जो गाडी बोक्थे

जो गाडी बोक्थे

मकवानपुर : थाहा नगरपालिका–५ तसरका हीराबहादुर घलान भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याएको सुनाउँथे। कथाजस्तो कुरा सुन्दा नयाँ पुस्ता छक्क पर्थे। भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्नेमध्येका उनै घलानको निधन भएको छ। वडाध्यक्ष विष्णुबहादुर गुरुङले घलानको ८९ वर्षको उमेरमा मंगलबार राति निधन भएको जानकारी दिए।

घलानले ०१३ सालमा त्रिभुवन राजपथ नबनेसम्म साना–ठूला गरी २३ वटा गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए। १७ वर्षको उमेरदेखि उक्त काममा लागेका उनले एउटा गाडी भीमफेदीबाट चित्लाङ हुँदै थानकोट पुर्‍याएको ९ रुपैयाँ पाउँथे।

टोलीमा सबैभन्दा बलिया घलानलाई नाइकेले अग्रभागमा राखेर गाडी बोकाउँथे। गाडी सात दिनमै काठमाडौं पुर्‍याउँदा नाइकेले एक पटक २० रुपैयाँ बसिक्स दिएका थिए। उनले गाडी बोक्नुभन्दा पहिला नै १३ वर्षको उमेरमा वीरगन्ज जाँदा गाडी चढेका थिए।

उनले ९६ जनाले बोक्ने १, ६४ जनाले बोक्ने ४ र बाँकी साना गाडी भीमफेदीबाट थानकोट पुर्‍याएका थिए। ‘पहिला मान्छेले गाडी बोक्थ्यो। अहिले गाडीले मान्छे बोक्छ’, उनले एक वर्षअघि आफ्नै निवासमा अन्नपूर्ण पोस्ट्सित भनेका थिए। उनले विगतको कुरा सुनाउँदा नातानातिनाले नपत्याउने गरेको गुनासो गरेका थिए।

त्यसबेला एउटा गाडी काठमाडौं पुर्‍याउन १० देखि २२ दिनसम्म लाग्थ्यो। ‘चक्का र बम्परमा नोल दुईतिर राखेर बाबियोको डोरी र तारले बानेर अगाडि–पछाडि परालको चप्पल लगाएर गाडी बाक्ने गथ्र्यौं’, उनले एक वर्षअघि कुराकानीका क्रममा भनेका थिए, ‘गाडी बोकेको नोल पनि थियो। २–३ सालअघि नोल चिरेर आगो तापिदिए। चिनो पनि हरायो।’ बहादुर शमशेरले नेपाल छाड्दा काठमाडौंबाट भीमफेदीसम्म गाडी बोकेको अनुभव पनि उनीसँग थियो।

पक्षघात रोगबाट पीडित भएपछि उनी आफन्तको सहारामा घरमा भित्र–बाहिर गर्थे। बिरामी र बुढ्यौलीका कारण ७–८ वर्षयता घर नछाडेका उनलाई पछिल्लो समय पक्षघातसँगै दुवै घुँडा दुख्ने समस्या थियो। ‘उहाँको राति ११ बजे घरमै निधन भएको हो। एउटा इतिहासको अन्त्य भएको छ’, थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने।

त्रिभुवन राजपथ बन्नुअघि यस क्षेत्रका बासिन्दाले भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्ने गरेका थिए। सँगै गाडी बोक्ने छिमेकी जुक्तबहादुर वाइबाको तीन वर्षअघि निधन भएपछि उनले छरछिमेकसँग एक्लो महसुस गरेको सुनाउने गर्थे। घलानका बुवा पनि मोटर बाक्ने काम गर्थे। उनी बुवासँग पछि लागेर मोटर बोक्न भीमफेदी झरेका थिए। उनले लगातार २५ वर्ष गाडी बोकेको कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए ।

गाडी बोक्ने सबै जीवित इतिहासको अन्त्य भएको वडाध्यक्ष गुरुङले बताए। राणाकालमा भीमफेदीबाट काठमाडौंसम्म गाडी पुर्‍याउने अधिकांश चित्लाङ र बज्रबाराहीका बासिन्दा रहेको उनले सुनाए। उनका अनुसार तसर गाउँका मात्रै ४८ जनाले राणाकालमा गाडी बोकेका थिए। काँधमा गाडी बोक्नेहरूमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन्। १५ वर्षको उमेरमा विवाह गरेका घलानका २ छोरा र ३ छोरीसहित १४ जना सन्तति छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.