तमोरको तिरैतिर तराई जोड्दै करिडोर

तमोरको तिरैतिर तराई जोड्दै करिडोर

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका तेञ्जिङ भोटेलाई सदरमुकाम फुङलिङ आइपुग्न तीन दिन लाग्थ्यो। झिसमिसेमै उठेर ओरालो लागेका भोटे बेलुका लुङथुङ गाउँमा पुगेर बास बस्थे। 

भोलिपल्टको बास लिङखिमको सिँवा/मित्लुङ हुन्थ्यो। सदरमुकाम फुङलिङ टेक्दा तेस्रो दिन बिहान १० बजिसकेको हुन्थ्यो। तर, एक वर्षयता भने उनी एकै दिनमा फुङलिङ झर्न थालेका छन्। 

बाटोमा बास बस्नुपर्ने बाध्यता हटेको छ। घरबाट हिँडेको दिन इलाडाँमा आएर खाना खान्छन्। अनि एक घण्टा पैदलमा रहेको इलागाउँबाट गाडी चढेर बेलुका साँझ नपर्दै बजार उत्रन्छन्। सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित इलागाउँसम्म तमोर करिडोर (फुङलिङ–ओलाङचुङगोला सडकखण्ड) मा सवारी सञ्चालन भएपछि ओलाङचुङगोलाजस्ता हिमाली गाउँको दूरी सदरमुकामसँग छोटिएको छ। ‘आवतजावतमा धेरै सहज भएको छ,’ तेञ्जिङ भन्छन्, ‘हाम्रै पालामा गाडी चढेर बजार जान पाइएला भन्ने सोचेको पनि थिइनँ।’ 

तमोर करिडोरले पूर्वी पहाडका ताप्लेजुङसहित धनकुटा, पाँथचर, तेह्रथुमका गाउँलाई सहरसँग जोड्दै लगेको छ। तराईसँगको दूरी छोट्याउँदै छ। त्यतिमात्रै होइन, दुई छिमेकी मुलुक चीन र भारतलाई समेत जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा यसलाई हेरिएको छ। 
तमोर करिडोरले २ सय ७० किलोमिटरमै चीनको सीमा टिपताला भञ्ज्याङ र रानी भन्सार जोड्छ। धनकुटाको मूलघाटदेखि भने यो कोसी राजमार्गसँग जोडिन्छ। मूलघाटबाट चतारा जोड्ने अर्को योजना पनि सुरु गरिएको छ। त्यसको दूरी ३३ किलोमिटर मात्रै छ। 

तमोर नदीको किनारै किनार भएर जाने हुनाले यसलाई तमोर करिडोर नाम दिइएको हो। विभिन्न खण्डमा यसको निर्माण भइरहेको छ। पाँचथरको माझीटारदेखि तल्लो खण्ड मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथर र त्यहाँबाट माथि ओलाङचुङगोलासम्म ताप्लेजुङस्थित उत्तर–दक्षिण दोभान–ओलाङचुङगोला कार्यालयले निर्माण गरिरहेका छन्।
धनकुटाको मूलघाटदेखि ताप्लेजुङको दोभानसम्म सडकको ट्र्याक खुलिसकेको छ। दोभानदेखि सिँवासम्म करिब २३ किलोमिटर र इलागाउँदेखि ओलाङचुङगोलासम्म ५ किलोमिटर मात्रै खुल्न बाँकी छ। दोभानबाट सिँवा तमोरको तिरैतिर जोड्ने सडकले नजोडिए पनि हाङ्देवा–फुरुम्बु हुँदै सहायक सडकले जोडिएको छ। 

यसरी हेर्दा ओलाङचुङगोला जोडिन अब ५ किलोमिटर मात्रै छ। त्यहाँबाट टिपतालासम्म भने यसअघि नै सडक निर्माण भइसकेको छ। स्थानीयको सक्रियतामा  २१ किलोमिटर ट्र्याक पाँच वर्षअघि नै खोलिएको हो। ओलाङचुङगोलाबाट तल करिब ७ किलोमिटर गत वर्ष नै निर्माण भइसकेको छ। टिपतालासम्म चीनले पक्की सडक निर्माण गरेको छ। 
‘अब यो सडकबाट उत्तर–दक्षिण सीमा जोडिन ५ किलोमिटर मात्रै बाँकी छ,’ इलाडाँडाबाट माथिको खण्डमा सडक खनिरहेका निर्माण व्यवसायी पेम्बा शेर्पा भन्छन्, ‘असारसम्म सक्ने लक्ष्य छ।’ इलाडाँडाभन्दा माथि सुकेपानीसम्म कडा चट्टानको भीर रहेको र त्यो भीर फुटाउन ब्लास्टिङ प्रयोग गर्नुपर्ने हुँदा केही ढिलो हुने उनले सुनाए। 

मूलघाटदेखि पाँचथरको माझीटारसम्मको ७५ किलोमिटरमा नियमित सवारीसाधन चल्न थालेका छन्। त्यहाँबाट उत्तरतर्फ भने तमोरको लिम्बुनीपुल नबनेका कारण सञ्चालन हुन सकेको छैन। लिम्बुनी पुल निर्माणाधीन छ। आगामी वर्षसम्ममा सक्ने गरी काम भइरहेको उत्तर–दक्षिण दोभान–ओलाङचुङगोला कार्यालयले जनाएको छ। त्यसपछि मूलघाट–फुङलिङ नै तमोर करिडोरबाट सवारी सञ्चालन हुने ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाका स्थानीय दिपेन पोमू बताउँछन्।  

तमोर करिडोर सञ्चालनमा आएपछि प्रदेश १ कै समृद्धिको ढोका खुल्ने उनको भनाइ छ। ‘यसले प्रदेश १ लाई छोटो दूरीमा दुई छिमेकी मुलुकसँग जोड्ने मात्र होइन, बंगलादेशसँग नजिकमा रहेको काँकडभिट्टा नाकालाई पनि एउटै सडक सञ्जालमा जोड्छ, त्यसैले तमोरको तिरैतिरको यो सडक व्यापारका दृष्टिले त्रिदेशीय महत्वको हुनेछ।’ 
अहिले विश्वमा सबैभन्दा धेरै घुम्न निस्कनेमा चिनियाँ पर्छन्। तमोर करिडोर सञ्चालन भए नेपालको बाटो हुँदै चिनियाँ पर्यटक घुम्न आउन सक्छन्। चिनियाँ पर्यटकको सानो हिस्सा मात्रै नेपाल आए त्यसले यहाँको पर्यटनमा ठूलो फड्को मार्ने ताप्लेजुङका पर्यटन व्यवसायी सुसन लिम्बूको भनाइ छ। 

फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा निर्माण गरिएको तमोर करिडोरअन्तर्गत (उत्तर–दक्षिण लोकमार्ग) सडक।

चीनमा बौद्ध धर्मावलम्बी धेरै भएकाले बुद्धको जन्मस्थान लुम्बिनी उनीहरूको आकर्षणको केन्द्र बन्ने निश्चित छ। लुम्बिनी पुग्न अन्य नाकाभन्दा टिपतालाबाट नै नजिक हुने उनको भनाइ छ। ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमाल संसारकै तेस्रो उच्च हिमाल हो। तमोर करिडोर छाडेर एक हप्तामा यो हिमाल घुम्न सकिन्छ। आफ्नो सीमा नजिकै भएकाले कञ्चनजंघा पनि चिनियाँको रोजाइमा पर्न सक्नेमा लिम्बू आशावादी छन्। 

हाल कञ्चनजंघामा वार्षिक एक हजार ५ सय हाराहारी मात्रै पर्यटक आइरहेका छन्। तमोर करिडोर सञ्चालनमा आए त्यो संख्या कम्तीमा १० हजार पुग्ने लिम्बूको भनाइ छ। यसका अतिरिक्त गुराँसको राजधानी मानिने तिनजुरे मिल्के जलजले क्षेत्र, पाँचथर र इलामका विभिन्न पर्यटकिय स्थलमा समेत पर्यटक बढ्नेछन्। 

पूर्वी पहाडको मुख्य नगदे बाली अलैंची हो। यो नेपालकै प्रमुख निर्यातजन्य नगदे बालीमा पर्छ। अहिले भारततर्फ मात्रै निर्यात भइरहेको अलैंचीले पछिल्लो समय राम्रो बजार पाउन सकेको छैन। चीनतर्फको नाका सञ्चालन भए अलैंचीले समेत बजार पाउने जिल्ला अलैंची व्यवसायी संघ ताप्लेजुङका सचिव खेम केसीको अपेक्षा छ। 

‘त्यसपछि भारतको एकाधिकार तोडिने थियो,’ उनले भने। अन्य कृषि उपज चीनतर्फ र तराईका सहरमा पुर्‍याउनसमेत सहज हुने उनले बताए। ताप्लेजुङबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले तमोर करिडोरको निर्माण सम्पन्न गर्ने र टिपताला नाका सञ्चालन गर्ने नारालाई निर्वाचनको प्रमुख नारा बनाएका थिए। तर, पछिल्लो तीन वर्षयता यो सडक निर्माणमा सरकारले बजेट विनियोजन गरेको छैन। दोभानदेखि सिँवा सहायक सडकले जोडिए पनि करिडोरबाट कहिले जोडिने हो अनिश्चित छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.