सर्लाहीमा १ सय २९ जनाले लगाए कोरोनाविरुद्धको खोप
मलङ्वा : सर्लाही सदरमुकाम मलङ्वामा पहिलो दिन १ सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मलङ्वा अस्पतालमा सबैजनाले खोप लगाएका छन् । खोप लगाउनेमा ४२ जना स्वास्थ्यकर्मी, जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत २७ जना कर्मचारी, सुरक्षाकर्मी र राष्ट्र सेवक कर्माचारी ३९ जना र एकजना एम्बुलेन्स चालकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोल्ड चेन निरीक्षक ललन कुमार मिश्रले जानकारी दिएका छन् । बिहान ११ बजेबाट खोप दिन सुरु गरिएको थियो ।
पहिलो खोप मलङ्वा अस्पतालका बरिस्ठ मेडिकल सुपरिटेन्डेन्ट संजीव कुमार सिंहलाई दिइएको थियो । त्यसैगरी दोस्रोमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रावण कुमार नायक र तेस्रोमा जिल्ला न्यायाधिवक्ता केशव प्रसाद गौतमलाई प्रदान गरिएको थियो ।
जिल्लामा ५ सय ३० भ्याक्सिन आएको छ । जसबाट ५ हजार ३ सयजनालाई खोप दिइने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । फ्रन्ट लाइना रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पहिलो दिन खोप दिइएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।
बुधबार जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा मलङ्वा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वयंम सेविका, सफाइकर्मी तथा निजी अस्पताल तथा निजी क्लिनिकका स्वास्थ्यकर्मीलाई खोप दिइने भएको छ ।