उधारो उखुको अनिदो संघर्ष
मध्यरातमा टायर–बैलको लाम लगेको छ। त्यसभन्दा लामो लाइन ट्र्याक्टरको ट्रलीको छ। गाडीमाथि टनका टन उखु लोड छन्। निष्पट्ट अँध्यारोलाई पोलमा लगाइएको भेपर लाइटले चिर्न खोज्दै छ। तर, दिनजस्तो उज्यालो पार्न सकिएको छैन। रातको एक बजेको छ। कोही खोकिरहेको आवाज पनि आइरहेको छ। को हो ? भनेर टर्च बालेर हेर्दा ट्र्याक्टरको ट्रलीमुनिको चक्कानजिकै उखु किसान पल्टिरहेका देखिन्थे।
महोत्तरीको गौशाला– १ रामनगरस्थित एभरेस्ट उद्योगमा मंगलबार मध्यरात पुग्दा यस्तै पीडादायक अवस्था देखिन्थ्यो। ट्रलीको चक्कामुनि सुतेर किसानले आफ्नो जीउज्यानै जोखिममा राखेको देखिन्थ्यो। जीवनलाई दाउमा लगाएरै भए पनि चिनी मिलमा उखु बुझाउने व्यग्र प्रतीक्षा गर्दै थिए किसान। ट्रलीको चक्कामा ढुंगाको ओट लगाएर अनिदो संंघर्षमा थिए। मिलमा उखु बुझ्न प्रतीक्षा गर्दै गरेका केही किसानको सुतेका ठाउँमै ट्रलीले किचेर ज्यान गइसकेको छ। तर, यसतर्फ चिनी मिल प्रशासन निष्ठुरी त छँदैछ; प्रहरी प्रशासन पनि गम्भीर छैन। किसानको यो व्यथाले दुर्घटनाको जोखिम बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक इन्स्पेक्टर कैलाश खत्रीले बताए।
२०५३ सालतिर महोत्तरीको रामनगरमा चिनी उद्योग स्थापना भएको थियो। पुस, माघ र फागुन महिना उद्योगीका लागि क्रसिङ सिजन मानिन्छ। यो शीतलहर र चिसो मौसमको महिना पनि हो। खेतमा उखु उब्जाउने किसानको चिसो लागेपछि निद्रा हराउँछ। न भरपेट खान पाउँछन् न त ढुक्कसँग सुत्न नै। यो व्यथा आजको मात्र होइन; दसौं वर्षदेखि यहाँका किसान यस्तै पीडा भोग्न बाध्य छन्।
उखु बिक्री गर्न व्यग्र प्रतीक्षामा थिए महोत्तरीको हत्तिसर्वाको उखु किसान तेजनारायण यादव। मिलको डोंगा (उखु राख्ने ठाउँ) तिर उनी नजर लगाइरहेका थिए। घरी सुत्थे, घरी गाडीको लाम खुल्यो कि भने उठेर मिलतिर नियाल्थे। उनी झन्डै २० वर्षदेखि उखुखेती गर्दै आएका छन्। चिनी मिल आउँदा उनका लागि भुइँ खाट हुन्छ, उखुको पातले तोसक (डस्ना) को स्थान पाउँछ। त्यसैमा पल्टिएर निदाउन खोज्दै थिए उनी। उनी चिसोले निदाउन पाएका थिएनन्।
गार्डले कतिखेर सिक्कर खोल्छ अनि गाडी लिएर काँटामा उखु लिएर जाउँला भन्ने पर्खाइले निद्रा लाग्ने कुरै भएन। उनी मंगलबार बेलुका उखु लिएर मिलमा आएका थिए। उनलाई हामीले बुधबार रातको दुई बजेतिर ट्रलीमुनि सुतेको अवस्थामा फेला पार्यौं। क्यामराको फ्ल्याक्स उनका आँखामा चम्कियो होला, उनी लगत्तै झल्याँस्स ब्युँझिए। ‘टर्च बाल्ने को हो ?’ उनले आँखा मिच्दै भने। ‘हामी पत्रकार हौं’, हामीले उत्तर फर्कायौं। उनको कपाल फुलेको देखिन्थ्यो।
उनी उमेरले त्यस्तै ६० वर्षजतिका थिए। दिनभर उखु कटान गरेर ट्र्याक्टरमा लोड गर्दा उनको ज्यान थाकेको थियो। साँझै चिनी मिल आउनुपर्दा उनी झनै थकित देखिन्थे। ‘यतिका चिसोमा यहाँ किन आउनुभयो पत्रकार बाबुहरू ?’ उनले प्रतिप्रश्न गरे। हामीले भन्यौंं, ‘तपाईंजस्ता किसानहरूका दुःख बुझ्न आएका हौं। अनि उनले दुःखको पोको फुकाउन थाले। पीडाले बोझिलो भएको उनको मन हामीसँग गफिँदा केही हलुका भयो। ‘चिसो मौसम छ, किन भुईंमै सुत्नुभयो ?’ प्रश्न झर्न नपाउँदै उखु किसान तेजनारायणले भने, ‘उखु छाडेर कहाँ जाने ? रुँघेर बस्नैपर्यो। वाड खुलेपछि गाडी लिएर मिलमा उखु दिन जानुपर्छ।’ उखु बुझाउने पालो कतिखेर आउँछ भन्ने उनलाई थाहा छैन।
‘मिलमा उखु दिएपछि हातै पैसा दिन्छ ?’
‘कहाँ दिनु, दिँदैन।’
‘कति दिनमा दिन्छ ?’
‘पहिला त एक/ढेड सालमा दियो। यसपालि कहिले दिन्छ ? थाहा भएन।’
‘उखु किसानलाई दुःख छ है ?’
‘धेरै दुःख छ नि। किसानीमा धेरै परिश्रम र कठिनाइ छ।’
यस वर्षको चिसो त्यो रात ह्वात्तै बढेको थियो। पूर्वबाट आएको तुवालोले क्यामराको लेन्स छेकिदिन्थ्यो। तर उखु किसान तेजनारायणको दुःखमा कसैले मलमपट्टी गर्न सकेको छैन। उखु लोड गरेको ट्र्याक्टरमुनि सुत्दा तपाईंलाई डर लाग्दैन भन्ने प्रश्नमा उनले भने, ‘डर लाग्छ नि, तर गर्ने के गर्ने लाम बस्नैपर्यो।’
चिनी मिलमा उखु लिएर आउने किसानले थुप्रै सपना बुनिरहेको भेटियो। दिनभरि उखु कटानीमा किसान व्यस्त हुन्छ। जब उखु लिएर चिनी मिल आइपुग्छन् अनि उनीहरू ट्रलीमुनि सयौं सपना देख्छन्। उखुको आम्दानीले बेटाबेटीको विवाह गरौंला, बच्चालाई राम्रो स्कुलमा पढाउँला, साहु–महाजनको कर्जा तिरौंला, पक्की घर बनाउँला, जग्गाजमिन किनौंला जस्ता अनेक सपना ती किसानको छ। उद्योगीले समयमा भुक्तानी नदिए उनीहरूको सपना त्यसै तुहिन्छ; जुन उनीहरूको बाध्यता छ।
कहिले मिल चल्छ, कहिले बिग्रिन्छ
चिनी उद्योगका मुख्य सडकमा रातभर चहलपहल भइरहेको हुन्छ। कोही उखु लिएर आउने, कोही मिलमा झारेर घर जाने क्रम पुस, माघ, फागुनसम्म चल्छ। त्यसो त पाँच वर्षअघि उखुखेती धेरै भएका बेला यो क्रम वैशाखसम्म चल्यो। एभरेस्ट चिनी उद्योगले त्यस वर्ष ५८ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो। अब त्यो दिन चिनी उद्योगका लागि फर्किने निकै कम मौका छ। यस वर्ष मुस्किलले उद्योगले १८–१२ लाख क्विन्टल पाउने चिनी उद्योगीको अनुमान छ। त्यो पनि कठिनै छ। उधारोमा उखु लिएर उद्योगीले किसानलाई भुक्तानी नदिएर रुवाएपछि उखुखेती ओरालो लाग्दो छ।
रहर होइन; बाध्यताले किसान उखु खेती गर्छन्। आकासे पानीले धान, गहुँ र मकै फल्दैन। त्यही भएर किसानहरू उखु लगाउँछन्। बर्खाको पानीले पनि धेरथोर उखु उब्जिहाल्छ। त्यही भएर बाध्यताले सर्लाहीको बैलबासका किसान मनोज महतोको व्यथा पनि त्यस्तै छ। उनी पनि गाडी लाममा लगाए लिकमै सुतिरहेका थिए। अरूभन्दा उनी फरक तरिकाले सुतेका थिए। मनोज ट्रलीनजिकैको खाली ठाउँमा खुला आकाशमा सुतेका थिए। उनले ओढेको सिरक शीतले भिजिसकेको थियो।
उनी साँझ ६ बजे उखु लिएर चिनी मिलमा ‘इन्ट्री’ गरेका थिए। उनको नजिक पुग्दा उनी हतारहतार बुझिए लाम खुल्यो भनेर। उखु गाडीको लाम लागेको वडाको सिक्कर खुल्ने बेला भयो भने गार्डले किसानलाई उठाउन आउँछन्। ज्यान तन्काउँदै, आँखा मिच्दै उनले पूर्वमा रहेको चिनी मिलतिर आँखा तन्काए। ‘मनोजजी, कति बिघामा हजुरको उखु खेती छ ?’
‘पाँच बिघामा।’
‘उखु उब्जाउन कति दुःख छ ?’
‘दुःख त यस्तै हो। दिनभरि उखु कटानी गरेर लिएर आयो। वडामा गाडी लगाइदियो। सय रुपैयाँ तिरेर होटलमा गएर सादा खाना खायो। गाडीनजिकै पातलो ओछ्याएर सुत्यो’, उनले भने, ‘रातभर शीतलहरमा पालो कुरेर बस्नुपर्छ। खोकी लाग्छ, रुघा लाग्छ। समस्या त भइराछ नि, गर्नु त गर्नु के ? हामी किसानको यस्तै हालत छ।’
‘चिनी मिलमा आउँदा सधैं चिसोमै सुत्नुहुन्छ ?’
‘हो, भुईंमै सुत्नुपर्छ।’
‘खुला आकाशमा यसरी कति महिना सुत्नुहुन्छ ?’
‘तीन महिना चिनी मिल आउँदा।’
‘चिनी मिलले किसानका लागि यहाँ के–के सुविधा दिन्छ ?’
‘सुत्न, बस्न र खान केही व्यवस्था गर्दैन। होटलमा खाने, भुईंमा सुत्ने। हामी किसानको जीवन यहाँ यस्तै चल्छ। खै कसैले हाम्रो दुःख सुन्दैन।’
‘अब कतिखेर घर फर्किनुहुन्छ ?’
‘त्यसको कुनै ठेगान छैन। कहिले मिल चल्छ, कहिले बिग्रिरहेको हुन्छ। केही भएन भने बेलुका आइयो भने बिहान १० बजे उखु दिने पालो आउँछ।’
भुइँमा धुलो, आकाशमा शित
राति १० बजे हस्याङफस्याङ गर्दै स्पिडमा ट्र्याक्टरमा उखु लिएर चिनी मिल आएका थिए महोत्तरीको गौशाला– २ निगौलका राजेश राम। बर्सेनि पाँच बिघामा उखुखेती गर्ने किसानको सूचीमा उनको नाम पर्छ। सबै किसानजस्तै उसको पनि पीडा छ। उनी उखु खेती गर्दा भएभरको सबै लगानी र शक्ति खर्चिन्छन्। वर्षभर दस नंग्रा खिचाएर, प्रचण्ड घाममा घोटेर, बर्खेझरीमा गोडमेल गरेर उनी उखुखेती लगाउँछन्। मिलमा उखु लिएर आएपछि सकुशल घर फर्किन सकिन्छ कि सकिन्न भन्ने चिन्ता सँगसँगै थपिएको हुन्छ। गुलियो उखुको स्वाद मालिकले चाख्छन्। उनीजस्ता किसानका भागमा कठोर परिश्रम, दुःख, अनिद्रा र गुलियो उखुको नीमजस्तै तीतोको स्वाद मात्रै पर्छ। किसानको लगानी र शक्तिले मिल मालिक मोटाउँछन् भने उखु उब्जाउन लिएको ऋणको भारीले कृषक किचिन्छन्।
‘बहुत गाह्रो छ, नगद खेती उब्जाउँछौं, उधारोमा मिललाई बुझाउनुपर्छ। उखु दिएर खेतबाट आउँदा टोकन लिएर रित्तै हात घर फर्किनुपर्छ’, चिनी मिलमा किसानले भोग्दै आएको दुःख पोख्दै उनले भने, ‘उता हेर्नुस् त कस्तो धुलो छ। माथि हेर्नुस् आकाशबाट शीत खसिरहेको छ। चिसो लागेर कति किसान बिरामी हुन्छ त्यसको लेखाजोखा नै छैन।’ धेरै किसान प्रत्येक वर्षको चिसो लागेर बिरामी परिरहेको बताउँदै उनले थपे, ‘के फाइदा हुन्छ उखु किसानलाई ? उखु उब्जाएर आएको आम्दानी बिरामी भएपछि हस्पिटललाई बुझाउनुपर्छ।’
त्यसो त मिलमा शौचालयको उचित प्रबन्ध छैन। किसान खुला आकाशमुनि शौच गर्न बाध्य छन्। एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासले भने शौचालय, सुत्ने र बस्ने ठाउँको प्रबन्ध मिलमा रहेको जनाए। ‘सुत्न सेड छ। मिलमा चारैतिर चर्पी छ। गाडीका सरसामान र तेल चोरी हुन्छ भनेर किसान गाडीनजिकै बस्छन, सुत्छन्’, उनले भने। तर, किसानको व्यथा यति सजिलो कहाँ छ र !
महोत्तरीको गौशाला–२ निगौलस्थित खेतमा चिनी मिल पठाउन उखु तयारी गर्दै एक महिला किसान।
गौशाला–४ रजखोरका किसान चिनी मिलमा उखु पुर्याउन लोड गर्न टायरमा लैजाँदै।
गौशाला–२ निगौलस्थित उखु खेतमा ट्र्याक्टर फसेपछि डोरी लगाएर तान्दै कामदार।
गौशाला–१ रामनगरस्थित एभरेस्ट चिनी उद्योगमा उखु बुझाउन काँटातिर लगिँदै।
मिलबाहिर पालो कुरेका किसान ट्र्याक्टरमुनि सुत्दै।
डोङातिर उखु लैजान मध्यरातमा उभिएर प्रतीक्षा गर्दै।
मिलका गार्डले सिक्करमा ताला लगाएपछि बाटोमै रोकिएका उखु किसान।
चिनी मिलको डोङामा किसानले ल्याएको उखु क्रेनबाट झारिँदै ।
चिनी मिलको धुलोमा उभिएर रातिको खाना खाँदै किसान।
(तस्बिर : राजकरण महतो)