राज्ञिक, व्यावसायिक तथा सामाजिक आधार के–के थिए ? बहुदलीय सत्ताले विभक्त गरेको पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको अघिल्लो सत्ताको वर्गीकरणका बारेमा विश्लेषण के हो ? नयाँ सत्ताले गरेको परिभाषाले अघिल्लो सत्ताको प्राज्ञिक पक्षलाई कति अनुसरण गर्न सक्यो कि राजनीतिक पूर्वाग्रहका आधारमा नजरअन्दाज भयो ? गणतान्त्रिक सत्ताले गरेको पूर्वप्राथमिक, आधारभूत, माध्यमिक तथा उच्च शिक्षाको वर्गीकरणलाई उन्नत तथा प्राज्ञिक र व्यावसायिक दृष्टिले पनि सम्यक भन्न सकिन्छ ?
पूर्वीय दर्शनले ज्ञानको प्रामाणिकताका लागि अनुभव तथा मननलाई प्रमाणको आधार मानेको देखिन्छ। मनन त प्राज्ञिक प्रमाण नै हुने भो। अनुभवले त कौशल तथा पेसागत दक्षतालाई महत्त्व दिन्छ। यही अनुभवबाट सिर्जित प्रमाको प्रमाणलाई सर्वव्यापी रूपमा व्यावसायिक शिक्षा भनेर स्विकारिएको छ। हाम्रो सनातन दर्शनले ३५०० वर्षपूर्व परिभाषित गरिसकेको व्यावसायिक शिक्षाको परिभाषा तथा वर्गीकरणलाई अहिलेको शिक्षाको परिभाषाले बिर्सेको हो कि गलत सावित गरेको हो ? शिक्षाको प्राज्ञिक वैधताका हिसाबले प्राविधिक धार नामाकरण गरिएको नौ बाह्र र प्राविधिक एसईई तथा डिप्लोमामा प्राज्ञिक तथा व्यावसायिक मान्यता तथा एकरूपतालाई अहिलेको नयाँ परिभाषाले समेटेको छ ?
वैदिक परम्परामा शिक्षकलाई गुरु भनिएको छ। ज्ञान तथा सफलता (मोक्ष) का लागि गुरुलाई माध्यम मानिएको छ। अज्ञानताबाट ज्ञानतर्फ लैजाने माध्यम गुरु मानिएको छ। सबै प्रकारका स्वभावजन्य गुणबाट माथि उठेको (गुणातीत) तथा पूर्वाग्रहबाट माथि उठेको (रूपातीत) पात्रलाई गुरु भनिएको छ। यिनै चरित्र भएको सत्पात्र नै आधुनिक शिक्षक हुनुपर्ने हो। यस्तै सत्पात्रकहाँ आफ्ना बालबालिकालाई पठाउने र उनकै सान्निध्यमा जीविकोपार्जनका लागि ज्ञान आर्जन तथा बन्दोबस्तीका लागि सम्पूर्ण कार्यसमेत गर्ने स्थललाई गुरुकुल भनिन्थ्यो। बन्दोबस्ती तथा ज्ञान आर्जनमा लाग्ने सम्पूर्ण खर्च गुरुकुलले व्यहोर्ने प्रचलन थियो। यही गुरुकुल अहिलेको व्यावसायिक शिक्षालय हो। यहाँ अध्ययन गरिने शिक्षा कार्यस्थलको सिकाइमा आधारित शिक्षा नै हो। यही पूर्वीय दर्शनले प्रतिपादित गरेको शिक्षण प्रणालीलाई पश्चिमाहरूले एप्रेन्टिसिप भनेर नामाकरण गरी यसको प्रभावकारिता, दिगोपना तथा गुणस्तरीयताको प्रवर्धन गरे। हामीले हाम्रै मौलिक प्राज्ञिक सम्पत्तिको दाबी तथा संरक्षण गर्नु त कता–कता, यसको नक्कल गर्न पनि अक्कल पु¥याउन सकेका छैनौं। गुरुकुलमा गरिने बन्दोबस्तीको व्यवस्थाका लागि त्यहाँ उपलब्ध स्रोत, साधन तथा पूर्वाधार नै मुख्य आधार हुने कुरा तर्कसंगत नै हुन्छ। कृषि, पशुपालन तथा सामान्य कालीगढीको व्यावसायिक परिमाणको मापन अनुमान गर्न नसकिए पनि
यसले शिक्षालयको विस्तारको आधारलाई अनुमान गर्न सकिन्छ। यी क्रियाकलापको परिमाण तथा सम्भावित वृद्धिको अनुमानले शिक्षा विस्तारले व्यवसाय प्रवर्धन होइन कि व्यवसाय प्रवर्धनले शिक्षा विस्तार सुनिश्चित गर्न सक्ने यथार्थलाई पुनर्पुष्टि गर्छ। अहिले एउटा गाउँपालिका एउटा शिक्षालय होइन, एउटा गाउँपालिका एउटा व्यवसायका आधारमा शिक्षालयको विस्तार गर्नु तर्कसंगत देखिन्छ।
माथि उल्लेख गरिएको शिक्षकको पात्रताका लागि औपचारिक तथा अनौपचारिक अध्ययन, पेसागत अनुभव तथा क्षमता विकास तालिम, प्रशिक्षण अनुमतिपत्रको व्यवस्था र आवधिक प्रशिक्षण अनुगमन तथा क्षमता विकासका माध्यमबाट शिक्षकको पात्रता विकास गर्न सकिन्छ। शिक्षकको पर्याप्त व्यवस्था, शिक्षकको समयसापेक्ष क्षमता विकास तथा शिक्षण प्रशिक्षण वातावरणका लागि समुचित स्रोत व्यवस्थापन गरेपछि मात्र शिक्षा प्रवाह गर्न सकिन्छ। हाल विस्तार गरिएका शिक्षालयमा के पर्याप्त शिक्षक उपलब्ध छन् ? तिनीहरूलाई आवश्यक पर्ने तलब तथा सुविधाका लागि के बजेट व्यवस्थापन गरिएको छ ? शिक्षण प्रशिक्षण वातावरणका लागि नगद तथा जिन्सीको के व्यवस्था छ ? संविधानमा निःशुल्क माध्यमिक शिक्षा उल्लेख गरेपछि निजी शिक्षालयको त कुरै छाडौं, के सरकारी निकायले अभिभावकबाट शुल्क असुल्न मिल्ने हो ?
पछिल्लोपटक सरकारले मेहनतका साथ शिक्षा नीति तयार गरे पनि यसलाई सार्वजनिक गर्न भने भ्याइ सकेको छैन। यही नीतिका आधारमा शिक्षा एन निर्माण गरिने भएकाले यसका लागि बन्द कोठाहरूमा जतिसुकै मेहनत गरे पनि अनुमोदित नीति सार्वजनिक नभएसम्म त्यसको खासै महत्त्व हुने कुरै भएन। शिक्षा नीतिलाई सरकारले अनुमोदन गरी सार्वजनिक नगरेसम्म यसमा रहेका भनिएका प्रावधान सोम शर्माका सातुसरह नै हुने भए। यही बीचमा शिक्षामा भएका क्रियाकलाप पुरानै संरचनाअनुसार भएगरेका मान्नुपर्ने हुन्छ। यसरी हेर्दा साधारण शिक्षा तथा व्यावसायिक शिक्षाको महत्तालाई विचार नगरी दुवैलाई एउटै खालको परिभाषाभित्र राखेर दुवैलाई एकै किसिमको शिक्षण प्रशिक्षणका माध्यमबाट प्रवाह गर्न सकिन्छ भन्ने भान पर्न गएको छ।
व्यावसायिक शिक्षाका लागि अपरिहार्य व्यवसायमुखी कार्यस्थलको शिक्षणलाई वर्तमान विस्तारका आधारले पूरै नजरअन्दाज गरेको देखिएको छ। रोजगार तथा स्वरोजगारका लागि पूर्वसेवाकालीन तालिम स्थलका रूपमा विकास गर्नुपर्ने शिक्षालय दक्षता तथा सक्षमताविनाका प्रमाणपत्रधारी विद्यार्थीको उच्च आँकडा तयार गर्ने प्रयोगशाला त भएका छैनन् ? गुरुकुलको क्षमता तथा आवश्यकताबाट निर्देशित विद्यार्थी क्षमताको जीवन्त उदाहरण हामीले किन आत्मसात गर्न हिच्किचाउनुपरेको ? यसलाईन ीतिगत अभाव भन्ने कि ? अस्पष्टताका बीचमा भएगरेका कामलाई संस्थागत संरचना भएको अथवा नभएको भनेर विवेचना गर्नुको साटो नियमित प्रशासनिक झाराटराइ भन्ने आरोप लागेमा यसको खण्डन कसले र कसरी गर्ने ? व्यावसायिक शिक्षा मात्र होइन, शिक्षा क्षेत्रमा संस्थागत संरचना विकास तथा प्रवर्धनका पक्षमा भएका स्थापित संस्थाहरूलाई निरुत्साहित गरी कतै समानान्तर संस्था खडा गर्ने कसरत त भएको छैन ?
अहिलेसम्म गरिएको विवेचनाले वैदिक सनातन दर्शनले शिक्षाबारेमा गरेको परिभाषा स्मरण गर्नु उत्तिकै सान्दर्भिक हुन आउँछ। वैदिक सनातन दर्शनले शिक्षामा नैतिकता, तर्कशीलता, सत्य तथा बोधगम्य विश्लेषणहरूलाई अपरिहार्य मानेको थियो। यसैलाई आधुनिक व्यावसायिक शिक्षामा पुनः संश्लेषण गर्दा नैतिकतालाई सहकार्य, तर्कशीलतालाई सिर्जनशीलता, सत्यलाई ज्ञान तथा कौशल र बोधगम्य विश्लेषणलाई उद्यमशीलतामा रूपान्तरित तथा परिभाषित गर्नुपर्ने देखिन्छ। अहिलेसम्म गरिएको शिक्षाको वर्तमान तथा भविष्यको समेत विश्लेषण पूर्वीय दर्शनमा आधारित भए पनि यो पश्चिमा दर्शनसँग खपत तथा उपभोगका हिसाबले विरोधाभाषी छ भन्ने लाग्दैन। व्यावसायिक शिक्षाको परिभाषा पश्चिमा दर्शनले पूर्वकै अनुसरण गरेको देखिन्छ भलै पूर्वीयहरू आफूलाई आधुनिक देखाउने नाममा यसलाई नस्विकारून्।
हालसम्म गरिएको शिक्षा, शिक्षालय तथा शैक्षिक वातावरणका लागि आवश्यक पर्ने संस्थागत संरचनाको स्पष्ट खाका तयार नभएको भए पनि उपलब्ध प्रारम्भिक छलफल तथा मस्यौदाका आधारमा केही आकलन गर्न सकिन्छ। प्रस्तावित अथवा सम्भावित नीतिगत तथा कानुनी संरचना कार्यान्वयनमा चार प्रकारका वैधतामा विचार पु¥याउनुपर्ने देखिन्छ। समाजवाद तथा माध्यमिक शिक्षा निःशुल्क भनी संविधानमै उल्लेख गरेको अवस्थामा प्रस्तावित व्यवस्थाको राजनीतिक वैधता। शिक्षा तथा स्वास्थ्य सरकारको सम्पूर्ण जिम्मेवारी हुने लोककल्याणकारी व्यवस्थाको मर्मबमोजिम कार्यस्थलको सिकाइमा आधारित व्यावसायिक शिक्षा व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताका लागिसमेत कानुनी वैधता। शिक्षण प्रशिक्षण व्यवस्थापनको नीतिगत, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादनका लागि सामाजिक तथा पेसागत स्वीकार्यता सुनिश्चित हुनका लागि तयारी तथा क्षमताको वैधता। राजनीतिक, प्रशासनिक, व्यवस्थापकीय तथा शैक्षणिक कार्यान्वयनका क्षेत्रमा संलग्न सरकारी तथा निजी क्षेत्रका सबै व्यक्तिगत आग्रह–पूर्वाग्रहबाट माथि उठ्न नसकेको आरोप खेपिरहेको वर्तमान अवस्थामा संलग्न सबैका लागि नैतिक वैधता।
अन्त्यमा कार्यस्थलको सिकाइमा आधारित व्यावसायिक शिक्षा सम्पादनमा उत्पादन तथा रोजगारमा प्रत्यक्ष संलग्न निजी क्षेत्र निःशुल्क लाभाग्राही मात्र हो कि उसको पनि व्यावसायिक शिक्षा विकासमा नगद वा जिन्सीसहितको भौतिक सहभागिता हुनु जरुरी छ ? यसका लागि निजी क्षेत्रको स्वयम् सेवकीय भूमिका मात्र आवश्यक कि अनिवार्य शासकीय भूमिकासमेत ? प्रमाको प्रमाणीकरणमा शिक्षालयको एकाधिकार मात्र कि कार्यस्थलको सिकाइमा संलग्न उद्योग प्रतिष्ठान पनि सहभागी हुन सक्ने ?
उद्योग व्यवसायमा छिटोछिटो भइरहने नवसिर्जन अवलम्बनका लागि अन्य मुलुकको अनुभवबाट के हाम्रोजस्तो कम राष्ट्रिय आय भएको सरकारमात्र एक्लो प्रवर्धक हुन सक्छ ? हाम्रा शिक्षालय युवायुवती वयस्क हुने ठाउँ मात्र बनाउने कि उद्योग–व्यवसायीलाई समेत मुनाफा दिलाउन सक्छन् भनेर प्रमाणित गर्ने बौद्धिक व्यवसायस्थल (इन्टेलेक्चुअल इन्टरप्राइजेज) ? त्यसैले हाम्रो सनातन दर्शनको पवित्र ग्रन्थहरूमा कलियुगका सांस्कृतिक विचलनबारेमा जसरी भविष्यवाणी गरिएको थियो, त्यसैगरी शिक्षाका क्षेत्रमा अरू विद्वान्ले भोलि जे सोच्छन् शिक्षाविद्हरूले त्यो आजै सोच्छन् भनेर भोलिको शिक्षालयको प्रक्षेपण आजै गरी सनातनी कथनलाई कलियुगमा पनि सार्थक बनाउन सकिन्छ भनेर प्रमाणित गर्ने बेला भएन र ?
भोलिको शिक्षालयको प्रक्षेपण आजै गरी सनातनी कथनलाई कलियुगमा पनि सार्थक बनाउन सकिन्छ भनेर प्रमाणित गर्ने बेला भएन र ?