बढ्यो किनमेल

बढ्यो किनमेल

घरायसी सरसामान किन्न डराइडराई बजार जानुपर्ने थियो। बजारमा सामान नल्याए के खाने। कोभिड–१९ को कारण दैनिक बजार जानै डरमर्दो छ। तर, जसोतसो घर परिवारका लागि रासनको व्यवस्था मिलाइएको भक्तपुर बालकोटकी संगीता बञ्जराले सुनाइन्। कोभिडबाट बच्न भन्दै उनले असारको पहिलो साता रेफ्रिजेरेटर किनिन्। ‘घरमा एउटा फ्रिज नहुँदा तरकारी किन्न दिन बिराई बजार जानुपथ्र्यो। रेफ्रिजेरेटर किनेपछि भने ढुक्क भएको छ। एकपटक बजार जाँदा हप्ता दिनलाई पुग्छ’, बञ्जराले भनिन्। रेफ्रिजेरेटर खरिद गरिसकेपछि कोभिड–१९ को संक्रमित हुने सम्भावना पनि कमी आएको उनी सुनाउँछिन्।’

कोभिडकोे समय घरायसी कामकाजलाई रेफ्रिजेरेटरले सहज बनाएको काठमाडौं कपनकी शान्ता श्रेष्ठ बताउँछिन्। ‘छोराछोरीको स्कुल लाग्दा खानासँग खाजा पनि बनाइन्थ्यो। अहिले सबै जना घरमै छन्’, श्रेष्ठले भनिन्, ‘कहिलेकाहीँ खानाखाजा बढी हुँदा फाल्नुपर्ने हुन्थ्यो।’ रेफ्रिजेरेटर घरमा ल्याएदेखि खाना र समयको बचत भएको उनी सुनाउँछिन्। पहिला समय निकालेर खाजा बनाउनुपथ्र्यो। अहिले फ्रिजमा भएको खाने कुरा तताएर खाउँ भन्न सजिलो भएको श्रेष्ठ सुनाउँछिन्। 

कोरानाका कारण घरमा थन्किएर बस्नु परेको धेरैको सारथि बन्न सफल भएको छ, रेफ्रिजेरेटर। कोभिड–१९ का कारण रेफ्रिजेरेटर प्रयोगकर्ता बढिरहेका छन्। सीजी इलेक्ट्रोनिक्सका सेल्स हेड विष्णु ज्ञवालीका अनुसार पछिल्लो समय रेफ्रिजेरेटरको बिक्री ३० प्रतिशतसम्मले बढेको बताउँछन्। कोभिडका कारण घरबाहिर खाने प्रवृत्ति धेरै घटेको छ। यसले पनि घरमा खाने कुराको सञ्चय गर्न रेफ्रिजेरेटर मद्दतकारी सिद्ध भएको छ।

‘विगतमा गर्मी याममा रेफ्रिजेरेटरको बिक्री धेरै हुने गथ्र्यो। जाडोमा बिक्री दर एकदमै न्यून हुन्थ्यो। तर, अहिले भने परिस्थिति बदलिएको छ’, ज्ञवालीले भने ‘कोभिड अघि गर्मीमा चिसोको व्यवस्थापन गर्नुपर्छ भनेर रेफ्रिजेरेटर किन्ने चलन थियो।’ अहिले भने खाना तथा तरकारीलाई लामो समयसम्म सुरक्षित राख्नुपर्छ भनेर रेफ्रिजेरेटर किन्ने प्रवृत्ति बढेको उनले सुनाए। सामान्यतया रेफ्रिजेरेटरमा तरकारी तथा फलफूल १० दिन र खानालाई चार दिनसम्म राखेर खान सकिन्छ। कोभिडका कारण सकेसम्म मानिस घरबाहिर निस्किन खोज्दैन। तर, आहाराको जोह गर्न बाहिर ननिस्की हुन्न। रेफ्रिजेरेटरले केही हदसम्म मानिसलाई घरमै सुरक्षित तबरले बस्ने वातावरण सिर्जना गरिदिएको छ।

अहिले फ्रन्ट डोर रेफ्रिजेरेटरको बिक्री धेरै भइरहेको ज्ञवाली बताउँछन्। ९५ प्रतिशतभन्दा धेरै ग्राहकको रोजाइमा फ्रन्ट डोर रेफ्रिजेरेटर पर्ने गरेको छ। नयाँ (इन्ट्रिलेभल) ग्राहकले फ्रन्ट डोर रेफ्रिजेरेटर खोज्ने भएकाले यसको बिक्री धेरै भएको उनले सुनाए। बजारमा १७० लिटरदेखि २२० लिटरसम्मका फ्रन्ट डोर रेफ्रिजेरेटर उपलब्ध छन्। फ्रन्ट डोर रेफ्रिजेरेटर २० हजारदेखि ३० हजार रुपैयाँमा बजारमा उपलब्ध छ। 

हिम इलेक्ट्रोनिक्सका डेपुटी जनल म्यानेजर केशव धितालका अनुसार विगतका तुलनामा यो वर्ष रेफ्रिजेरेटरको बिक्री बढेको बताउँछन्। लकडाउनको सुरुआती तीन महिनामा रेफ्रिजेरेटरको बजार सुस्त देखिए पनि असारदेखि बजार बढेको धिताल बताउँछन्। 

फ्रन्ट डोर रेफ्रिजेरेटर
नेपालमा सबैभन्दा धेरै बिक्री हुने रेफ्रिजेरेटर मोडलमा पर्छ, फ्रन्ट डोर रेफ्रिजेरेटर। फ्रन्ट डोर रेफ्रिजेरेटर दुई प्रकारका हुन्छन्, टप माउन्ट रेफ्रिजेरेटर र बटन माउन्ट रेफ्रिजेरेटर। टप माउन्ट रेफ्रिजेरेटरको माथिल्लो भागमा डिप फ्रिज र तल्लो भागमा फ्रिजर हुन्छ। बटन माउन्ट रेफ्रिजेरेटर टप माउन्ट रेफ्रिजेरेटरको ठीक उल्टो हुन्छ। बटन माउन्टको तल्लो भागमा डिप फ्रिज र माथिल्लो भागमा फ्रिजर हुन्छ।  

मल्टिडोर 
मल्टिडोर रेफ्रिजेरेटरमा चार वटा ढोका हुन्छ। यसमा दुई वटा डिप फ्रिज र दुई वटा फ्रिजर हुन्छ। उपभोक्ताले आफ्नो चाहनाअनुसार पेय पदार्थ र खाद्य सामग्री मल्टिडोर फ्रिजमा छुट्टाछुट्टै राख्न सक्छन्। 

साइड बाई साइड रेफ्रिजेरेटर
साइड बाई साइड रेफ्रिजेरेटर दराज खोल्न सकिन्छ। साइड बाई साइड रेफ्रिजेरेटरमा फ्रिज र फ्रिजर सेक्सन दुवै एकअर्काभन्दा अलग हुन्छन्। फ्रिजरको तुलनामा फ्रिजको क्षेत्रफल बढी चौडा हुन्छ।

स्मार्ट फिचर
बजारमा उपलब्ध धेरै इलेक्ट्रिक सामान स्मार्ट छन्। यस्तो बजारमा स्मार्ट रेफ्रिजेरेटर पनि उपलब्ध छन्। प्रयोगकर्तालाई सजिलो बनाउनका लागि थुप्रै किसिमका फिचर फ्रिजमा समावेश गरिएको हुन्छ। 

स्मार्ट फ्रिजमा टच स्क्रिन, वाइफाइ, टीभी, स्पिकरलगायत फिचर समावेश गरिएको हुन्छ । फ्रिजको मुख्य काम भनेको खाना, तरकारी, फलफूल तथा पेय पदार्थ चिसो बनाउने हो। साधारणदेखि स्मार्ट सबै फ्रिजबाट यो सम्भव हुन्छ।  यस्ता फिचरमा पैसा खर्च गर्नुको सट्टा निम्न कुरा फ्रिजमा छ छैन ख्याल गर्नुहोस् जसले फ्रिजमा कार्यात्मक सुधार ल्याउँछ। 

ढोका अलार्म : फ्रिजको ढोका राम्रोसँग बन्द नभएको खण्डमा फ्रिजले सानो आवाज निकाल्छ। यसबाट ऊर्जा र खानाको बचत हुन्छ। 
आद्रता नियन्त्रण : हरिया सागपातलाई धेरै समयसम्म हरियो नै रहनका लागि सही आद्रताको आवश्यक पर्छ । यो फिचर भएको फ्रिजमा तपाईंले हरियो सागपात धेरै समयसम्म ताजा राख्न सक्नुहुनेछ। 
इनर्जी स्टार : फ्रिजमा मात्र नभएर हरेक विद्युतीय उपकरण खरिद गर्दा इनर्जी स्टार हेर्नुपर्छ। इनर्जी स्टार भएको फ्रिजले निकै थोरै ऊर्जाको खपत गर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.