धर्म प्रचार गर्ने विदेशी निष्काशित
काठमाडौं : गृह मन्त्रालयले प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका एक दम्पतीलाई निष्काशन गरेको छ । उनीहरूले ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका थिए । मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले उनीहरु अर्काे साता (पुस २६) मा फर्किन लागेको जानकारी दिए । स्भेन र इभेलियन दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् ।
धर्म प्रचार गरेको पुष्टि भएपछि निष्काशन गर्न प्रक्रिया अघि बढाउन लाग्दा उनीहरूले अध्यागमनका कर्मचारीलाई अदालत जाने धम्की दिएका थिए । धर्म प्रचार र परिवर्तन गराउँदै हिँड्नु नेपालको संविधानविपरित भएकाले निष्काशन गर्नुको विकल्प नरहेको भनेपछि उनीहरू विभागले तोकेको जरिवाना तिर्न तयार भएका थिए । त्यसपछि विभागले निष्काशन प्रक्रिया अघि बढाउन उनीहरुको विस्तृत विवरण मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले विभागको प्रस्ताव सदर गरेको हो ।
कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ । मन्त्रालयले यसअघि फिलिपिन्स, जापान, अस्ट्रेलियालगायतका ७ विदेशीलाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि निष्काशन गरेको थियो ।
पाटन क्याम्पसमा अध्ययन गर्न भिसा लिएका पछिल्ला दुई विदेशी २०७५ सालदेखि पाँचथर फिदिममा बस्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय पाँचथरले उनीहरूको शंकास्पद गतिविधिबारे मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पत्राचार गरेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन भिसाका लागि विभागमा सिफारिस गरेको थियो । सन २०१४ मा पर्यटक भिसा लिएर पहिलो पटक नेपाल आएका उनीहरूले पटक–पटक पर्यटक र अध्ययन भिसा लिएको देखिन्छ । उनीहरुले पाँचथरलाई आधार क्षेत्र बनाई जिल्लाका फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र त्यस आसपासका क्षेत्रमा इसाइ धर्म प्रचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले पैसाको प्रलोभनमा आर्थिक अवस्था कमजोर भएका समुदायमा गएर धर्म परिवर्तन गराउन बाध्य पार्दै आएको अनुसन्धानमा खटिएका एक अधिकृतले वताए ।
पाटन क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि तीन वर्षदेखी पाँचथरमा बस्दै आएका थिए । वाल्टर स्भेन पास्टर हुन् । वाल्टरले पाँचथरमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने र त्यस्ता कार्यक्रमबाट पनि प्रत्यक्ष समुदायमा गएर इसाइ धर्म परिवर्तन गराउँदै आएका थिए । खेलुकुदका कार्यक्रम गराउने र वाध्यवादन सिकाउने वहानामा बेल्जियन दम्पतीले सहजै आर्थिक अवस्था कमजोर भएको समुदायमा पुगि विभिन्न प्रलोभनमा पारी इसाइ धर्म परिवर्तन गराउन बाध्य पार्दै आएका थिए ।
भिसा दुरुपयोग गरि विदेशी नागरिक धर्म प्रचारलगायत शंकास्पद गतिविधिमा संलग्न हुन थालेपछि विभागले प्रभावकारी अनुगमन गर्ने तयारी गरेको छ ।