बुटवलमा प्रचण्ड-नेपालको शक्ति प्रदर्शन
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले ओलीको निरंकुशता दुई महिनामै परास्त हुने दाबी गरेका छन् । आफैंले बनाएको प्रधानमन्त्री, आफैंले बनाएको पार्टीको अध्यक्ष सामन्तीको एजेण्ट जस्तो भएर निरंकुश बनेको भन्दै यो अब धेरै नटिक्ने उनले बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै प्रचण्डले ओलीले संसद भंग गरेर आफू श्री ३ महाराज बन्ने प्रयत्न गरेको भन्दै अब केही महिनाभित्रै स्वेच्छाचारितको अन्त्य चुट्किको भरमा निस्तेज हुने बताए ।
‘लुम्बिनी क्षेत्र २१ सय वर्षअघिको राजतन्त्रात्मक क्षेत्र थियो । त्यसलाई अन्त्य गरेको छ । अहिले बुटवलको जमघटले जनआन्दोलनबाट राजतन्त्रलाई जस्तै ओलीको निरंकुशता पररास्त गर्छ’, उनले भने, ‘यो जमघट त्यसैको लागि हो, म तपाईहरुलाई सलाम गर्छु ।’
२०५ वर्षको शाहाकालीन राजतन्त्र फालेका नेपाली जनताले ओलीको निरंकुशता चुट्कीकै भरमा निष्तेज पार्ने प्रचण्डले जिकिर छ । मुलुकमा आर्थिक विकास, रोजगारी सिर्जना गर्न सकियोस भन्दै आफूले प्रधानमन्त्रीको लोभ समेत छाडेर ओलीलाई पाँचै वर्ष सुम्पिएको प्रचण्डले बताए ।
आफूहरु केपी ओली भन्ने एकजना व्यक्तिको विरोध गर्न नआएको भन्दै गलत विचार, मान्यता, विधिको विरुद्ध न्याय र पक्षमा, समावेशी लोकतन्त्रको रक्ष वकालत गर्न आएको बताए । जनताले चाहेजस्तै समृद्धि होस् भन्दै पार्टी एकता र बाम गठबन्धन भएको स्मरण गर्दै उनले त्यसमाथि कुठाराघात भएका बताए । राजनीतिक स्थायित्वको सुरुआत हुनेछ, समानता र समृद्धिको युगतर्फ जान्छौं भन्ने लागेका बेला केपी ओलीबाट सबै सहमति तोड्ने काम भएको बताए ।
विरोध सभालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले केपी ओली काम गर्ने नभई गफ लडाउने नेता भएको आरोप लगाए । अगतिला कुरामात्रै बोल्ने र प्रसंसा खोज्ने पवृत्ति भएका ओलीमा तानशाही सोच रहेको उनले बताए।
लोकतन्त्रका लागि भएका आन्दोलनमा गणतन्त्रको पक्षमा बोल्न नसक्ने केपी ओलीले राजा ज्ञानेन्द्रलाई फाल्नु र गोरुगाढा चढेर अमेरिका जाने एउटै रहेको बताएको नेपालले टिप्पणी गरे । ओलीको त्यतिबेलाको भविष्यवाणी ०६२÷०६३ को आन्दोलनले परास्त गरेको भन्दै अवको चुनाव गर्ने भविष्यवाणी पनि असफल हुने बताए ।
आन्दोलनको नेतृत्व गर्न नसक्ने ओली पछिपछि लतारिने व्यक्ति भएको भन्दै नेपालले ओलीमा गणतन्त्रको पक्षधरता नरहेको बताए । आफूहरुले लतारेर नै अहिलेको अवस्थामा ल्याएको भन्दै उनले गाली गर्ने प्रवृति छाडेर सुध्रिन आग्रह गरे । अरुलाई अपमान गरेर रमाउने व्यक्ति नेता हुन नसक्ने उनको टिप्पणी छ ।
बुटवलको सभामा नेता घनश्याम भुसाल, वर्षमान पुन, वामदेव क्षेत्री, ठाकुर गैरे लगायतले सम्बोधन गरेका छन् । सभामा भाग लिन दाङ, कपिलवस्तु, पाल्पा, नवलपरासी रुपन्देहीका कार्यकर्ता बस चढेर आएका थिए।
प्रतिक्रिया दिनुहोस !