गरिब रुवाउँदै मिटरब्याजी

गरिब रुवाउँदै मिटरब्याजी

महोत्तरी : सुरजले रोजगारीको खोजीमा विदेश जाने योजना बनाए। उनले पासपोर्ट एजेन्टलाई दिए। पासपोर्टमा भिसा लाग्यो। साउदी जाने दिन पनि जुर्‍यो। तर, एजेन्टलाई दिने रकम जुटेन। उनकी सासू सञ्जिला मण्डलले ज्वाईंको दुःख देख्न सकिनन्। महोत्तरी भंगहा–५ सिद्धपुरकी उनी गाउँकै महाजन अनुरुद साहको घरमा पुगिन्। सँगै गए उनका पति जैयनाथ मण्डल। 

अनुरुदलाई ५० हजार कर्जा मिलाइदिन सञ्जिलाले बिन्ती गरिन्। ‘हजुर ! मेरो ज्वार्इं विदेश जाँदै छ। हातमा उड्ने रुपैयाँ भएन’, उनले दुवै हात जोड्दै जसरी पनि रकम मिलाइदिनु पर्‍यो भनिन्। 

मागेको कर्जा अनुरुदले दिए। तर सर्त राखे, सयकडा ३ रुपैयाँ ब्याज तिनुपर्ने। साउन १५ गते पति जैयनाथ मण्डलको नाममा कपाली तमसुक लेखेर सञ्जिलालाई ऋण दिए। 

उनका ज्वाइँ सुरज कोरोना कहरबीच भदौमा साउदी उडे। ४ महिनापछि ऋण तिर्न ७० हजार पठाए। रकम लिएर सञ्जिला अनुरुदको घर गइन्। तिर्नुपर्ने १२ लाख १८ हजार ९ सय ९० रुपैयाँ भइसकेछ। यस्तो सुनेर उनी चकित परिन्। हिसाब बुझाउँदै अनुरुदले ९ लाख ९० हजार साँवा र २ लाख २८ हजार २ सय ५० रुपैयाँ ब्याज भनेपछि उनको होसहवासै उड्यो।

भक्कानिँदै पीडित सञ्जिला मण्डल  

‘मैले ५० हजार मात्रै ऋण लिएको थिएँ। कसरी भयो १२ लाख ?’ सञ्जिलाले जान्न चाहिन्। उनलाई जवाफ दिनुको सट्टा घरबाट निस्किहाल नत्र लात हान्छु भन्दै अनुरुदले धम्काए र जलेश्वर अदालतमा पैसा बुझाउनु भने। उनी दुःखी हुँदै घर फर्किइन्।

सञ्जिलाले ऋण लिएको जम्मा ५० हजार। तर २५ जेठ २०७५ को पुरानो मिति राखेर अनुरुदले उनका पति जैयनाथको नाममा २० गुणा बढी कपाली कागज गराएको सञ्जिलाले थाहा पाइन्। ९ लाख ९० हजार ऋण लिएको कपाली तमसुक अनुरुदले अदालतमा पेस गरे। यसको ब्याजसहित असुलउपर गराउन जैयनाथविरुद्ध उनले असोज २२ गते जिल्ला अदालत जलेश्वरमा मुद्दा दर्ता गरिसकेका रहेछन्। ऋण लिएको भन्दा झन्डै १२ लाख बढी तिनु पर्ने भएपछि, न्यायका लागि उनी सबैसँग गुहार माग्दै छिन्। 

अनुरुदले अदालतमा पेस गरेको ९ लाख ९० हजार ऋणको कपाली तमसुक।

सञ्जिलाका पति जैयनाथ भारतको मद्रासमा छन्। लिँदै नलिएको कर्जा तिर् भन्दै मिटरब्याजी साहुले अदालतमा मुद्दा हालेपछि सञ्जिला तारिख धाइरहेकी छन्। ‘मंसिर र पुसमा अदालत गएर तारिख लिएँ। अब अदालत जाने बसभाडा पनि छैन। साँझ, बिहान छाक केले टार्नु ?’ उनले रुँदै भनिन् । अनुरुदले गरेका ठगीको यो एउटा प्रतिनिधि घटना मात्रै हो। उनले महोत्तरी, धनुषा र सर्लाहीका दर्जनौं गाउँका सयौं  गरिबलाई रुवाएका छन्। थोरै ऋण दिएर २० गुणासम्म कर्जा दिएको कपाली तमसुक बनाई करोडौं  ठगिसकेका छन्। उनले यस्तो धन्दा चलाउन थालेको १५ वर्ष बितिसक्यो।

अदालतमा मुद्दा हालेर अनुरुदले सञ्जिलाका आफन्त मीनादेवी मण्डलको ४ कट्ठा र जिबच्छी धानुकको ११ कट्ठा जमिन रोक्का गराएका छन्। आफन्तले पनि ऋण तिरेर चाँडै फुकुवा गराउन दबाब दिएपछि उनी झनै तनावमा छिन्।

अनुरुदको ठगीले सञ्जिला मात्र होइन, उनीजस्ता कैयौं गरिब कंगाल बनिसकेका छन्। ती निरक्षर गरिबलाई थोरै कर्जा दिई धेरैको कपाली कागज बनाएर सहीछाप गराउँछन्। पछि त्यही कागजलाई हतियार बनाएर अदालतमा मुद्दा हाल्ने र गरिबको उठिबास लगाउने उनको धन्दा बनिसकेको छ।

महोत्तरीको भंगाहा—५ सिद्धपुरका मिटरब्याजी अनुरुद साह ।

‘ऋणै नदिई १६ लाख तिर्नुपर्‍यो’ 
धनेश्वर महतोलाई घरखर्च जुटाउन हम्मे पर्‍यो। भंगहा– ४, प्रेमनगरका ४८ वर्षीय उनी पनि ऋण माग्न अनुरुदकै दैलोमा पुगे। २०७४ सालमा सयकडा ३ रुपैयाँ प्रतिमहिना ब्याजदरमा उनले धनेश्वरलाई एक लाख ऋणको चेक दिए। घरमै लेखनदास बोलाएर अनुरुदले दाइ लक्ष्मण साहलाई धनी खडा गराएर चेक थमाएका थिए। तर, १२ लाख ऋण दिएको कपाली तमसुकमा धनेश्वरलाई सहीछाप गराएको निरक्षर उनले पत्तै पाएनन्। 

धनेश्वरसँग उनले १९ साउन, २०७२ सालको पुरानो मितिमा साँवाको १२ गुणा बढीको कपाली तमसुक गराएका थिए। चेक लिएर बैंक जाँदा खाता रित्तै थियो। धनेश्वर फर्केर अनुरुदको घर पुगे र गुनासो गरे। अनुरुदले हत्तनपत्त आफ्नो हातबाट चेक खोसेर च्यातिदिएको सुनाउँदै धनेश्वरले भने, ‘भोलि नगदै दिन्छु भन्यो। अर्को दिन पनि पैसा दिएन। धेरै किचकिच गरेको भन्दै झपारेर पठाइदियो।’

भंगाहा-४ का ऋणीहरू मोहन महतो र धनेश्वर महतो। तस्बिर : राजकरण महतो

अनुरुदले १२ गुणा बढी रकमको कागजात बनाएको दुई वर्षपछि मात्र थाहा पाए। मिटरब्याजी अनुरुदले उनलाई न ऋण दिए, न कपाली तमसुक नै फिर्ता गरे। उनले ०७४ साल ७ कात्तिकमा जिल्ला अदालतमा १२ लाख लिएको जनाउँदै ब्याजसहित असुलउपर गराइपाऊँ भनी धनेश्वरविरुद्ध मुद्दा हाले। 

अदालतले २०७५ साल जेठ ६ गते ब्याज र साँवा गरी १८ लाख ७४ हजार ३ सय ८ रुपैयाँ धनेश्वरले लक्ष्मण साहलाई तिर्नुपर्ने फैसला सुनायो। खाँदै नखाएको विष लागेपछि उनले चार गाउँका भद्रभलादमीलाई बोलाएर समाजमै मुद्दा मिलाइदिन बिन्ती गरे। २०७६ साल वैशाखमा दुवै पक्षबीच गाउँमै छलफल भयो। १६ लाख रुपैयाँ लिएर दुवै पक्ष मिल्ने र मुद्दा फिर्ता लिने सहमति पनि भयो। एक बिघा खेत बेचे। पाँच लाख रुपैयाँ सहकारीबाट ऋण काढेर धनेश्वरले आफ्नै भाइ मोहनको हातबाट पाँच जनालाई साक्षी राखेर अनुरुदलाई १६ लाख गनेर दिए।

पैसा बुझाएको प्रमाणस्वरूप धनेश्वरका भाइ मोहनको नाममा १६ लाख रुपैयाँ बुझेको अनुरुद्धले लिखित भर्पाइ दिए। आर्थिक रूपमा निकै कमजोर भए पनि ऋणबाट मुक्ति पाउन धनेश्वरले २०७६ साल जेठ ६ मा अनुरुदलाई रकम बुझाएका थिए। तर, त्यति गर्दा पनि उनले मुद्दा फिर्ता लिएनन्। पछि अदालतबाट धनेश्वरको नाममा बाँकी रहेको १३ कट्ठा जमिन पनि उनले रोक्का गराए। महोत्तरी जिल्ला अदालतले गत माघ २१ गते साहुको बिगो भर्न धनेश्वरको नाममा रहेको चलअचल सम्पत्ति डाक लिलाम गर्ने आदेश जारी गर्‍यो। धनेश्वरका दाजुभाइ मिलेर उजुरी गरेपछि लिलामी प्रक्रिया तत्कालका लागि रोकिएको छ। ‘एक पैसा नलिएको ऋणमा १६ लाख तिरें। अझै १८ लाख तिर्नुपर्छ भन्दै उसले मुद्दा हालेको छ। अब मेरो केही छैन। घर भएको घडेरी पनि लिलामीमा चढेको छ। हाम्रो  परिवार सडकमा आउँछ,’ पीडित धनेश्वरले भने।

१२ लाख तिर्दा पनि फिर्ता भएन

मोहन महतोको स-परिवार। तस्बिर : राजकरण महतो

धनेश्वरका भाइ मोहनले २०६५ सालमा साहु अनुरुदसँग एक महिनाको अन्तरालमा दुई लाख रुपैयाँ मासिक सय कडा अढाई रुपैयाँ ब्याजमा ऋण लिएका थिए। पहिलो पटक एक लाख रुपैयाँ लिएको ऋणको अनिरुदले तीन गुणा बढी कपाली तमसुक बनाए। एक महिनापछि दोस्रो  पटक लिएको अर्को एक लाख रुपैयाँ ऋण दिँदा ६ कट्ठा जग्गा बन्धक राखे। मोहनका अनुसार २०६९ सालसम्ममा ६ लाख ३० हजार रुपैयाँ दुई रुपैयाँ ब्याजदरसहित साहु अनिरुदको ऋण चुक्ता गरिदिएका थिए। तर, सय कडा तीन रुपैयाँ ब्याजदरले पैसा तिर्नुपर्ने साहु अनिरुदले अडान राख्दै ८० हजार रुपैयाँ बाँकी रहेको भन्दै तिर्नै पर्ने बताए। हिसाब गर्न जाँदा भोलिभोलि भन्दै तीन वर्ष अल्झाए। पछि उनले मोहनविरुद्ध अदालतमा मुद्दा हाले। उनको जग्गाजमिनसमेत अदालतबाट रोक्का भयो। अदालतको फैसलाअनुसार २०७५ साल पुस १३ मा थप ६ लाख १३ हजार बुझाएर रोक्का भएको जग्गा उनले फुकुवा गराए। तर, अहिलेसम्म बनाएको कपाली कागज अनुरुदले च्यात्न मानेका छैनन्। मोहनको १२ लाख पर्ने ६ कट्ठा जमिन पनि फर्काउन आलटाल गरिरहेका छन्।

अनुरुदले एक लाख रुपैयाँको नसाटिने चेक दिएर जाली तमसुक बनाई  भंगाहा—४ का मोहन महतो र धनेश्वर महतोबाट बाट १६ लाख लिएर दिएको भर्पाइ। तस्बिर : राजकरण महतो


त्यही तमसुक नच्याती ब्याज थपेर १८ लाख ७४ हजार रुपैयाँको मुद्दा हालेपछि अदालतले जारी गरेको महतोको जग्गा डाँक लिलामीको सूचना। तस्बिर : राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.