कुहिँदै अखेटोपहार

कुहिँदै अखेटोपहार

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा भण्डारण गरिएका अखेटोपहार कुहिन थालेका छन्। प्राकृतिक कारणले मरेका र तस्करीबाट बरामद जीवजन्तुका अखेटोपहार कसरामा राखिएको छ। तर, दुर्लभ तथा लोपोन्मुख जीवजन्तुका अखेटोपहार व्यवस्थापनमा समस्या देखिएको छ। 

‘अखेटोपहार लामो समय जोगाएर राख्ने प्रविधि नहुँदा भण्डारणमा समस्या भएको छ’, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले भने, ‘संकलन गर्दाको अवस्थाबाट घट्दै जाने हुनाले जोगाएर राख्न नसकेको आरोप भण्डार शाखाका कर्मचारीमा छ।’  

जलाएर नष्ट गर्नुपर्ने भएकाले भण्डारणस्थलमा औषधिको प्रयोग गरिँदैन। औषधि प्रयोग नगरिँदा सडेर दुगन्ध फैलिन सुरु गरेको छ। ‘एक किलोको गैंडाको खाग सडेर नाम मात्रको भएको छ। बाघको छाला कुहिएको छ। अन्य वन्जन्तुको अंग पनि त्यस्तै छन्’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने। यस्ता वस्तु सबै राम्रै अवस्थामा छन् भन्ने अवस्था नभएकाले छिट्टै व्यवस्थापन गर्न उचित हुने बरालको भनाइ छ। 

देशभरबाट अखेटोपहार संकलन गरी कसरामा भण्डारण गरिन्छ। कसरामा २०७४ यताका अखेटोपहार छन्। सबैभन्दा बढी गैंडाका खाग छन्। गैंडाका खुर, बाघ, चितुवाका छाला, हात्तीका दाह्रा, मृग प्रजातिका छाला र सिङ छन्। 

तस्करले अखेटोपहारलाई बहुमूल्य भन्दै अवैध व्यापार गर्छन्। संरक्षणकर्मी भने यस्ता वस्तु मूल्यहीन रहेको बताउँछन्। वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापारलाई निरुत्साहित गर्न यस्ता वस्तु नष्ट गरिन्छ। अखेटोपहार नष्ट गर्दा मुचुल्का गरी रेकर्ड राख्ने गरिन्छ। निकुञ्जका नायबसुब्बा सुमनकुमार गिरीले अखेटोपहार सूचीकरण गरेर राख्ने गरिएको बताए। 

यस्ता वस्तु जलाउन कार्यविधि छ। मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जलाउन पाइन्छ। केन्द्रीयस्तरको टोलीले यसको व्यवस्थापन गर्छ। कार्यविधिअनुसार हरेक पाँच वर्षमा नष्ट गर्ने प्रावधान छ। 

निकुञ्ज प्रमुख बरालले स्थानीयस्तरको समिति बनाएर व्यवस्थापन गर्नुपर्ने बताए। ‘लामो समय राख्दा दुर्गन्धित हुने समस्या देखियो’, उनले भने, ‘अखेटोपहार प्राप्त हुनासाथ तत्काल नष्ट गर्ने कि स्थानीयस्तरको टोली बनाएर छोटो समयमा नष्ट गर्ने कार्यविधि बनाउनुपर्ने देखिन्छ।’

संरक्षित क्षेत्र र वन कार्यालयमा विविध कारणले संकलन भएका विभिन्न प्रजातिका वन्यजन्तुका अंग यसअघि २०७४ जेठमा जलाएर नष्ट गरिएको थियो। त्यसबेला ४८ प्रजातिका वन्यजन्तुका ४ हजार १२ थान अंगप्रत्यंग जलाइएको थियो। जलेपछिको अस्तुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा गाडेर अखेटोपहार व्यवस्थापन स्मारक बनाइएको छ। पहिलो पटक २०५४ चैत ९ गते अखेटोपहार जलाएर नष्ट गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.