दाहाल– नेपालले साटे खुसी
चितवन : सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै पुनःस्थापना गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। अदालतले गरेको फैसला ऐतिहासिक भएको उनले बताए।
संसद् पुनःस्थापना भएपछि मंगलबार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतासँग वाचा गरे अनुरूप दलहरूसँग मिलेर संयुक्त सरकार बनाउने बताएका छन्।
‘यो विजय नेपाली जनताको विजय हो’ दाहालले भने, ‘यो लडाईं कुर्सीको लागिहोइन संविधानको लागि हो ।’ उनले राजनैतिक दलहरूसँग समझदारी बनाएर सहमतिका साथ अगाडि बढ्ने बताए।
चितवन गार्डेन रिसोर्टमा रहेका नेताद्वय दाहाल र माधवकुमार नेपाललाई भेट्न कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। अदालतको निर्णयपछि चितवनका कार्यकर्तासँग उनीहरूले खुसी साटेका हुन्। नेकपाका वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै प्रधामन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए। बुधबारका लागि तय गरिएको विरोध सभालाई विजय सभाको रूपमा गर्ने नेकपाले जनाएको छ।
कार्यकर्ताहरूले नेताहरूलाई लड्डु खुवाएका थिए। ‘कहीँ उज्यालो फेरिएको छ कहीँ अन्धकार पनि होला। साँझमा कहीँ सूर्य उदाइरहेको छ कहीँ अस्ताइरहेको होला ’ नेपालले भने, ‘सत्यको जित भयो, न्यायको जित भयो, नेपाली जनताको जित भयो ।’ निरंकुश प्रवृत्तिले जबरजस्त पराजयको सामना गर्नुपरेको बताउँदै उनले भने, ‘केपी ओली अब कम्युनिस्ट भन्न लायक छैनन् , लोकतन्त्रवादी भन्न लायक रहेनन् ।’
प्रतिक्रिया दिनुहोस !