दुवै पक्षको केन्द्रीय समितिको बैठक : नेताहरूको तानतान
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बसेको छ। ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलस्थित बार्की ब्यांक्वेटमा बसेको छ।
थप रणनीति तय गर्न बैठक बोलाइएको हो। दुवै पक्षले बैठक बसेर मंगलबार नै निर्वाचन आयोगलाई जानकारी दिएका थिए। पार्टी औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले पदाधिकारी चयन, संगठन विस्तार, भेला र प्रशिक्षणलाई तीव्रता दिएका छन्।
दुवै पक्षको बैठकमा अहिलेसम्म तटस्थ रहेका नेताहरूलाई आफूतिर तान्ने प्रयास दुवैतिरबाट भएको छ।ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी भएका छन्। हालसम्म दुवै पक्षको कुनै पनि बैठकमा सहभागी नभएका बादल बिहीबार बालुवाटार पुगेका हन्।बिहीबार नै थापा र वामदेव गौतमले ओलीसँग भेट वार्ता गरेका थिए। गौतम जाने नजाने भने अझै निश्चित भएको छैन।
दुवै पक्षले बादल र गौतमलाई तान्न प्रयास गरेका थिए। प्रचण्डले पनि दुवैसँग यसबीचमा पटकपटक भेटेका थिए। यसअघि लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा गइसकेका छन्। ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ।
एकीकरणकपछि ४४७ सदस्यीय केन्द्रीय कमिटिमध्ये ओली पक्षको बैठकमा ११५ जना र प्रचण्ड माधव पक्षको बैठकमा ३१५ जना सहभागी थिए।
ओली पक्षले मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरेर सदस्यीय कमिटि बनाएको छ। बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको छ।
यस्तै, प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थिए। यता ओली पक्षले पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीय ज्ञवालीलाई चयन गरेका थिए।
बिहीबार बस्ने प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने, महासचिव पदको टुंगो लगाउने स्रोतले जनाएको छ। उक्त समूहमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल महासचिवका आकांक्षी देखिएका छन्।
प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए।