लागुऔषध नियन्त्रणमा सशस्त्रको डग स्निफिङ, झापामा ११ जना समातिए

लागुऔषध नियन्त्रणमा सशस्त्रको डग स्निफिङ, झापामा ११ जना समातिए
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : पूर्वी जिल्ला झापा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने मुख्य ट्रान्जिट बनेको छ । भारतको पश्चिम बंगाल र विहारसँग खुला सीमा जोडिएको झापामा लागुऔषध ओसारपसारको अवस्था भयावह छ ।  

जिल्लाको मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरसहित अन्य चोर नाकाहरूबाट लागुऔषध (ब्राउन सुगर) भित्रिरहेको र यहाँका सुरक्षाकर्मीहरूले दिनैपिच्छे उनीहरूलाई पक्राउ गरिरहेको छ। तर,पनि ब्राउन सुगर भित्रिने क्रम अझै रोकिएको छैन । कारोबारी आफै वा प्रयोगकर्ताहरूलाई नै प्रयोग गरी ब्राउन सुगर भित्राइरहेको पाइएको छ । 

लागुऔषधको अवस्था जिल्लामा भयावह देखिएसँगै सशस्त्र प्रहरीले यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लामा कुकुर (डग) स्निफिङसहितको अभियान  सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालले जिल्लामा लागुऔषधको लागि तालिम प्राप्त ल्यावरोडर जोजो नामको कुकुर र विस्फोटक पदार्थको लागि जुलिएट नामको कुकुर स्थायी रुपमा पठाइसकेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईले जानकारी दिए । 

गत असोज २६ गते झापा ल्याइएको जोजो र जुलिएट कुकुरका लागि चारजना तालिम प्राप्त सशस्त्र प्रहरी खटाइएको छ । दुवै कुकुरलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टामा राखिएको छ । लागु औषध र विस्फोट पदार्थ नियन्त्रणका लागि दैनिक रुपमा काँकडभिट्टा नाकामा डग स्निफिङ गरिरहेको एसपी राईले बताए ।

सशस्त्रले विशेष गरी लागुऔषध नियन्त्रण तथा रोकथामका लागि काँकडभिट्टा बाहेक भद्रपुरसहित अन्य नाकाहरू पनि छड्के डग स्निफिङ गरिरहेको उनको भनाइ छ । सशस्त्रको जोजो नामको कुकुरले सोमबार साँझ ६ बजे मेचीनगर–६ स्थित मेची पुलमा धादिङ खन्याबास गाउँपालिका–५ निवासी २० वर्षीय विनोद तामाङलाई ४३.१५ ग्राम ब्राउन सुगरसहित पक्राउ गर्न सहयोग गरेको छ । 

भारतको पानीटंकी नाकाबाट नेपालतर्फ आउँदै गरेका तामाङले कन्डमभित्र ब्राउन सुगर हाली शरीरभित्र लुकाएर लैजान खोजेका थिए । सोही बेला जोजो नामको कुकुर उनको शरीर सुँघेर ब्राउन सुगर निकालेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डीएसपी दिनेश कुटवालले जानकारी दिए । 

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्रले कुकुरको सहयोगमा गत पुस ६ गते जुत्ता भित्र ब्राउन सुगर ल्याउने जिल्ला लमजुङ सुन्दरनगर नगरपालिका–९ निवासी २९ वर्षीय दीपक गैरेलाई पक्राउ गरेको थियो । 

गैरेलाई मेचीनगर–६ मेची पुलस्थित सीमा नाकाबाट १९.६३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । जुत्ताभित्र लुकाएर ल्याएको ब्राउन सुगर कुकुरले सुँघेर पत्ता लगाएपछि उनी पक्राउ परेका थिए । हालसम्म तालिम प्राप्त कुकुरले १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको सशस्त्रका एसपी राईले बताए । 

‘सशस्त्रले सीमा सुरक्षासँगै अहिले लागुऔषध भित्राउनेमाथि विशेष निगरानी बढाएको छ,’उनले भने,‘लागुऔषधको अवस्था जिल्लामा भयावह छ,सशस्त्रले काँकडभिट्टा, भद्रपुरसहित अन्य नाकाहरूबाट पनि लागुऔषध बरामद गरिरहेको छ ।’

लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीसहित भारतीय एसएसबीसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ । यता नेपाल प्रहरीले पनि जिल्लाका विभिन्न स्थानबाट दिनहुँ जसो लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरिरहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.