टोखामा दम्पत्तीको शंकास्पद मृत्यु !

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु !

काठमाडौं : राजधानीको टोखामा एक दम्पत्तीको शंकास्पद अवस्थामा शव भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

टोखास्थित ग्रान्ड भिल्लामा अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल पुगेर मुचुल्का उठाएको थियो। प्रहरी घटनास्थलमा पुग्दा उमेशको शव खाटमा थियो भने सुदीक्षाको शव झुण्डिएको अवस्थामा थियो। 

डीएसपी विष्टका अनुसार उमेशको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनास्थल नजिकै ढुंगा फेलापरेको छ। ‘हामीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि टिचिङ पठाएका छौं। घटना शंकास्पद देखिए पनि के कारणले मृत्यु भएको भन्ने अवस्था छैन’, विष्टले अन्नपूर्णसँग भने,‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’ 

प्रारम्भिक अनुसन्धानमा भने उमेशको हत्या गरेपछि सुदीक्षाले आत्महत्या गरेको आशंका गरिएको छ। प्रहरीका अनुसार सदीक्षाको माइतीघर घटनास्थलबाट नजिकै छ। उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फूलपातीका दिन अमेरिकाबाट नेपाल फर्किएका थिए। 

आगामी माघ १ गते उनी अमेरिका जाने तयारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए। 

उमेशको माइला दाजु हिमेशले घटना शंकास्पद भएकाले प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले सगुन नामको कम्पनीमा ठूलो रकम लगानी गरेका थिए। उक्त लगानीको बारेमा समेत निकट केहीसँग उमेशको दूरी बढेको थियो। 

हिमेशले भने,‘सगुनमा उमेशको आठदेखि १० करोड रुपैयाँ लगानी थियो। उक्त लगानीबारे विवाद बढेको पनि हो। त्यही कारणले उसको हत्या भएको आशंका छ।’ 

आफू भाइसँग गत मंगलबार मात्रै खाजा खाएर छुट्टिए पनि सम्पर्क नभएको  उनले बताए। भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा खटपट नभएको हिमेशले बताए। 

बानेश्वर घर भए पनि बुहारीको माइती नजिक पर्ने भएकाले उमेश टोखामा अपार्टमेन्ट लिएर बसेका थिए। हिमेशका अनुसार उमेशको कानबाट रगत बगीरहेको थियो। धारिलो हतियार प्रहार गरेर हत्या गरेको आशंका हिमेशको छ। 

‘भाइको शव पुरै सुन्निएको छ। देव्रे हातमा धारिलो हतियार प्रहार गरे जसरी छियाछिया पारिएको देखिन्छ’, हिमेशले अन्नपूृर्णसँग भने,‘बुहारीको कतै पनि घाउ चोट छैन। झुण्डिएको शव घुँडाले टेकेको अवस्थामा थियो।’

प्रहरीले यो घटनालाई लिएर सुदीक्षाको दिदी शर्मिलालाई समेत सोधपुछ गरेको छ। उनले घटना थाहा पाएर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सोधपुछ गरेको प्रहरी उच्च स्रोतले बतायो। 

उमेश दम्पत्ती जुन अपार्टमेन्टमा बस्थे घटनास्थलमा प्रहरीले मुचुल्का उठाउँदा उक्त अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको अवस्थामा छ। प्रहरीले उक्त अपार्टमेन्टको सीसीटीभी फुटेज हेर्दा समेत त्यस्तो शंकास्पद केही प्रमाण भेटेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.