धादिङको गोरु जुधाइ महोत्सव (फोटो फिचर)
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा यस वर्ष महोत्सवकै रुपमा गोरु जुधाउने मेला आयोजना गरिएको छ ।
धुँवाकोटमा भएको गोरु जुधाइ महोत्सवमा सहभागी हुनको लागि धादिङका विभिन्न गाउँका साथै छिमेकी जिल्ला नुवाकोट र गोरखाका जिल्लाका किसानले पनि गोरु ल्याएका थिए । महोत्सवमा जुधाउन ल्याउने सबै गोरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले धुवाँकोटको भंगेरीमा गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । विशेष गरेर धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी गोरू जुधाई कार्यक्रम आयोजना गरिँदै आइरहेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
धुवाकोटमा मात्रै १८ हल गोरु जुधाइएको थियो । गोरुहरुको शारीरिकक बनावट र उमेर अनुसार तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । पहिलो समूहमा ४ हल गोरु, दोस्रो समूहमा ७ हल र तेस्रो समूहमा ७ हल गोरु छुट्टाइएको थियो ।
पहिलो समूहको विजेतालाइ १२ हजार, उपविजेताले १० हजार नगद र प्रमाणपत्र, दोस्रो समूहको विजेतालाइ १० हजार र उपविजेतालाई ८ हजार नगद र प्रमाणपत्र तथा तेस्रो समूहको विजेतालाइ ७ हजार र उपविजेतालाइ ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पहिले छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरु जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइने गरेको छ । त्यस्तै धादिङको खाल्टे मैदी लगायतका ठाउँहरुमा पनि गोरु जुधाएर माघे सक्रान्ती पर्व मनाइएको छ । खाल्टेमा विगत सात वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।