दाहाल–नेपालको शक्ति प्रदर्शन

दाहाल–नेपालको शक्ति प्रदर्शन

काठमाडौं : नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै उक्त समूहले जुलुस र नाराबाजीसहित संघीय राजधानीमा बृहत् विरोधसभा गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको घोषणा गर्दै दाहाल–नेपाल पक्ष आन्दोलनमा छ। शुक्रबार एक लाख जनता सडकमा उतार्ने घोषणा गरेको उक्त पक्षले नौ स्थानबाट जुलुस निकालेको थियो। डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निस्केका जुलुस भृकुटीमण्डपमा मिसिएपछि अंग्रेजी ‘टी’ आकारमा विरोधसभा गरिएको थियो। जुलुसमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता ल्याइएका थिए।

अध्यक्ष दाहालले सभालाई सम्बोधन गर्दै केपी ओली प्रवृत्तिलाई तीन वर्षमा तह लगाउन नसकिएको भन्दै आत्मालोचना गरे। ‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध हामीले सुरुदेखि संघर्ष गर्न सकेनौं’, अध्यक्ष दाहालले भने, ‘तपाईंहरूको अगाडि म आत्मालोचना गर्न चाहन्छु।’ पार्टीभित्र मात्र नभई देशको संविधान नमान्ने र विध्वंशतिर जाने काम ओलीले गरेको दाहालको आरोप थियो। ओलीलाई मात्र दोषी देखाएर आफूहरू चोखो नरहने भन्दै उनले कमीकमजोरी पनि स्वीकार गर।

उनले ओलीको कदमलाई सही ठहर्‍याउने काम भयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूको घुमाउरो पाराले ध्यानाकर्षण गरे। ‘देशलाई बर्बाद गर्ने भूमिका कसैले पनि नखेलौँ’, उनले भने। उनले आफ्नो प्रदर्शनमा आउने कर्मचारी र पेसाकर्मीहरूको रेकर्ड सरकारले राख्ने गरेको कुरा आफूले सुनेको बताए। भने, ‘जुलुसमा को को गए रेकर्ड राख्ने रे ! म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु, एक जनालाई त छोएर देखाऊ।’

अर्का अध्यक्ष नेपालले शुक्रबारको प्रदर्शनले जनआन्दोलनको झल्को दिएको बताए। ‘यो त कास्टिङ मात्र हो’, अध्यक्ष नेपालले भने’, फिल्म सुरु हुन बाँकी नै छ।’ ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटाउन स्पष्टीकरण सोधिएको उनको भनाइ थियो। भने, ‘ओलीले कतै मैले गल्ती गरें भनेर पो पत्र पठाउनुभएको छ कि ? म पनि संसद् पुनःस्थापनाको आन्दोलनमा सहभागी हुन्छु भनेर पत्र पठाउनुभएको छ कि ?’

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई कुको संज्ञा दिए। ‘उहाँले कु गर्नुभयो। कम्युनिस्ट पार्टीको सदस्य हुन पनि लायक नभएकाले स्पष्टीकरण सोधिएको छ’, उनले भने। उनले ओलीलाई अरिंगाल र साइबर सेना मनपर्ने गरेको आरोप लगाउँदै भने, ‘अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्। सूर्य चिह्न ल्याउने म जीवितै छु।’

वरिष्ठ नेता झलनाथ खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने चेतावनी दिए। ओलीलाई पार्टीले निष्कासन गर्न लागेको खनालले उल्लेख गरे। उनले पार्टीको आधिकारिकता हेर्न सडकमा आउन पनि ओलीलाई चुनौती दिए। नेता घनश्याम भुसालले ओलीसँग साइवर सेना र (सेटिङ) मात्र बांकी रहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.