घान्द्रुक देउरालीको डढेलो ८ दिनपछि नियन्त्रणमा
बेनी: म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो आठ दिनपछि सोमबार नियन्त्रणमा आएको छ ।
नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारी, संरक्षण क्षेत्र व्यवस्थापन समिति, पर्यटन समिति र आमा समूहका प्रतिनिधिहरुको टोलीले डढेलो नियन्त्रणमा लिएका हुन् ।
(एक्याप)को घान्द्रुकस्थित इलाका संरक्षण कार्यालयका संरक्षण अधिकृत शैलेन्द्र यादवले पुष १२ गतेदेखि सुरु भएको डढेलो पूर्ण रुपमा नियन्त्रणमा लिएर टोली सोमबार फर्किएको जानकारी दिए ।
‘प्रहरी र एक्यापका कर्मचारी बोहक म्याग्दीको खिवाङका ३०, चित्रेका १३, घोरेपानीका १७, कास्कीको घान्द्रुकका २०, छोमरुङका ११ र दाङसिङका १२ जनाको टोली डडेलो नियन्त्रणमा खटिएका थिए,’ उनले भने ‘ग्यालीनमा पानी बोहेर आगो निभाउने, माटो थुपार्ने र अग्नी रेखा बनाएर डढेलो नियन्त्रणमा लिइएको छ ।’
कास्कीको घान्द्रुकबाट सुरु भएको डडेलोले ठूलो क्षति पुर्याएको छ । सल्ला, गुराँस र जरबुटाको रुख भएको जंगल डढेलोले सखाप पारेको घोरेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।
डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने घान्द्रुक देउराली क्षेत्रमा ठूलो जंगल छ ।
वन्यजन्तुको शिकार गर्न र चरनका लागि घाँस पलाउने गलत बुझाइका कारण डढेलो लगाउने गर्छन् । गत कात्तिक महिनायता वर्षा नहुँदा बनजंगल सुख्खा भएका छन् । सुख्खायामको समयमा बनमा डढेलो लाग्ने समस्या बढी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !