हेटौंडा उपमहानगरको सबै केन्द्रबाट क्यान्सरविरुद्ध खोप
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगरभित्र रहेका स्वास्थ्य केन्द्र र विद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।
उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नगएका १० देखि १४ वर्षका किशोरीलाई माघ २२ देखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार उपमहानगर मार्फत सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र विद्यालयमा हुने १ सय १८ सेसनबाट कुल ९ हजार २३८ जना लाई खोप दिइनेछ । अभियानलाई आगामी वर्षबाट विद्यालय स्तरमा ६ देखि १० कक्षासम्मका छात्रालाई नियमित खोप दिने शाखा प्रमुख तिवारीले जानकारी दिए ।
उपमहानगरपालिकाका खोप समन्वय समितिका प्रमुख तथा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको अभिमुखिकरणमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम,विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न महशाखा तथा शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !