शिक्षक हत्या आरोपी विप्लवका जिल्ला इन्चार्ज थुनामा
विराटनगर : शिक्षक हत्या आरोपी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या आरोपमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार साँझ उनलाई थुनामा राख्न आदेश दिएको हो।
आदेशपछि संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विक कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। ‘पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादी दोषी छैनन् भन्नसक्ने अवस्था नभएकाले थुनामा राखेर घटनाको बाँकी अनुसन्धान अघि बढाउनू,’ आदेशमा भनिएको छ। शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पक्राउ गरेर उनीविरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो।
अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि पक्राउ परेका विक र फरार रहेका समूहका महासचिव चन्दसहित ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अघिल्लो आइतबार अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो। तिमध्ये ३५ जनालाई प्रतिवादी बनाइएको भए पनि वतन नुखलेको भन्दै सात जनाकाविरुद्ध भने मुद्दा दर्ता गरिएको थिएन। वतन नखुलेका सात जनाको हकमा सरकारी वकिल कार्यालयले अदालतमा पूरक अभियोग लैजाने तयारी गरेको सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्द रेग्मीले जानकारी दिए।
व्यापारीसँग चन्दा लिन जाँदै गर्दा प्रहरीले माघ ७ गते मोरङको बूढीगंगाबाट हतियारसहित उनलाई पक्राउ गरेको थियो। को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइलहरु, सिमकार्ड, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। त्यसपछि उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो। हाततियार खरखरजना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिइसकेको छ। हातहतियार खरखजना मुद्दामा कारागार चलान भइसकेका उनलाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पनि थुनामा राख्न अदालतले आदेश दिएको सूचना अधिकारी धमलाले जानकारी दिए।
हातहतियार खरखरजना मुद्दामा विक एक्लैलाई प्रतिवादी बनाइएको थियो। तर अपहरण तथा कर्तव्य ज्यान मुद्दा भने विकसहित प्रतिबन्धित नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहका महासचिव चन्दा, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको थियो।
‘विप्लव’ समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो। मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएकोको अवस्थामा शव भेटिएको थियो। घटना भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए।
शिक्षक हत्यामा संलग्न भएको आरोपमा मोरङ केराबारी गाउँपालिका– ६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राईलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। मुद्दाका अभियुक्तमध्ये विकमात्रै पक्राउ परेका हुन्। हत्याको जिम्मा लिने प्रतापसहित ‘विप्लव’ समूहका महासचिव चन्द, प्रवक्ता विश्वकर्मा लगायत ३४ जना अझैसम्म फरार छन्। प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले हत्या घटनामा पक्राउ परेका एक र फरार रहेका ३४ सहित ३५ जनालाई अभियुक्त बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रतिक्रिया दिनुहोस !