बलात्कारका अभियुक्त ठेकेदारलाई सात वर्ष कैद
राजविराज : निर्माण कार्यमा मजदुरी गर्ने २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक ठेकेदारलाई सोमबार अदालतले सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले सप्तरीको खडग नगरपालिका–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
निर्माण कार्यको सिलसिलामा ठेकेदार सरदारले पटक–पटक बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा ०७६ साउन २६ गते उजुरी दिएकी थिइन्। प्रहरीले ०७६ साउन २६ गते आरोपितलाई पक्राउ गरी जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ साउन २७ गते स्वास्थ्य परीक्षण गरेर प्रहरीले अनुसन्न्धान थालेको थियो।
आरोपितकै भनाईमा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएर ०७६ साउन १ गते चार महिनाको गर्भपतन गराएको पीडितले बताएकी छन्।
प्रतिक्रिया दिनुहोस !