मलंगवा बन्द
मलंगवा : हुलाकी सडकको स्तरोन्नती र नेपाल-भारत सीमा खोल्नुपर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समिति सर्लाहीले मंगलबार सर्लाही सदरमुकाम मलंगवा बन्द गरेको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार मलंगवा बन्द गरिएको संघर्ष समितिले जनाएको छ । मंसिर २१ गतेदेखि सुरु गरिएको आन्दोलनको १० औं दिन सर्लाही सदरमुकाम मलंगवा बन्द गरिएको हो ।
आन्दोलनकारीहरुले बिहानैदेखि बजारका पसलहरु बन्द गराएका छन् । बन्दका कारण मलंगवाबाट आउने र जाने लामो तथा छोटो दुरीका सबारी साधनहरु चल्न सकेको छैन् । आन्दोलनकारीहरुले बिहानैदेखि चौक चौकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।
आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार मलंगवा बन्द गरिएको जिल्ला समन्वय समितिका सभापति तथा सर्वपक्षिय संघर्ष समितिका संयोजक मेथुर चौधरीले जानकारी दिएका छन् । हुलाकी सडकको स्तरोन्नती र नेपाल भारत सीमा खोलाउनु पर्ने माग राख्दै आन्दोलन सुरु गरिएको हो ।
बेर बेरको ताकेतामा कुनै सुनवाई नभएपछि मंसिर २१ गतेदेखि आन्दोलन सुरु गरिएको संयोजक चौधरीले बताएका छन् । ‘हुलाकी सडकको स्तरोन्नती हुन नसक्दा सडकको छेउछाउ बसोबास गर्ने गाउँका मानिसहरुको जनजीवन प्रभावित बनेको छ, 'संयोजक चौधरीले भने, 'हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुदाँ आवत जावतमा कठिनाई भएपछि स्तरोन्नतीको माग गरेका छौं ।'
नेपाल भारत सीमा बन्द हुदा सीमा क्षेत्रमा बसोबास गर्नेहरुले सास्ती भोग्नु परेको चौधरीले बताएका छन् । सीमा नाका बन्द हुदाँ कतिको बिहेवारी समेत प्रभावित भएको छ । सुख दुखमा आवत जावत गर्न पनि सकेका छैनन् । जानै परे चोरबाटो भएर आवत जावत गर्नु बाध्यता रहेको छ । खेतको बाटो भएर पैदल जानु परेको छ ।
संघर्ष समितिले नेपाल भारत सीमा खुल्ला गर्नुपर्ने, निर्माणाधिन हुलाकी राजमार्गको स्तरोन्नती हुनुपर्ने, हुलाकी सडक लगायत अन्य शाखा सडक र पुलहरुको गुणस्तरको छानबिन गर्नुपर्ने, हुलाकी सडक बनाउँदा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउनुपर्ने र हुलाकी राजमार्ग निर्माण कार्यको ठेक्काको म्याद नथपिनु पर्ने लागयतको ५ सुत्रिय माग राखेर आन्दोलनमा उत्रेका छन् ।
आन्दोलनको पहिलो दिन मंसिर २१ गते सर्लाही सदरमुकाम मलंगवामा मोटरसाइकल र्याली निकालिएको थियो । साथै सोही दिनदेखि मलंगवाको शहिद चौकमा अनिश्चित कालिन रिले अनशन पनि सुरु गरिएको हो । मंसिर २९ गते बेलुका ५ बजे जिल्लाका २०वटै स्थानीय तहमा मशाल जुलुस गरिएको थियो । मंसिर ३० गते घोषणा गरिएको कार्यक्रम अनुसार जिल्ला सदरमुकाम मलंगवा बन्द गरिएको छ । पुष १ गते जिल्ला नै बन्द गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।